NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सांसद विमलाले मागिन् आलेसँग अश्लील अडियोको जवाफ, आलेको अटेरी

काठमाडौं । सरकारबाट फिर्ता हुन आनाकानी गरिरहेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले आइतबार बिहान ११ बजेतिर मन्त्री पदबाट राजीनामा दिएको पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाए । राजीनामा पत्र बुझाएका आले आफूले नेतृत्व गरेको मन्त्रालयबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन राष्ट्रियसभा बैठकमा सहभागी भए ।

आलेभन्दा पहिले कृषि पशुपन्छी तथा सहकारीमन्त्री महेन्द्रराय यादवले सांसदहरूले उठाएका प्रश्नको जवाफ जवाफ दिए । यादवले जवाफ दिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संस्कृति तथा पर्यटन मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिन मन्त्री आलेलाई समय उपलब्ध गराए । उनी पोडियममा पुगेपछि सांसद विमला राई पौडेलले बोल्ने समय माग गरिन् । सांसद राईले समय माग गरेपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रीलाई रोकेर बोल्ने समय दिए ।

‘समाननीय अध्यक्षज्यू, अहिले माननीय संस्कृति तथा पर्यटनमन्त्री बोल्न लागिरहनुभएको छ । संस्कृतिमन्त्रीसँग सम्बन्धित उहाँले बोलेका असाध्य अभद्र, कसैले पनि सुन्न नसक्ने, अपाच्य शब्द प्रयोग भएको अडियो सामाजिक सञ्जालमा करिब एक हप्तादेखि सार्वजनिक भइरहेको छ । त्यो अडियोले सबैको ध्यान आकर्षित गरेको छ । हामी धेरैजना मानिस त्यो अडियो सुन्नसक्ने अवस्थामा पनि छैनौं । सार्वजनिक पद धारण गर्ने व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन ? सबैले प्रश्न उठाइराखेका छन् । उहाँले जुन किसिमको गालीगलौच गरिराख्नुभएको छ । त्यस्तो गाली त सर्वसाधारण मानिसले पनि गर्न सक्दैन’, सांसद पौडेलले भनिन् ।

यी सबै गतिविधि मन्त्री आलेले पोडियममा उभिएर टुलुटुलु हेरिरहेका थिए । सांसद पौडेलका प्रश्न गत हप्ता आफ्नै मातहतका कार्मचारीमाथि मन्त्री ओलेले अपशब्द बोलेको र हातपात गरिएको अडियोप्रति लक्षित थियो । उनी त्यतिमै रोकिइनन् । मन्त्रीलाई आचरण र व्यवहार कस्तो हुनुपर्छ भन्दै सांसद पौडेलले नैतिकताको आधारमा राजीनामा दिन वा संसदसमक्ष माफी मार्ग मन्त्री आलेलाई सुझाव दिइन् ।

‘हामी सार्वजनिक पद धारण गर्नेलाई यस्ता आचरण क्षम्य हुँदै–हुँदैन । हुन त यस्तै काम पहिला पनि नभएको होइन । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्व सरकारका एकजना मन्त्रीले असार १५ मा हिलो छ्यापा–छ्याप गर्ने क्रममा भएको अभद्र व्यवहारले यसैगरी नै विरोध भएको थियो । विरोधपछि प्रधानमन्त्री कोइरालाले मन्त्रीको राजीनामा माग्नुभएको थियो । मन्त्रीले पनि माफी मागेर राजीनामा दिनुभएको थियो । त्यस्तै पछि कानुनमन्त्रीले विदेश पढ्न जाने विद्यार्थीको बारेमा बोलेको टिप्पणी विवादमा आएपछि नैतिकताको आधारमा राजीनामा दिनुभयो । अहिले मन्त्रीले बोलेको अडियो जसरी बाहिर सार्वजनिक भएको छ । सबैले हामीमाथि प्रश्न उठाउन थालेका छन् । प्रधानमन्त्रीले त बुझ्नुभएन, सुन्नुभएन वा पचाउनुभयो के हो थाहा छैन’, उनले भनिन्, ‘उहाँ सम्बन्धित राजनीतिक दलले पनि यसलाई साधारण ठानेको होला । तर संसद्ले यसलाई साधारण मान्न सक्दैन सम्मानीय अध्यक्ष महोदय । उहाँले बोलेको अभद्र अडियोमा महिलालाई नै केन्द्रित गरेर गाली गर्नुभएको छ । पुरूषलाई केन्द्रमा राखेर गाली गरेपछि अडियोमा महिलालाई तारो बनाइएको छ । यो सैह्य छैन । उहाँले बोल्नुभन्दा पहिले संसद्मा माफी माग्नुपर्छ । म सम्माननीय अध्यक्ष मार्फत ध्यानाकर्षण गराउँछु ।’

