NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीलाई राप्रपाले बुझाएको २२ बुँदे ज्ञापनपत्रमा के–के छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रप्रमुखमा राजासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाको लागु गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राप्रपाले संघीयता र धर्मनिरपेक्षता खारेज गर्न माग गरेको छ ।

यस्ता छन् राप्रपाले बुझाएको २२ बुँदे ज्ञापनपत्र

१. हरेक वर्ष मलको अभाव हुने गरेको र यस वर्ष अहिलेसम्म पनि किसानले मल नपाएकाले किसानलाई तत्काल मल, विउ उपलव्ध गराइयोस् र समयमा मल आपूर्ति व्यवस्था गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरियोस् ।

२. महँगी तथा कालोबजारी नियन्त्रण गरियोस् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भईरहेको श्रृंखलावद्ध मुल्यवृद्धि अविलम्ब रोकियोस् ।

३. भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गरियोस् । राज्यकोषबाट संचालित सवै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरियोस् ।

४.राजसंस्थासहित सवै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस् ।

५. केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।

६.मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराइयोस् ।

७.संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरियोस् ।

८. आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय वनाउनका लागि निष्पक्ष चुनावी सरकार गठन गरियोस् ।

९. नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगरियोस् ।

१०. इम्वोस्ड नम्वर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकाले यसको खारेज गरियोस । गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गरियोस् ।

११. नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरियोस् । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था सुनिश्चित गरियोस् ।

१२. भूमिहीन तथा घरबारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गरियोस् ।

१३. बेरोजगारी समस्याको दीर्घकालीन समाधान गरियोस् । यस क्रममाः कम्तिमा देहायका कार्ययोजना कार्यान्वयन गरियोस्ः

क. वर्षमा कम्तिमा पाँच लाख रोजगारी श्रृजना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना सञ्चालन गरियोस् ।

ख. कम्तिमा एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन गरियोस् ।

ग. रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गराइयोस् ।

१४. कहाली लाग्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गरियोस् । आयातमुखी अर्थतन्त्रमा सुधार गरी राष्ट्रिय उत्पादन र आय वृद्धिका कार्यक्रम तत्काल सञ्चालन गरियोस् ।

१५. राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिइयोस् ।

१६. देशभरी रहेका ऐतिहासिक व्यक्तिहरुका भत्काइएका शासकहरुको पुनर्निर्माण तथा संरक्षण गरियोस् ।

१७. प्रशासन, न्यायालय, शैक्षिक संस्था, कुटनीतिक नियोग, संवैधानिक अङ्गजस्ता निकायहरूलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट मुक्त राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गरियोस् ।

१८. अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।

१९. महिला, वालवालिका तथा दलित समुदायविरुद्ध हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चालियोस् ।

२०. विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गरियोस् ।

२१. स्थानीय तहमा लगाएका अव्यावहारिक करहरू तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गरियोस् ।

२२. वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस्