NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
राजनीति

नेकपा फुटमा ९ नेता जिम्मेवार छौं, ओलीले प्रधानमन्त्री छाड्दा प्रचण्ड मान्नुभएन : वामदेव

काठमाडौं । ‘पार्टी एकता राष्ट्रिय अभियान’ सञ्चालन गरिरहेका वामदेव गौतमले तत्कालीन नेकपा विभाजनमा आफूलगायत सचिवालयका नौजना नेता जिम्मेवार रहेको बताएका छन् । यो वा त्यो समूहमा नलागी एकताको प्रयास गरेको भए पार्टी नफुट्ने भन्दै उनले आत्मालोचना गरे । साथै उनले केपी शर्मा ओलीले अन्तिम स्थितिमा पार्टी एकता जोगाउन दुईमध्ये एक पद छाड्ने सुनिश्चितता गराउँदा प्रचण्डले इन्कार गरेको बताएका छन् ।

‘नेकपा विभाजनमा मैले पनि गल्ती गरेकै हो । यो वा त्यो समूहमा नलागेको भए नेकपा कुनै हालतमा फुट्ने थिएन । यसमा म आत्मालोचना गर्छु,’ पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा शनिबार मन्तव्य राख्दै उनले भने ।

नेकपालाई विभाजनको अवस्थामा पुग्नबाट रोक्न नेतृत्व केन्द्रका रूपमा रहेका सचिवालयका नौ जनाले सक्ने भए पनि कसैले पहलकदमी नलिएको वामदेवको आरोप छ । ‘सचिवालयमा रहेका नौ जनामध्ये कसैले पहल लिएको खण्डमा पनि नेकपालाई विभाजित हुनबाट रोक्न सकिन्थ्यो,’ गौतमले अगाडि थपे, तर कसैले यो प्रयास गरेन । मैले पनि गरिनँ ।’

प्रधानमन्त्री रहेका आफ्नै पार्टी अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गरिएको प्रयास आफूले दुईपटकसम्म रोकेको पनि उनले सुनाए । तर तेस्रोपटक भने आफूलाई थाहा नै नदिएको गौतमको भनाइ छ ।

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्ने गरी प्रचण्ड–माधव नेपाल समूह अघि बढेपछि दुवै समूह छाडेर अलग्गै बसेको गौतमले प्रष्ट पारे ।

प्रधानमन्त्री छाड्छु भन्दा प्रचण्ड मान्नु भएन

नेकपा फुटको डिलमा पुगेको स्थितिमा त्यसबाट जोगाउन केपी ओलीले अन्तिम प्रयास गरे पनि प्रचण्ड लचक बन्न नसकेको गौतमले दाबी गरेका छन् ।

गौतमका अनुसार, ०७७ पुस ४ गते ओली र प्रचण्डबीच खुमलटारमा पार्टी एकता निम्ति अन्तिम छलफल भएको थियो । त्यो छलफलमा निम्ता गरिएकाले उनी पनि गएका थिए । उक्त छलफलमा ओलीले ससर्त दुईमध्ये एक पद प्रधानमन्त्री छाड्न तयार भएको बताएका थिए । तर त्यसका लागि आफूले भनेका व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने ओलीको अडान थियो । ओलीले प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गरेका थिए भन्ने गौतमले खुलाएनन् तर यसमा प्रचण्ड लचक नभएको उनको ठम्याइ छ ।

‘०७७ पुस ४ गते प्रचण्ड र केपी ओलीको वार्ता भइरहेका बेला म पुगेँ । संयोगले भन्दा पनि म बोलावट भएर नै त्यहाँ पुगेको थिएँ । छलफलका क्रममा ओलीले म एउटा पद छाड्न तयार भएको छु । प्रधानमन्त्री छाड्छु भनेका थिए । स्थायी समिति बसेर मैले प्रस्ताव गरेको व्यक्तिलाई प्रधानमन्त्री बनाऊँ । पत्रकार सम्मेलन गरेर जानकारी दिऊँ भन्नु भएको थियो । यसका निम्ति आफूमाथि लगाइएको संगीन आरोपपत्र भने फिर्ता लिनुपर्ने उहाँको माग थियो । तर प्रचण्डजीले मान्नु भएन,’ गौतमले भने ।
गौतमका अनुसार, उनले प्रचण्डलाई एकताका निम्ति लचक हुन आग्रह गरेका थिए । तर प्रचण्डले आरोपपत्रमा खेलेको भूमिका स्मरण गराउँदै मौन बस्न बाध्य पारेको उनको भनाइ छ ।

‘ओली प्रधानमन्त्री छाड्न तयार भएपछि संगीन आरोप फिर्ता लिन पनि मैले प्रचण्डसमक्ष त्यसलाई फिर्ता लिइदिन आग्रह गरेँ । त्यो फिर्ता लिएको भए पार्टी फुटबाट जोगिन्थ्यो भन्ने मलाई अहिले पनि लाग्छ । तर उहाँले मेरो आग्रह सुन्नु भएन । बरु यो सबै सिर्जना गर्ने तपाईं हो, आत्मसमर्पण गर्ने गलत प्रवृत्तिका अगाडि भन्नुभयो । अनि म चुप लागेँ,’ गौतमले प्रचण्ड–ओलीबीच पार्टी एकता निम्ति भएको त्यो अन्तिम छलफल स्मरण गर्दै भने ।

आफ्नै पार्टीका अध्यक्षविरुद्ध दुई समूहले आन्दोलन गरेर इतिहासमा कहीँ नभएको काम गरेको गौतमले टिप्पणी गरेका छन् । यही कारण साथीहरूको आग्रह इन्कार गर्दै दुवै समूहमा नलागेको गौतमले प्रष्ट पारे ।

‘आफ्नै पार्टीका अध्यक्षविरुद्ध संसारमा कहीँ नहुने आन्दोलन गर्नुभयो । मलाई चित्त नबुझेको कुरामा कन्भिन्स गर्न पनि सक्नु भएन । त्यसैले कतै लागिनँ,’ कतै नलाग्नुको कारण खुलाउँदै गौतमले भने ।

गौतमले आफूले थालेको कुनै काम असफल नभएको उल्लेख गर्दै नेकपा एकीकृत गर्ने ल्याकत आफूसँग रहेको जिकिर गरे । त्यसका लागि ओलीसमक्ष आग्रह गरे पनि उपेक्षा गरेको गौतमको आरोप छ ।

उनले भने, ‘पार्टी एकताको जिम्मा दिनुस् । नसके कार्यगत एकता हुने वातावरण बनाउँछु । मैले गरेको काम असफल भएको छैन भनेर ओलीज्यूसँग भनेँ । मेरो भनाइको समर्थनमा हलमा आधा मिनेट ताली बनेको थियो,’ गौतमको गुनासो छ, ‘तर मेरो प्रस्तावको उपेक्षा गर्नुभयो ।’

गौतमको एकता अभियान भेला अहिले राजधानीमा जारी छ । भेलामा एमाले छाडेर एकीकृत समाजवादीमा लागेका नेताहरू पनि सहभागी छन् ।