NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

के–के निर्णय गर्‍याे कांग्रेस केन्द्रीय समितिले ?

काठमाडौं । कांग्रेसले स्थानीय तहको निर्वाचनको उपलब्धीलाई बचाउँदै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

२७ असारदेखि बसेको केन्द्रीय समितिको बैठकले अहिलेकै सत्तारुढ दलसँग चुनावी तालमेल गरी कांग्रेसलाई केन्द्रीय राजनीतिमा थप बलियो बनाएर जाने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।

‘हामीले १२ देखि १४ वटासम्मका बुँदामा पार्टीको निर्णय गरेका छौं । जसमा स्थानीय तहको निर्वाचनको उपलब्धीलाई बचाउँदै अहिलेकै सत्तारुढ दलबीच चुनावी तालमेल गरेर जाने भन्ने भएको छ’ डिनाले नेपालवाचसँग भनिन्, ‘यसरी तालमेल गर्दा आन्तरिक समझदारी कायम गर्ने, संवादमार्फत टुंग्याउने भन्ने भएको छ ।’ चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलाई थप बलियो बनाउन सक्ने व्याख्या कांग्रेसले निर्णयमा गरेको छ ।

सत्तारुढ दलमा कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा छन् । यिनै दल मिलेर जाँदा स्थानीय तहको निर्वाचनमा उल्लेख्य सफलता हात पारेका थिए ।

बने विभिन्न समिति

कांग्रेस बैठकले सदस्यता व्यवस्थापनका लागि महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरेको छ ।
त्यस्तै आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति र श्याम घिमिरेको नेतृत्वमा लेखा समिति गठन गरेको छ । यस अघि पनि यी दुई समितिको नेतृत्व ढुंगाना र घिमिरेले नै गरेका थिए ।

साउनभित्रै भ्रातृ संस्थालाई पूर्णता

समहामन्त्री डिनाका अनुसार बैठकले साउनभित्रै बाँकी भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको छ । अहिले संयोजकमात्रै तोकिएका समितिले पनि साउनभित्रै पूर्णता पाउनेछन् ।

सरकारलाई सुझाव

बैठकले महंगी अत्याधिक बढेको भन्दै नागरिकलाई राहत मिल्ने गरी कदम चाल्न पनि सुझाव दिएको छ । साथै

चुनावी अभियान चलाउने

बैठकले आगामी २ भदौदेखि २४ भदौसम्म चुनावी अभियान अगाडि बढाउने पनि निर्णय गरेको छ ।