NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अदालतमा वर्षौं अल्झिन्छन् जग्गाका मुद्दा

सरकारी, सार्वजनिक तथा गुठीको जग्गा विवादका मुद्दा अदालतमा पनि वर्षौँसम्म न्यायिक प्रक्रियामै अल्झिने गरेका छन् । समयमै न्याय सम्पादन नहुँदा सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रवृत्ति बढ्दो छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार सर्वोच्चसम्म पुगेका र सरकार पक्ष भएका जग्गासम्बन्धी मुद्दा मात्रै चार सयभन्दा बढी छन् । तीमध्ये रिटमार्फत आएका मुद्दाको संख्या तीन सयभन्दा बढी छ भने जिल्ला वा पुनरावेदन हुँदै सर्वोच्च पुगेका मुद्दा सयभन्दा बढी छन् ।

साबिक गोंगबु गाविस– ३ को नरदेवी श्वेतकालिका गुठीको जग्गा विवाद ०३६ मा न्यायालय प्रवेश गरेको थियो । यो मुद्दा सर्वोच्च पुगेको पनि १६ वर्ष भइसक्यो, तर अझै निरुपण भएको छैन । यो मुद्दाको पेसी मात्र २९ वटा इजलासमा परिसकेको छ भने ३३ पटक पेसी चढिसकेको छ । पछिल्लोपटक २५ वैशाखमा न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार चुडालको इजलासमा परेको थियो ।

यो गुठीको दुई रोपनी १० आना र चार रोपनी १० आनाका दुई कित्ता रैकर कायम गरिएपछि यो विवाद अदालत प्रवेश गरेको थियो । पछि पाटन उच्च अदालतले पनि रैकर बनाउने गुठीको निर्णय सदर गरेपछि मुद्दा ०६३ मा सर्वोच्च प्रवेश गरेको हो । निजी गुठी र राजगुठी कायमसम्बन्धी यो मुद्दामा काठमाडौं जिल्लाका गुठी संस्थानका प्रशासन वादी छन् भने संघसिद्धि तुलाधरसमेत चारजना प्रतिवादी छन् । यसमा थप तीन मुद्दा लगाउमा छन् । निर्णय दर्ता बदर र दुईवटा उत्प्रेषणका मुद्दा छन् ।

१८ पुस ०६४ मै दर्ता भएको महोत्तरीस्थित एक कट्ठा जग्गाको मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ । यसको पछिल्लोपटक ३० जेठमा पेसी तोकिएको थियो । तर, दुवै पक्षबाट मुद्दा स्थगित भएको छ । त्यसअघि ९ जेठमा यसअघि भएको आदेश कार्यान्वयनका लागि महोत्तरी जिल्ला अदालतमा पठाउने आदेश भएको छ । महोत्तरी जिल्ला अदालत र जनकपुर उच्च अदालत हुँदै सर्वोच्च पुगेको यो मुद्दामा २३ चैत ०७७ मा नापनक्साका लागि जिल्ला अदालतलाई लेखी पठाउने आदेश भएको थियो । हालसम्म यो मुद्दा ७३ पटक पेसी चढिसकेको छ भने अर्को पेसी २० असारका लागि दिइएको थियो । अन्य आठवटा मुद्दा पनि लगाउमा भएकाले सँगसँगै पेसी चढ्छन् ।

ठमेलस्थित छायादेवी कम्प्लेक्स बनेको १२ रोपनीभन्दा बढी जग्गाको मुद्दा पनि ०७१ वैशाखदेखि सर्वोच्चमा विचाराधीन नै छ । सो जग्गा पोखरी भएको र पोखरी नै कायम हुनुपर्ने मागसहित भागवतनरसिंह प्रधानलगायतले जिल्ला अदालतमा निवेदन दिएका थिए । यो जग्गाको विवाद भूमिसम्बन्धी ऐन, २०२१ लागू भएदेखि नै छ । अदालतहरूबाट कहिले पोखरी कायम नै गरिएको देखिन्छ भने कहिले व्यक्तिको नाममै रहने आदेश गरेपछि विवाद चलिरहेको छ । दोहोर्‍याइपाऊँ भन्ने मागसहित सर्वोच्च आएका मुद्दाहरू र रिटसमेत गरी लगाउका १५ मुद्दा छन् । ३० वैशाख ०७१ मा सर्वोच्च प्रवेश गरेको यो विवाद यसअघि भने जिल्ला र उच्च अदालतमा पनि चलेको थियो ।

जग्गा विवादसम्बन्धी थुप्रै मुद्दा हेरेका वरिष्ठ अधिवक्ता हरिहर दाहाल जग्गाका मुद्दा जटिल हुने बताउँछन् । कागजी प्रमाणका आधारमा फैसला हुने भएकाले ती प्रमाण एकत्रित गर्नै पनि लामो समय लाग्ने उनको भनाइ छ । ‘प्रमाण झिकाउने आदेश भएपछि त्यो आइपुग्नै समय लाग्छ । अझ उपत्यकाबाहिरको हकमा लामो समयसम्म पनि सम्बन्धित कार्यालयले कागजात पठाउँदैनन् । ढिलाइ गर्न चाहने पक्षले त्यहाँ म्यानिपुलेट गर्छ,’ अधिवक्ता दाहालले भने ।

सरकारका तर्फबाट भूमिबारे मुद्दा हेर्ने गरेका सहन्यायाधिवक्ता उद्धव पुडासैनी पनि दाहालकोे कुरामा सही थप्छन् । प्रमाण तथा कागजात झिकाउन कार्यालयहरूलाई पटक–पटक ताकेदा गर्दा पनि वर्षौँसम्म नआउने गरेको उनको भनाइ छ । ‘एक त प्रमाणहरू पठाइँदैन । कतिपय अवस्थामा कागजात भेटिँदैन । यस्तोमा कागज गायब गराइएजस्तो देखिएमा सम्बन्धित कर्मचारीमाथि विभागीय कारबाही पनि हुन्छ,’ पुडासैनीले भने, ‘यस्ता मुद्दामा स्थलगत नक्सांकन राम्रोसँग गरिएको हुँदैन, फिल्डमा गएर नक्सा गरेर आउँदा समय लाग्छ । जग्गासँग नक्सा मिलिरहेको हुँदैन ।’

छायादेवी कम्प्लेक्स र भागवतनरसिंह प्रधानकै मुद्दा हेर्ने हो भने विवादको सुरुवात निकै पहिले भएको हो । राणाकालदेखिकै यो विवाद अझै कायम छ । मुद्दा कहिले हेर्न नभ्याइनेमा त कहिले हेर्न नमिल्नेमा राखेर लम्ब्याइएको छ । यो मुद्दा हालसम्म तीन दर्जनपटक पेसी चढिसकेको छ । कहिले हेर्न नभ्याइनेमा त कहिले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ । पक्ष र विपक्षबाट विभिन्न कारणले कैयौँपटक स्थगित पनि भएको छ । अन्य पेसीमा भने कारण देखाऊ आदेश, मिसिल साथै राख्नेजस्ता आदेश भएका छन् । तर, किनारा लागिसकेको भने छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।