NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जनार्दनजीका राम्रा काम पार्टीकै मान्छेलाई मन परेको थिएन : दीपेन्द्रबहादुर क्षेत्री [अन्तर्वार्ता]

जेट प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर आफ्नो भनाइ राख्दै पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न समामुख अग्निप्रसाद सापकोटाले संसदीय छानविन विशेष समिति गठन भएको जानकारी दिएका थिए ।

उक्त समितिले बजेट निर्माणको क्रममा भएका विषयबारे सत्यतथ्य पत्ता लगाइ १० दिनमा प्रतिवेदन बुझाउन समय दिएको छ । शर्माको राजीनामासँगै विपक्षीले उठाउँदै आएका विषयको पटाक्षप भएको छ । उर्जामन्त्री भएका बेला सबैको प्रशंसा पाएका शर्माले अर्थमन्त्री हुँदा विभिन्न प्रकरणमा मुछिएपछि विवादमा तानिएका छन् ।

शर्माको एकवर्षे कार्यकालको सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसँग नेपालवाचका गणेश पाण्डेले संक्षिप्त कुराकानी गरेका छन्–

जनार्दनजीलाई बाहिरबाट मात्र नभएर पार्टीभित्रैबाट धेरै असहयोग भयो । अनेक किसिमका दबाब र चपेटा आउँदा आउँदै पनि उहाँले मैले अर्थतन्त्रमा राम्रै काम गरेको छु, जुन मुलुकको हितका लागि छ भनेर धैर्य गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्माको राजीनामालाई तपाईंले कसरी लिनुभएको छ ?

राम्रो काम गर्न खोज्दा अप्ठ्यारो पार्न खोज्ने नेपालको राजनीतिक चरित्र नै हो । एकाधबाहेक अर्थमन्त्री शर्माले बजेटमार्फत ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन राम्रो काम गरेका थिए । यो कुरा पार्टीभित्र र विपक्षीलाई मन परेको थिएन । उहाँको राजीनामा स्वभाविक हो । तर शर्मा छोटो समय जुन साहस धैर्य देखाउनुभयो, त्यो राम्रो पक्ष हो ।

अर्थमन्त्री शर्माको एकवर्षे कार्यकाललाई चाहिँ कसरी लिनुभएको छ ?

१२ महिनामा ७ महिना बजेट नै कार्यान्वायन गर्न नपाउने गरी बस्नुभयो । त्यसपछि उहाँले प्रतिस्थापन बजेट जुन यसअघि नभएको कुरा पनि ल्याउनुभयो । इतिहासमै जिडिपी ३७ प्रतिशत पुग्ने गरी ठूलो बजेट ल्याउनुभयो । कार्यान्वयन गर्ने बेलामा आएपछि शर्मालाई अनेकन किसिमका झन्झटहरू आइलागे । त्यसलाई कसरी पार लगाइन्छ भन्ने कुरा बजेट कार्यान्वयतमा भर पर्छ ।

उहाँले काम गर्न नजानेको हो कि विपक्षीले अनावश्यक आरोप लगाएका हुन् ?

विपक्षीहरूले यस्ता कुराहरू उठाउँछन् । उठाइसकेपछि होइन मेरो स्रोतले त्यति विश्वसनीय सूचना दिएको रहेनछ भन्नछन् नि बेला बेला । जस्तै एसपिपीमा आर्मीको चिफले मलाई जानकारी नदिइ पठाएछन् भन्ने विपक्षी भएपछि कुनै बेला कस्तो विज्ञप्ति आउँछ, त्यो नौलो हुँदैन । सरकारमा बसेकाहरूको के कसो गरे भन्ने कुरा खोतल्ने उहाँहरूको धर्म हो ।

बजेट निर्माणको क्रममा मध्यराति भएका घटनाको कुनै संकेत नपाइ त्यतिकै बाहिर कुरा आएको त होइन होला नि ?

