NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पेट्रोलियमको मूल्य घटाउन सत्तासाझेदार सहमत, निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सत्तासाझेदार दल पेट्रोलियम पदार्थको मूल्य घटाउन सहमत भएका छन् । उनीहरूबीच यो प्रस्ताव आज नै मन्त्रिपरिषद्मा लैजान सहमति पनि बनेको छ ।

सत्तासाझेदार दलबीच शनिबार बिहान भएको बैठकमा पेट्रोलियम पदार्थमाथि लाग्दै आएको कर हटाएर मूल्य तोक्ने सहमति भएको सहभागी एक नेताले बताए ।

बालुवाटारको गठबन्धन बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य अकाशिँदा आमनागरिकको जीवनयापन कष्टकर बनेकाले मूल्य घटाउन प्रस्ताव गरेका थिए ।

पौडेलको प्रस्तावपछि पेट्रोलियममाथि लगाइएका विभिन्न कर कम गर्ने सहमति भएको हो । सहभागी एक नेताका अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयोजन निम्ति आज नै मन्त्रिपरिषद् बैठक बोलाउने सहमति पनि जुटेको छ ।

सरकारले  पेट्रोलियम पदार्थमा प्रतिलिटर पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ लिँदै आएको छ । अन्तर्राष्ट्रिय बजार देखाउँदै आयल निगमले मूल्य वृद्धि गर्दा पेट्रोल प्रतिलिटर रु. १९९ र डिजेल तथा मट्टितेलको भाउ रु. १९२ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएपछि राजनीतिक दल, सरोकारवाला, नागरिकले मूल्य घटाएर सरकारले राहत दिनुपर्ने मत राख्दै आइरहेका छन् ।