NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
एसको चुनावी समीक्षा

नेकपा एसलाई माओवादीको डर, कांग्रेसको छैन भर

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठक १५ बुँदे प्रस्ताव पारित गर्दै मंगलबार सकिएको छ ।
काठमाडौंको कमलादीमा दुई दिनसम्म चलेको बैठकले स्थानीय तह निर्वाचको समीक्षा, आगामी प्रदेश, संघीय निर्वाचनको तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको विश्लेषण, दलहरूबीचको सम्बन्ध, विद्यमान मँहगी, मूल्यवृद्धिलगायत विषयमा बहस र छलफल गरी बुँदागत निष्कर्ष निकालेको छ ।

बैठकले पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनकेन्द्रित गर्ने निर्णय गरेको छ । १५ सय सदस्य सहभागी रहेको बैठकमा ११ समूह विभाजन गरी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो । समूहबाट आएका निष्कर्षलाई टोली नेताले बैठकमा सुनाएका थिए । समूहगत निष्कर्षको जवाफ अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले दिएका थिए ।
प्रदेश १ बाट अर्जुन राई, मधेश प्रदेशबाट सुधीर साह, बागमती प्रदेशबाट सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशबाट प्रतापलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नरेशकुमार भण्डारी, कर्णाली प्रदेशबाट अमरबहादुर थापा, सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर सिंहले बैठकमा समूहको निष्कर्ष सुनाएका थिए ।

त्यस्तै, केन्द्रीय विभागबाट कृष्णबहादुर सापकोटा, काठमाडौं उपत्यका कमिटीका तर्फबाट विजय गुरुङ, विभिन्न आयोगका तर्फबाट विद्या ढकाल र केन्द्रीय सल्लाहकारबाट मोहन केसीले निष्कर्ष सुनाएका थिए ।

स्थानीय तह निर्वाचनमा नेतृत्व चुक्यो

एमालेसँग विद्रोह गरी जन्मेको पार्टी एकीकृत समाजवादी गठन भएको ८ महिनामै स्थानीय तह निर्वाचनमा होमियो । नेकपा एसलाई यो निर्वाचन आफ्नो शक्ति परीक्षणका लागि प्रारम्भिक खुट्किलो थियो । स्थानीय तह निर्वाचनमा एक महानगरपालिका, एक उपमहानगरपालिकासहित २० पालिका प्रमुख नेकपा एसले जितेको थियो । चुनावी नतिजाबाट नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन् । विगतमा भएको कमजोरीको समीक्षा गरी आगामी कार्यदिशा तय गर्न अध्यक्ष नेपालले एकैपटक पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठक बोलाएको थिए ।

बैठकमा समूहका नेताहरूले गठबन्धनमाथि पार्टी नेतृत्वले बढी विश्वास र इमान्दारिता देखाउँदा स्थानीय निर्वाचनमा ठूलो धक्का खाएको निष्कर्ष निकालेका थिए ।

०७४ सालमा एमालेले जितेको ठाउँमा स्वभाविक रूपमा हाम्रो दावी रहन्छ । प्रत्यक्षमा आवश्यकता अनुसार गठबन्धनसँग तालमेल हुन्छ । समानुपातिक मत क्यास गर्न सबै ठाउँमा उम्मेदवारी दिनेछौं । गठबन्धनलाई विश्वास गर्ने अवस्था छैन ।

सहभागी एक नेताले गठबन्धनबारे समूहगत निष्कर्ष सुनाउँदै भने, ‘हामी विद्रोहबाट जन्मेको नयाँ शक्ति हौं । चुनावी तयारी सम्बन्धमा हाम्रा पनि केही कमजोरी भए होलान् । स्थानीय तह निर्वाचनमा हामीले जुन इमान्दारिता देखायौं, माओवादी र कांग्रेसले देखाएन । यसमा नेतृत्व चुक्यो भन्ने हाम्रो निष्कर्ष हो ।’

