NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप, कतिदेखि कति उमेरसम्मका लगाउन मिल्छ ?

काठमाडौं । पहिलो चरणअन्तर्गत आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ ।

कोभ्याक्समार्फत अमेरिकाबाट युएस एडको सहयोगमा प्राप्त २२ लाख तीन हजार दुई सय मात्रा फाइजर खोप नेपाललाई प्राप्त भएको छ । त्यही खोप आजदेखि बालबालिकामा लगाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्ष पूरा भई ६ वर्ष लागेको र ११ वर्ष पार नगरेका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

खोप बालबालिका अध्ययनरत विद्यालयमै लगाउने प्रबन्ध मिलाइएको छ ।

पहिलो चरणअन्तर्गत आजबाट १५ असारसम्म काठमाडौंसहित २७ जिल्लामा यो खोप लगाउने कार्यक्रम छ । आगामी साउन २ देखि ८ गतेसम्म बालबालिकालाई यो खोपको दोस्रो मात्रा दिइने छ ।

बाँकी जिल्लालाई दोस्रो चरणअन्तर्गत समेट्ने सरकारको तयारी छ । यसका लागि भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने योजना छ ।

चिकित्सकहरूले ढुक्क भएर ०.२ एमएलका दरले दुई डोज खोप लगाउन आग्रह गरेका छन् । यो खोपको प्रभावकारिता बालबालिकामा ९१ प्रतिशत देखिएको छ ।