त्यसपछि अध्यक्ष तिमिल्सिनाले यसमा मन्त्रीको ध्यान गएकै होला । म माननीय मन्त्रीलाई समय उपलब्ध गराउँछु भने । अध्यक्षको अनुमतिपछि मन्त्री आलेले सांसद पौडेलले उठाएको प्रश्नको जवाफै नदिइ विषयगत प्रश्नको जवाफ दिने शिलशीला अगाडि बढाए । मन्त्रीले मन्त्रालयगत विषयको जफाव दिइरहँदा सांसद पौडेलले यथास्थानमा उभिएर विरोध जानाइ राखिन् । सांसदको विरोधपछि अध्यक्ष तिमिल्सिनाले पौडेललाई बस्न आग्रह गर्दासमेत बस्न मानेनन् । त्यसमा पौडेललाई साथ दिँदै विपक्षी अन्य महिला सांसदले उठेर विरोध जनाए ।

मन्त्री आलेले मन्त्रालयसँग सम्बन्धी प्रश्नको जवाफ दिएपछि उनले सांसदहरूलाई धन्यवाद दिएर आफ्नो स्थानमा गएर बसे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रीको जवाफमा स्पष्टीकरण माग गर्न सांसदहरूलाई समय उपलब्ध गराएका थिए । तर स्पष्टीकरण दिनुअघि आफ्नो जवाफ मागिरहेका महिला सांसदहरूले उठेरै विरोध जनाइरहे । त्यसपछि अध्यक्षले महिला सांसदहरूलाई फेरि बस्न आग्रह गरे । अध्यक्षले पटक–पकट बस्न आग्रह गर्दासमेत महिला सांसद नबसेपछि अध्यक्षले माननीयले उठाएका प्रश्नबारे सम्बन्धित मन्त्रीको ध्यानकर्षण गएकै होला । आफूसँग उठेको प्रश्नको जवाफ दिनु मन्त्रीको कर्तव्य रहेको भन्दै बस्न आग्रह गरे । तर अध्यक्षले उपलब्ध गराएको एक मिनेटको समय कुनै सांसदले पनि स्पष्टीकरण दिएनन् । महिला सांसदहरूले उठेर विरोध जानाइराखे । त्यसपछि पुनः सांसद पौडेललाई आफ्नो भनाइ राख्न अध्यक्षले समय दिए ।

अध्यक्षले समय उपलब्ध गराएपछि सांसद पौडलले असन्तुष्टि जनाउँदै भनिन्, ‘समाननीय अध्यक्षज्यू मन्त्री, सांसद, कर्मचारी, न्यायाधीश सार्वजनिक पद धारण गरेका व्यक्तिहरू हुन् । उहाँहरूले देखाएको चरित्रले समाज अगाडि बढ्छ । यस्तो संवेदनशील विषयमा गल्ती गरें भनेर माफी पनि नमाग्ने, गल्ती गरेको विषयमा केही पनि भएको छैन जस्तो गरिराख्ने अनि हामी सांसदले मन्त्रीको भाषण सुनिराख्ने हो भने संसदीय र राजनीतिक प्रणाली हामीले कतातिर लैजादै छौं यसमा हामीलाई चिन्ता छ । गल्ती हुन्छ । गल्तीलाई स्वीकार्न सक्नुपर्छ । सकिँदैन भने राजीनामा दिनुपर्छ ।’

यो आफ्नो मात्र माग नभएको भन्दै पौडेलले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको आचरण दिनदिनै खस्किँदै गइराखेकोमा चिन्ता व्यक्त गरिन् । ‘उहाँले अहिले पनि सम्बोधन गर्नुभएन भने यो माग तेर्सिनै रहनेछ । उहाँले एक त नैतिकाताका आधारमा राजीनामा दिनुपथ्र्यो । होइन भने यो संसदीय प्रणालीकै खतरा हो, त्यसैले हामी बस्न सकिराखेको छैनौं ।

पौडेलले आफ्नो भनाइ राखेपछि अध्यक्षले सम्बन्धित मन्त्री र सिंगो सदनको ध्यान गएकोले बस्न आग्रह गरे । त्यसपछि अर्को मन्त्रीको जवाफ दिने पालो आएकोले बस्न अध्यक्षले पुन: आग्रह गरे । त्यसपछि बल्ल महिला सांसदहरू आफ्नो सिटमा बसेका थिए । यी सबै गतिविधि टुुलुटुलु हेरेर बसिरहका मन्त्री आलेले आफूमाथि उठेको प्रश्नको जवाफ दिन उचित ठानेनन् । जवाफ पनि फर्काएनन् ।

आलेले दिए मन्त्रीबाट राजीनामा