NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बुढीगंगामा बिहीबार मतदान हुँदै, एमालेका पराजित र कांग्रेसका नयाँ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

काठमाडौं । एमाले र कांग्रेसबीच विवादका कारण स्थगित बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन बिहीबार हुने भएको छ । वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेस र एमालेबीच विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले मतदान स्थगित गरेको थियो ।

७५३ पालिकामध्ये अन्य सबैको निर्वाचन परिणाम सार्वजनिक भएपनि बुढीगंगामा दुई महिना वित्न लाग्दासमेत मतदान हुन सकेको छैन ।
भोलि बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने मतदानका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा गरिएको छ ।

१० वटा मतदान स्थल रहेको पालिकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन् ।

अहिले मदतानस्थलमा निर्वाचनसम्बन्धी आवश्यक सामाग्रीसहित निर्वाचन अधिकृतहरू मतदान केन्द्र पुगिसकेका प्रजिअ अधिकारीले जानकारी दिए ।

प्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार रहेका छन् । उप्रमुखमा एमालेका मायाकुमारी खड्का र कांग्रेसका रीता शाही छन् । एमालेका बानियाँ र खड्का गत निर्वाचनमा पनि कांग्रेससँग पराजित भएका थिए ।

योपटक पनि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस नगरपालिकामा १० वाटा वडा रहेको छ ।

यस्तो छ ०७४ को निर्वाचन परिणाम

गत निर्वाचनमा बुढीगंगामा नेपाली कांग्रेसका दीपकविक्रम शाह ३ हजार ८ सय ४५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी बानियाँले ३ हजार ५ सय ६० मत ल्याएका थिए ।

शाहको मतान्तर २८५ रहेको थियो । उपमेयरमा कांग्रेसकै तारादेवी खाती ३ हजार ७ सय ६० ल्याइ विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाकुमारी खड्काले ३ हजार ५ सय २८ मत पाएकी थिइन् । वडातर्फ १, ४, ७ र ८ कांग्रेसले जितेको थियो भने अन्यमा एमालेले जितेको थियो ।