राष्ट्र बैंक र योजना आयोगको क्रियाकलाप पाँच बजेभन्दा अगाडि र बढीमा आठ बजेभन्दा पछाडि समयसीमा नहुने हुँदा बजेट निर्माण प्रक्रियामा के गर्छन् थाहा हुँदैन । बजेट तयार भइसकेपछि डा.बाबुराम भट्टराईले बजेट पढेको रिलल्सन गर्न त्यस्तै ११ बजेसम्म बसिएको थियो । होइन भने अर्थमन्त्रालयमा सात–आठ बजेभन्दा पछाडि कहिल्यै बसिएन । कसरी हुन्छ भन्ने कुराको जानकारी पनि भएन ।

अर्थतन्त्रलाई बलियो बनाउन निवर्तमान अर्थमन्त्री शर्माले गरेका पाँच वटा राम्रा काम के–के हुन् ?

शर्माजीले बजेट निर्माणमा पहिलो पटक प्रतिस्थापन बजेट भनियो, त्यसलाई प्रस्तुत गर्ने क्रममा १०० मिटरको दौडसहित उहाँले पेश गर्नुभयो । त्यसलाई पनि कौशलता चाहिन्छ, जुन शर्माजीले देखाउनुभयो ।

जनार्दनजीलाई बाहिरबाट मात्र नभएर पार्टीभित्रैबाट धेरै असहयोग भयो । अनेक किसिमका दबाब र चपेटा आउँदा आउँदै पनि उहाँले मैले अर्थतन्त्रमा राम्रै काम गरेको छु, जुन मुलुकको हितका लागि छ भनेर धैर्य गर्नुभयो ।  त्यो बेलामा पनि वृहत्त रूपमा छलफल र बहस गरेर बजेट आएको हो । शर्माजीले सबैभन्दा बढी कृषिलाई जोड दिनुभयो त्यो अत्यन्तै सकारात्मक छ ।

अर्को उर्जामन्त्री हुँदा उहाँले लोडसेडिङ घटाउनका लागि सहयोगी पनि राम्रै पाउनुभयो । त्यसको प्रशंसा पनि पाउनुभएको थियो । त्यो अनुशासन अर्थमा पनि कायमै रहोस् भनेर मैले सुझाव दिएकाे थिएँ । केही हदसम्म शर्माजी सफल हुनुभयो । अर्थमन्त्रीमाथि यति धेरै दबाब आउँदासमेत विचलित हुनुभएन शर्माको साहसलाई मान्नुपर्छ ।

यी त भए सकारात्मक पक्ष तर उनका कमजोरी चाहिँ के-के भए ?

शर्माजीले पुँजीगत खर्च १० प्रतिशतको दरले लैजान्छु् भन्नुभयो । तर पछि गएर हैन मैले त बुझेको रहेनछु भन्नुभयो । उहाँले भनेजस्तो पूँजीगत खर्च भएन । शर्माले धेरै नै अग्रगामी भएर बोल्ने बानी छ । कसैले प्रतिक्रिया जनायो भने यस्तो गल्ती हुँदोरहेछ भन्ने उहाँको कमजोरी छ । अन्य कमजोरी शर्माजीको त्यति मैले देखेको छैन ।

बजेट निर्माणको विषयमा विपक्षीले छानबिन गर्न माग गरेका थिए । त्यति छानबिन समिति गठन गरेको भए कुरै सकिएको थियो । तर उहाँको अभिव्यक्तिले उहाँलाई नै क्षति पुग्यो नि होइन र ?

प्रधानमन्त्रीले नै अर्थमन्त्री तयार गरिसक्नुभयो भन्ने विपक्षीले भनिरहेका छन् । एमालेले त सकार बन्नेबित्तिकै त्यतिबेलै राजीमामा मागेका थिए । अर्थमन्त्रीले प्रतिस्थापन बजेट ल्याउनेबित्तिकै एमालेले राजीनामा माग गरेका थिए । राजीनामा जसलाई नै गर भन्ने एमालेको संस्कार हो । सभामुखको पनि राजीनामा माग गरेकै हो । सरकार र सभामुखलाई नै मान्यता दिएको छैन भन्ने अनि संसदमा सहभागी भइराखेका छन् । यो एमालेको दोहोरो चरित्र हो ।