माओवादी अवसरवादी, कांग्रेसलाई विश्वास गर्न सकिंदैन

बैठकले सबै ठाउँमा उम्मेदवार दिन नसक्नु पार्टीको कमजोरी रहेको निष्कर्ष निकालेको छ । उम्मेदवारी दिएको ठाउँमा पनि कांग्रेस र माओवादीले धोका दिँदा निर्वाचनमा पार्टीको आयतन सोचेभन्दा धेरै खुम्चिएको निष्कर्ष निकालिएको छ ।

‘पार्टीले उम्मेदवार खडा गर्ने विषयमा स्थानीय तहमा समस्या देखियो । गठबन्धन भएको ठाउँमा उम्मेदवार बन्न हानाथाप हुने तर एक्लै भिड्ने ठाउँमा उम्मेदवार नै नपाउने स्थिति भयो । माथिल्लो तहमा गठबन्धन जोगाउन नेतृत्वले चाहिनेभन्दा बढी इमान्दारी देखाइयो’ निष्कर्षमा उल्लेख गरिएको छ, ‘कांग्रेस र माओवादीको पहिल्यै सहमति भइसकेको रहेछ त्यसमा नेतृत्वले हेक्का राखेन । आगामी निर्वाचनमा त्यस्तो नहोस् र नेतृत्व सचेत रहोस् भन्ने सबैको सुझाव रहेको छ ।’

एमालेसँग विद्रोह गर्दा माओवादीबाट जति साथ पाएको थियो विद्रोहपछि माओवादीले अवसरवादी चरित्र देखाएको बैठकको निष्कर्ष छ । एमालेसँग तत्काल एकताको वातावरण नरहेको र गठबन्धनसँग ढुक्क हुने आवस्था पनि नभएकाले आगामी निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने रणनीति तय गरेको छ ।

‘स्थानीय तह निर्वाचनमा ९ लाख बराबर जनमत रहेको देखिन्छ । हाम्रो जनमत त्यतिमात्र होइन । सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाखभन्दा बढी जनमत देखिन्थ्यो । गठबन्धनका कारण ती जनमत गुमायौं’, एक नेताले भने, ‘आगामी प्रदेश र संघीय निर्वाचन हाम्रा लागि महत्वपूर्ण छ । ०७४ सालमा एमालेले जितेको ठाउँमा स्वभाविक रूपमा हाम्रो दावी रहन्छ । प्रत्यक्षमा आवश्यकता अनुसार गठबन्धनसँग तालमेल हुन्छ । समानुपातिक मत क्यास गर्न सबै ठाउँमा उम्मेदवारी दिनेछौं । गठबन्धनलाई विश्वास गर्ने अवस्था छैन । हामी आफ्नै शक्तिका साथ निर्वाचनको तयारी गछौं ।’

त्यस्तै बैठकले तत्काल गठबन्धन नभत्काउने तर सम्पूर्ण वामपन्थीबीचमा एकता र सहकार्य गर्ने गरी तयारी थाल्ने नीति लिएको छ ।
वामलोकतान्त्रिक गठबन्धन कायमै रहे त्यसको सोझो फाइदा कांग्रेसलाई हुने निष्कर्ष निकालेको छ ।

आगामी निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनसँग तालमेल गर्ने, आफूले जित्ने ठाउँमा पार्टीले एकल उम्मेदवारी दिने र त्यसबाहेका जो–जोसँग सहकार्य सम्भव हुन्छ त्योसँग गठबन्धन बनाउने रणनीति एसले बनाएको छ

‘सबैको चिन्ता ओलीको दम्भका कारण एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन । माओवादीले अवसरवादी चरित्र देखाएकोले उसलाई विश्वास गर्न सकिंदैन । कांग्रेस गठबन्धनको सहयोगमा बहुमत ल्याउने तयारीमा छ । यस्तो अवस्थामा नेतृत्व निकै चनाखो हुनुपर्छ । माओवादीबाहेक अन्य समाजवादी शक्तिसँग गठबन्धन वा सहकार्य गर्नुपर्छ भन्ने छ । अहिलेकै अवस्थामा गठबन्धन भत्काउने पाक्षमा हामी छैनौं । यसमा कांग्रेस र माओवादीले सोच्नुपर्छ’, समूहगत नेताको निष्कर्ष छ ।

