NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चिनियाँ कम्युनिस्ट पार्टीका नेता प्रमुख दलसँग संवादमा

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले पछिल्लो एक सातामा प्रमुख दलका नेताहरूसँग बेग्लाबेग्लै भर्चुअल संवाद गरेका छन् । प्रमुख लिउ जियानचाओले भिन्दाभिन्दै मितिमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. नारायण खड्कासँग संवाद गरेका हुन् ।

भर्चुअल संवाद र विषयवस्तुबारे तीनै पार्टीले औपचारिक सार्वजनिक गरेका छैनन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो वेबसाइटमार्फत भेटवार्ता सम्बन्ध सुधारमा केन्द्रित रहेको जनाएको छ । चिनियाँ नेता लिउले ९ असारमा प्रचण्ड, १० असारमा ओली र १६ असारमा खड्कासँग भर्चुअल संवाद गरेका थिए ।

चिनियाँ पूर्वकूटनीतिज्ञ लिउले १८ जेठदेखि पार्टी अन्तर्राष्ट्रिय विभाग समन्वय प्रमुखको जिम्मेवारी लिएका थिए । लिउअघि पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागको नेतृत्वमा चिनियाँ अनुभवी कूटनीतिज्ञ सोङ ताओ थिए । लिउ पनि अनुभवी कूटनीतिज्ञ मानिन्छन् । पछिल्लोपटक नेपालमा अमेरिकी चासो बढेको टिप्पणी भइरहँदा चिनियाँ पक्षले प्रमुख दलहरूसँग संवाद गरेको हो ।

भर्चुअल संवादमा चिनियाँ पार्टीसँग एमाले र माओवादीको भाइचारा सम्बन्ध नवीकरण गर्ने समझदारीपत्र आदानप्रदान भएको छ । दुवै भर्चुअल संवादमा पार्टीहरूबीच आपसी सहयोग र आदानप्रदानसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको सिपिसीले जनाएको छ । ओली र प्रचण्डसँग दुई दिनको फरकमा भएको भर्चुअल संवादबारे सिपिसीले एउटै प्रेस नोटमा समावेश गरेको छ ।

संवादमा सहभागी एमाले केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले दुई पार्टीबीच सम्बन्ध नवीकरणसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको जानकारी दिए । ‘दुई पार्टीबीच विगतमा रहँदै आएको भाइचारा सम्बन्धको नवीकरण भएको हो, अरू त्यस्तो नयाँ केही भएको होइन,’ उनले भने ।

संवादमा चिनियाँ नेता लिउले एमाले र माओवादीसँग सिपिसीको समान धारणा र भावना रहेको भन्दै अन्तर्पार्टी आदानप्रदान थप सुदृढ हुने बताएका छन् । उनले दुई पार्टीसँग सिपिसीले सम्बन्ध थप सुदृढ बनाउने र जनताबीचको सम्बन्ध पनि प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् । दुई देश र पार्टीहरूले एक–अर्काको चासो सम्बोधन गर्नुपर्ने तथा सम्बन्धको स्वस्थ र स्थिर विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले ओली र प्रचण्ड दुवैलाई सिपिसीको आसन्न २०औँ महाधिवेशनबारे जानकारी दिएका थिए । ‘पार्टी महाधिवेशनले नेपाल र चीन सम्बन्धको विकासमा नयाँ गति दिनेछ,’ लिउले भनेका छन् । ओली र प्रचण्डले सिपिसीको २०औँ महाधिवेशन सफलताका लागि शुभकामना दिएका छन् ।

सिपिसीका अनुसार ओली र प्रचण्डले नेपाल–चीन मित्रता दिगो रहेको बताएका थिए । दुवै नेताले सिपिसीसँग सम्बन्धलाई उच्च प्राथमिकता दिएको र नेपालमा चीनविरोधी गतिविधि प्रयोग गर्न कहिल्यै कसैलाई अनुमति नदिने पनि वचन दिएका थिए । ओली र प्रचण्डलाई उद्धृत गर्दै सिपिसीको वेबसाइटमा उल्लेख छ, ‘चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लामो संघर्षका उपलब्धि र ऐतिहासिक अनुभवले नेपालका पार्टीहरूलाई पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।’

ओली र प्रचण्डसँग चिनियाँ नेता लिउले नेपाल र चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी र साझा भविष्यका विकास साझेदार भएको बताए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच मित्रता रणनीतिक साझेदारीमा स्तरोन्नति भएको स्मरण गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।