NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जोनसनलाई पुटिनको जवाफ-‘फकल्यान्ड युद्ध हुँदा बेलायतमा प्रधानमन्त्री महिला नै थिइन्’

मस्काे । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा आक्रमण नगर्ने बताएका थिए । बेलायती प्रधानमन्त्रीले युद्धलाई घातक पुरुषत्वको सबैभन्दा उपयुक्त उदाहरण युक्रेन युद्ध भएकाे वर्णन गरेका थिए ।

जी-७ शिखर सम्मेलनमा सहभागी हुन गएका बेलायती प्रधानमन्त्रीसँग जर्मनीका पत्रकारले रुसका राष्ट्रपति पुरुष भएकाले पनि युक्रेन युद्ध भएकाे हाे कि भनेर प्रश्न गरेका थिए । यही प्रश्नको जवाफमा बोरिस जोनसनले भने, ‘पुटिनको माचो छविले युद्ध र हिंसामा मद्दत गर्दछ । यदि तपाईं घातक पुरुषत्वको कुनै उदाहरण हेर्न चाहनुहुन्छ भने, यो युक्रेन आक्रमण हो ।’

यसबाहेक सम्मेलनमा पुगेका केही नेताहरूले पुटिनको सर्टलेस तस्वीरको मजाक उडाएका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पुटिनको खिल्ली उडाउँदै भने, ‘हामी पनि सर्ट नलगाई घोडा चढेको फोटो खिच्नेछौं ।’ उनीहरुको मजाक यति मै रोकिएन । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डर लेयनले भनिन्, ‘घोडासवारी सबैभन्दा राम्रो हो ।’ यसबारे बोरिस जोनसनले भने, ‘हामीले पनि उनलाई हाम्रो प्याक देखाउनुपर्छ ।’ तर, यस समयमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने केही बोलेका थिएनन् ।

बेलायती प्रधानमन्त्रीकाे यो भनाइको जवाफ दिँदै रुसी राष्ट्रपति पुटिनले बिहीबार भने, ‘जब बेलायतले फकल्यान्ड टापुमा सैन्य कारबाही गर्दा त्यहाँ प्रधानमन्त्री मार्गरेट थ्याचर थिइन् । फकल्यान्डमा बेलायतको सैन्य कारबाही साम्राज्यवादको संकेत थियो । बेलायत अझै पनि औपनिवेशिक मानसिकताबाट बाहिर निस्कन सकेको छैन ।’

साथै पुटिनले बेलायती प्रधानमन्त्रीसहितका नेताले गरेकाे मजाकको जवाफ पनि दिएका छन् । नेताहरूलाई प्रहार गर्दै पुटिनले जोनसनलाई सर्टलेस देख्नु सबैभन्दा ठूलो मजाक हुने भनेका छन् । तुर्कमेनिस्तान पुगेका पुटिनले युक्रेनको पक्षमा मेरो आलोचना गर्ने पश्चिमा नेताले जथाभावी मदिरा सेवन गर्ने र फिटनेसमा ध्यान नदिने भन्दै टिप्पणी पनि गरे ।

फकल्यान्ड टापु

फकल्यान्ड वा माभिनस टापुहरू दक्षिणपश्चिम एट्लान्टिक महासागरमा अवस्थित छन् । बेलायतका मानिसहरू यसलाई फकल्यान्ड टापुहरू भन्छन् भने अर्जेन्टिनाका मानिसहरू यसलाई माभिनास टापु भन्छन् । यो टापु अझै पनि बेलायतको नियन्त्रणमा रहेको छ । बेलायत र अर्जेन्टिनाबीच फकल्यान्डलाई लिएर विवाद छ ।

सन् १९८२ मा यस टापुको नियन्त्रणलाई लिएर बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो । बेलायती सेनाले अर्जेन्टिनाको दाबीलाई अस्वीकार गर्दै आएको छ । अर्जेन्टिनाले यो टापुमा आफ्नो अधिकार रहेको बताउँछ किनभने यो १८०० को दशकमा स्पेनी साम्राज्यको हिस्सा थियो । यसबाहेक अर्जेन्टिनाले दक्षिण अमेरिकी मुख्य भूमिसँग आफ्नो निकटता पनि दाबी गर्छ ।

अर्काेतर्फ, बेलायतले लामो समयदेखि आफ्नो प्रशासन र यसका नागरिकहरू बेलायती भएको तर्क गर्दै आएको छ । यस टापुमा रुखहरु थोरै छन् तर कडा हावा चल्छ । पूर्व र पश्चिम फकल्यान्ड दुई महत्त्वपूर्ण टापुहरू हुन् । यसबाहेक सयौं साना टापुहरू छन् ।

टापु स्वायत्त छ तर बेलायतले यसको विदेश मामिला र रक्षाको हेरचाह गर्छ । यो टापुमा दलीय राजनीति छैन । त्यहाँ जनवरी १, २००९ मा नयाँ संविधान लागू भयो, जसमा कार्यकारी परिषद्लाई थप अधिकार दिइएको थियो ।

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’