आगामी निर्वाचनबारे नेतृत्व नै अलमलमा

पार्टीको सम्पूर्ण शक्ति आगामी निर्वाचमा केन्द्रित गरेको एकीकृत समाजवादी जनमतबाट कसरी शक्ति आर्जन गर्ने भन्नेमा अलमलमा देखिन्छ । एमालेबाट विद्रोह गरी शक्ति आर्जन गर्न रणनीति बनाएको उसले सोचेअनुरूपको साथ पाएन । कमजोर शक्तिकै कारण गठबन्धनबाट आफूलाई धोका भएको निष्कर्षमा उनीहरू पुगेका छन् । गठबन्धनप्रति एकीकृत समाजवादी मात्र इमान्दर रहेको तर गठबन्धनले धोका दिएको उसको बुझाइ छ । बलियो शक्ति नभइसकेको अवस्थामा गठबन्धको सहयोग लिने कि नलिने भन्नेमा अलमलमा देखिन्छ ।
बैठकको निष्कर्ष सबै क्षेत्रमा उम्मेदवार खडा गर्न सकिए समानुपातिक भोट बढ्ने र यसले पार्टीको आयतन बढ्ने एउटा बुझाइ छ ।

अर्कोतर्फ सबैतिर उम्मेदवार पठाउँदा प्रत्यक्ष निर्वाचनमा प्रभाव पर्ने निष्कर्ष छ । त्यस्तै एमालेसँग तत्काल सहकार्यको अवस्था नभएको र गठबन्धनको भरपर्दा स्थानीय तहको नियति दोहोरिने चिन्तामा नेकपा एस रहेको देखिन्छ । त्यसैले तत्काल उसले गठबन्धनलाई पूर्ण विश्वास गरिहाल्ने र गठबन्धनसँगको सहकार्य तोडिहाल्ने निष्कर्ष ननिकालेको देखिन्छ । आगामी निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनसँग तालमेल गर्ने, आफूले जित्ने ठाउँमा पार्टीले एकल उम्मेदवारी दिने र त्यसबाहेका जो–जोसँग सहकार्य सम्भव हुन्छ त्योसँग गठबन्धन बनाउने रणनीति एसले बनाएको छ ।

पुरानो गल्ति नदोहोर्याउने माधव–झलनाथको प्रतिवद्धता

समूहगत निष्कर्षको जवाफ दिनेक्रममा नेता खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको भन्दै त्यसमा मूल नेतृत्व चुक्दा कांग्रेस र माओवादीलाई फाइदा भएको बताएका थिए । ‘अहिले हामीले नौ लाख मतदाता छन् भनिरहेका छौं, नौ लाख होइन, २० लाखभन्दा बढी हाम्रो मत छ, त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौं’, उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसमा हाम्रा पनि केही त्रुटी कमजोरी रहे । त्यो गठबन्धन भन्नेले हामीलाई त बहुत अपमान गर्यो । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष नेपालले समूहबाट आएको निष्कर्षलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै विगतको कजोरीलाई सच्चाएर आगामी निर्वाचनको तयारीमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

‘तपाईहरूको सुझाव पार्टीले गम्भीरतापूर्वक लिएको छ । विशेष परिस्थितिमा हामी स्थानीय तहको निर्वाचमा होमिनु परेकाले सोचे अनुरुपको सफलता प्राप्त हुन सकेन । यसमा हाम्रो पनि केही कमजोरी भयो’ निष्कर्ष सुनाउँदै नेपालले भने, ‘गठबन्धनबाट पनि धोका भयो । विगतबाट पाठ सिकेर त्यो गल्ति आगामी निर्वाचनमा नदोहोर्याउने म तपाईंहरूसामु प्रतिवद्धता जनाउँछु । तपाईंहरू विचलित नभइ निर्वाचनको सम्पूर्ण तयारीमा लाग्नोस् ।’