NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

महान्यायाधिवक्ताले दाइलाई मेयरमा जिताउन गरेका थिए हदैसम्म जबर्जस्ती

काठमाडौं । महान्यायाधिवक्ताको काम हो, संवैधानिक एवं कानूनी विषयमा सरकारले तोकिदिएका अन्य अधिकारीलाई कानूनी राय सल्लाह प्रदान गर्ने । तर सरकारको कानूनी सल्लाहकार खम्मबहादुर खातीले भने सहोदर दाजुलाई मेयरमा निर्वाचित गराउन पदीय दुरूपयोग गरेका छन् । यो घटना तथ्यसहित खुलासा भएको छ ।

गृहजिल्ला बाजुराको बूढीगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट खातीका दाजु रंगनाथ मेयरका उम्मेदवार थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार बने । एमालेमा बढी भोट खसेको सूचना बाहिरिएपछि महान्यायाधिवक्ता खातीले स्थानीय भानोदय मावि मतदान केन्द्रमा भएको निर्वाचन स्थगित गर्न पटकपटक फोनमा दबाब दिएको पाइएको छ । त्यसलगत्तै मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी मतपेटिकालगायत निर्वाचन सामग्री छाडेर हिँडेका थिए ।

निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन प्रक्रिया रद्द गरी पुनः निर्वाचनको मिति घोषणा गर्नुपर्ने पत्र मुख्य निर्वाचन अधिकृतलाई पठाएका थिए । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले मतदानस्थलबाट एक्कासि सुरक्षाकर्मी फिर्ता भएको र फिर्ता हुनुपूर्व आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगद्वारा गठित छानबिन समितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचन स्थगित गर्न बारम्बार फोनमा दबाब दिएको उल्लेख छ । खातीले बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र बूढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटालाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दबाब दिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।