NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

साढे दुई वर्षमा सक्ने पुल ६ वर्षसम्म अलपत्र

गलकोट । ठेकेदार कम्पनीको चरम लापरबाही र सरोकारवाला निकायको बेवास्ताको उदारण बनेको छ बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की सडक ।

पुल निर्माण सुरु भएको छ वर्ष पूरा हुँदा आधा मात्रै काम भएको छ । समयमा पुल निर्माण नहुँदा यात्रुहरु घुमाउरो यात्रा गर्न बाध्य छन् । बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुल नै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो तीन घण्टा बढी यात्रा गर्न बाध्य छन् ।

यो सडक भएर बागलुङका दक्षिणी भेग जैमिनी र बरेङका जनता सोझै पर्वतको फलेवास, कार्कीनेटा र स्याङ्जाहुँदै पोखरा जान सक्छन् तर कालीगण्डकीमा पुल नभएका कारण बागलुङ बजार आएर पुन कुस्मा जानुपर्ने बाध्यता छ ।

कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको छ वर्षको प्रगति करिब ५० प्रतिशत रहेको निर्माण कम्पनीको जिकिर छ ।

पुलको हालसम्म ५० प्रतिशत प्रगति भएको र अहिले निर्माणले गति लिएको सडक डिभिजन कार्यालयका ईन्जिनियर किरण पोख्रेलले बताए। उनका अनुसार जगको पिल्लर निर्माण भइसकेको र ढलानको काम मात्र बाँकी रहेको छ ।

वि.स २०७३ असोज ९ गते रसुवा/ श्री गीता/ फेवा जेभीले पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष भित्रमा सक्ने गरी सम्झौता भएको पुलको काम अहिलेसम्म बल्ल आधा काम भएको छ ।

पुल नबन्दा दक्षिण बागलुङका जनताले ठूलो सास्ती खेप्नु परेको स्थानीय गोविन्द शर्माले बताए । उनले हजारौँ नागरिकलाई पोखरा पुग्न सडकबाट धेरै छिटो हुने भए पनि अहिले बागलुङ पुगेर जानु पर्ने अवस्था रहेको बताए ।

पछिल्लो पटक २०७८ चैत्र मसान्तभित्र काम सम्पन्न गर्ने गरि म्याद थप गरिए पनि प्रभावकारी रुपमा काम भने अघि बढ्न सकेको छैन । समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी ठेकेदार कम्पनीको छ ।

ठेकेदार कम्पनीका सुपरभाईजर शेरबहादुर भण्डारीले आवश्यक उपकरण ल्याउन समस्या भएकाले समयमै काम सक्न नसकेको बताए । उनले अहिले आवश्यक उपकरण आइसकेको र काम पनि तीव्र गतिमा भएको बताएका छन्।

सुपरभाईजर भण्डारीले जमिन मुनी ४८ वटा पिल्लर निर्माण गरिसकेको र अहिले माथि दुई वटा पिल्लर ठडाइसकेको बताए । १३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँमा निर्माण थालिएको पुल राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरमा जोडिन्छ । पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउनेछ ।