NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मन्त्रीबाट फिर्ता भएपछि रेणु यादवले त्यागिन् जसपा

काठमाडौं । जनता समाजवादी पार्टीकी नेता रेणुकुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । केही समयअघि मात्रै भौतिक पूर्वाधार मन्त्रीबाट फिर्ता बोलाउँदै अर्कै नेतालाई मन्त्री बनाएपछि यावदले पार्टी नै परित्याग गरेकी हुन् ।

अध्यक्ष उपेन्द्र यादव निकट र विश्वासिलो रहेको भन्दै अरु दुईसँगै रेनुलाई पनि फिर्ता बोलाइएको थियो । तर अध्यक्ष यादवसमक्ष पत्र लेख्दै उनले पार्टीबाटै अलग भएको घोषणा गरेकी छिन् ।

व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा बसेर काम गर्न नसक्ने भन्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । यद्यपी पार्टी परित्याग गर्नुमा आफ्नो कुनै असन्तुष्टि उनले व्यक्ति गरेकी छैनन् ।

अध्यक्ष यादवले विश्वासपात्र रेणुलाई मन्त्रीबाट फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने र डा. बाबुराम भट्टराईको पक्षमा लाग्नबाट रोक्ने नीति लिएका थिए ।

उनी केन्द्रीय कार्यकारणी सदस्य एवं केन्द्रीय सदस्य हुन् ।

यस्तो छ उनको पार्टी परित्यागको पत्र

मितिः २०७९ असार ३०
आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी (जसपा) नेपाल

विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा

म रेणुकुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थितिमा विभिन्न बाधा–अवरोध, उतारचढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारी र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ ।

विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पड्यन्त्रका सिकार भइरहँदा पनि आफू विचलित नभई सदैव मधेस र मधेसी जनतालगायत सम्पूर्ण उपेक्षित वर्ग र समुदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ ।

यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रही काम गर्ने सुनौलो अवसर पाएँ । पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रही इमान्दारी, निष्ठापूर्वक पूर्ण जिम्मेवार भई आफ्नो पदीय जिम्मेवारीलाई पूरा गर्न भरपूर प्रयास गरेको छु । मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समीक्षा पार्टीले पछि आवश्य नै गर्नेछ ।

यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाएँ ।

यद्यपि वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी ९जसपा० नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।

पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र आभारी रहनेछु । साथै मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु ।
धन्यवाद ।

रेणु कुमारी यादव
केन्द्रीय कार्यकारणी सदस्य एवं
केन्द्रीय सदस्य