NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जहाँ बिरामी नभएको घर छैन

काठमाडौं । धादिङ धुनिबेँसी– १ का ६१ वर्षीय बद्रीबहादुर ओझा छालामा देखिएको एलर्जीका कारण सात वर्षदेखि अस्पताल धाइरहेका छन् । औषधि सेवन गर्दागर्दै उनको छालामा काला दाग देखिन थाले । अहिले त जिउसमेत सुन्निएर उनलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ । चिकित्सकका अनुसार सामान्य एलर्जीमा अत्यधिक औषधि प्रयोग गर्दा यस्तो हुने गर्दछ ।

गाउँकै स्वास्थ्यचौकीको औषधिले नथेगेपछि उनी नियमित काठमाडौंमा उपचारका लागि धाउने गर्छन् । तर, सिसडोल ल्यान्डफिल साइटनजिकै बस्नुपर्ने बाध्यताका कारण औषधिले उनको रोग थेग्दैन । फोहोरबाट निस्केको दुर्गन्ध र रसायनसँग बित्ने दैनिकीले सामान्य एलर्जी पनि जटिल भएको छ र वर्षौँदेखि औषधि सेवन गर्नुपरेको छ ।

सिसडोल स्वास्थ्यचौकीमा भेटिएका ओझाको जिउ सुन्निएको छ । बर्खामा समस्या झनै बढ्ने चिन्तामा थिए उनी । ‘छाला सबै कालो भएर आइरहेको छ । दबाई जति लाए पनि, खाए पनि केही सीप लाग्दैन । अब त बर्खा लाग्यो, आँखा र खुट्टा पाक्न थाल्छन्,’ ओझाले नयाँ पत्रिकासँग भने, ‘कति अस्पताल जानु ? के–केको मात्रै उपचार गर्नु ? यो ठाउँ छोडेर जान नपाउँदासम्म निको होला भन्ने आस छैन ।’

काठमाडौंको ल्यान्डफिल साइट सिसडोलबाट उनको घर लगभग सात सय मिटर दूरीमा र बन्चरेडाँडाबाट करिब एक किलोमिटर दूरीमा छ । मानव स्वास्थ्यको हितका लागि कुनै पनि ल्यान्डफिल साइटबाट मानव बस्ती कम्तीमा दुई किलोमिटर पर हुनुपर्ने मान्यता छ । सिसडोलमा ल्यान्डफिल साइटनजिकै बस्ती छन् ।

फोहोरबाट निस्कने दुर्गन्ध, रसायन र विभिन्न घातक ग्यासका कारण सिसडोलवासीका प्रत्येक घरमा बिरामी छन् । छालामा एलर्जी, एलर्जी बढ्दै जाँदा हुने घाउ, दम, ब्रोंकाइटिसका साथै छातीमा अन्य समस्या, आँखामा समस्या, झाडापखाला र रुघाखोकीजस्ता स्वास्थ्य समस्या हरकोही सिसडोलवासीको नियति बनेको छ । सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइटवरिपरि करिब तीन सय घरधुरी छन् र प्रत्येकजसो परिवारमा कोही न कोही दुर्गन्ध र रसायनले बिरामी बनेका छन् । धादिङको धुनिबेँसी नगरपालिकाका भञ्ज्याङपोखरी, बन्चरेडाँडा, दमदमे तथा नुवाकोटको ककनी गाउँपालिका सिसडोल, ओखरपौवा, चाउथे, सिउडिनीलगायतका गाउँहरू प्रभावित क्षेत्र हुन् ।

सिसडोलमा फोहोरको मात्रा बढ्दै गएपछि छालामा समस्या देखिन थालेका ओझा दमका बिरामीसमेत हुन् । उनका अनुसार श्रीमतीसमेत आँखा चिलाउने र पाक्ने रोगका कारण थला परेकी छिन् । बारम्बार बढ्ने दमको उपचारका लागि प्रत्येक महिनाजसो काठमाडौं पु¥याउनुपर्छ । उनका एकजना छोरालाई समेत दमको समस्या छ ।

सिसडोलकी ५६ वर्षीया सन्तकुमारी श्रेष्ठलाई समेत दमले सताएको पाँच वर्षभन्दा बढी भइसक्यो । नियमित औषधि सेवन गरिरहे पनि बढ्दो दमको समस्याले उनलाई समेत अस्पताल गइरहनुपर्ने दैनिकी बनिसकेको छ । सिसडोलमा फोहोर फाल्न बन्द भए पनि व्यवस्थापनका काम सुरु नहुँदा फोहोरका कारण निम्तिने विभिन्न सरुवा र दीर्घरोगको जोखिम ज्युँका त्युँ छ । फोहोरबाट निम्तिने स्वास्थ्य समस्या र बर्खा लागेसँगै आउने छाला र आँखा पाक्ने समस्याले सिसडोलवासी दिक्क भइसकेका छन् । सिसडोलवासीलाई दीर्घरोग मुख्य समस्याका रूपमा देखिन थालेको छ ।

सिसडोल स्वास्थ्यचौकीको तथ्यांकअनुसार ल्यान्डफिल साइटवरिपरिका बस्तीमा मात्र जचाउन गएकामध्ये सातजनालाई विभिन्न खालको क्यान्सर पुष्टि भएको छ । दम, मधुमेह, छालामा समस्या र कलेजोमा समस्यासमेत पछिल्लो केही वर्षयता बढ्दै गएको सिसडोल स्वास्थ्यचौकीकी प्रमुख अहेव देनुका रेग्मी बताउँछिन् । ‘दैनिक कम्तीमा २२ देखि २५ जनासम्म छालाको समस्या अर्थात् लुतो, एलर्जी र ज्वरो, रुघाखोकी, छाती दुखाइ, दमका बिरामी अस्पताल पुग्ने गरेका छन्,’ उनले भनिन्, ‘स्वास्थ्यचौकीबाट सामान्य भाइरल संक्रमणका लागि मात्रै औषधि दिइरहेका छौँ । दीर्घरोग र एन्जाइटीजस्ता समस्या बढ्न थालेपछि थप उपचारका लागि प्रत्येक दिनजसो बिरामी काठमाडौं पठाउँछौँ ।’

फोहोरसँग सम्बन्धित संक्रमण र अन्य समस्याको उपचारका लागि खोलिएको ‘सिसडोल स्वास्थ्यचौकी’मा दैनिक बिरामीको भिड लाग्छ । पछिल्लो एक वर्षमा मात्रै स्वास्थ्यचौकीमा बालबालिकादेखि वृद्धवृद्धासम्म चार हजार आठ सय ९२ जना उपचारका लागि पुगेको तथ्यांक छ । फोहोरबाट हुने समस्या दोहोरिने भएकाले स्वास्थ्यचौकी आउने संख्या प्रत्येक वर्ष बढी हुने गरेको छ । स्वास्थ्यचौकीका अनुसार यस आर्थिक वर्षमा पुराना र नयाँ बिरामी गरेर ६ हजार चार सय ९८ जना बिरामी पुगेको तथ्यांक छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।