NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर हटाउन शेखर कोइरालाको माग

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमाथि लगाइँदै आएको अतिरिक्त कर हटाउन आफ्नै पार्टी नेतृत्वको सरकारसमक्ष माग गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील राख्न अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म अतिरिक्त कर लगाउन उपयुक्त नहुने उल्लेख गरेका छन् ।

सरकारले हाल पेट्रोलियम पदार्थमा प्रतिलिटर पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ लिँदै आएको छ । डा. कोइरालाले बाँकीको पूरै तथा भन्सार र प्रज्ञापन शुल्कमा आधा कर कम गर्न माग गरेका छन् ।

‘जनतालाई महँगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु. १०, सडक मर्मत कर रु. ४ र भन्सार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म नलिने निर्णय गरोस्,’ डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण देखाउँदै सरकारले समायोजन गर्दा पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल समान प्रतिलिटर १९२ रूपैयाँमा कारोबार भइरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेपछि राजनीतिक दल, तिनका भातृसंगठन र सरोकारवालाले घटाउन माग गरिरहेका छन् ।