NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नारायणकाजीका अनेक ‘नारायण रूप’ : वामपन्थी एकतादेखि राष्ट्रवादी कार्डसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय वामपन्थी एकताको राप निकै अलाप्न थालेका छन् । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जोडघटाउमा प्रमुख प्रतिपक्षी दल एमाले र सत्तागठबन्धनले आ–आफ्नै रणनीति बनाइरहेका बेला श्रेष्ठले वामपन्थीबीचको एकतालाई अपरिहार्य ठानेका छन् । आइतबार काठमाडौंमा भएको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालको कम्युनिष्ट र वामपन्थी आन्दोलन सिध्याउन कम्युनिष्टहरू नै लागेको आरोप लगाए ।

‘देशको राष्ट्रवादी शक्ति वामपन्थी नै हुन् । सम्पूर्ण राष्ट्रवादी वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा एकले अर्कालाई सिध्याउन र रमिता हेर्न लागेका छन्’, उनले भने, ‘मुलुकको अहिलेको अवस्थालाई मनन गरी गम्भीर समीक्षा गर्नु अवाश्यक छ । सकेसम्म वामपन्थी एकता गरौं । तत्काल त्यसो गर्न नसकिए आगामी निर्वाचनसम्म चुनावी तालमेल गरेर जाऔं ।’

‘उनी पहिलेदेखि नै अवसरको सदुपयोग गर्न सिपालु नेता हुन्’, एक नेताले भने, ‘राष्ट्रिय राजनीतिमा माओवादी कमजोर हुँदैछ भन्ने उनलाई लागेको हुनसक्छ । उनले आफूलाई राष्ट्रवादी देखाउन राष्ट्रियताको मुद्दा उठाएका हुन् ।’

श्रेष्ठले वामपन्थीहरूबीच एकता नभए राष्ट्रियता नै धरापमा पर्नसक्ने चेतावनी दिए । वामपन्थी एकताको पक्षमा देखिएको श्रेष्ठको पछिल्लो अभिव्यक्ति आगामी निर्वाचनमा आफ्नो सिट सुरक्षित गर्ने हिसाबले आएको हुनसक्ने एमाले–माओवादी भित्रकै नेताहरूको बुझाइ छ ।
सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ । निर्वाचनलाई लिएर सत्तागठबन्धन दलहरूबीच नै मतैक्यता छैन । संघीय निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नीतिगत सहमति भएको छ । तर अहिलेसम्म कुन मोडालिटीमा चुनावी तालमेल गर्ने भन्नेमा स्पष्ट खाका बनिसकेको छैन । विपक्षी एमालेपनि अहिलेसम्म पर्ख र हेरको रणनीतिमा रहेको छ । सत्ता गठबन्धन रहेसम्म आगामी निर्वाचन एमालेका लागि आत्मघाती देखेको उसले जसरीपनि गठबन्धन भत्काउन चाहिरहेको छ । चुनावी गठबन्धनको लागि उसले भरपर्दो शक्तिको खोजी गरिरहेको छ ।

लोकप्रिय बन्न राष्ट्रवादी कार्ड

सत्ता गठबन्धनकै माओवादी र एकीकृत समाजवादीका केही नेताहरूले एमालेसँग चुनावी तालमेल गर्न नेतृत्वलाई दबाब बढाएका छन् । तर अहिलेकै अवस्थामा वामपन्थीबीच तालमेल सम्भव नभएको एमाले, माओवादी र नेकपा एसका नेताहरूले स्वीकार गरेका छन् । यद्यपि यी तीनै दलका दोस्रो तहका नेताहरू आगामी निर्वाचनसम्म चुनावी तालमेलको विषयमा सक्रिय रहने देखाएका छन् । ती मध्येका एक हुन् श्रेष्ठ । गत फागुनमा एमसिसी संसदबाट अनुमोदन भएपछि अध्यक्ष प्रचण्डसँग असन्तुष्ट रहेका उनी पछिल्लो समय एमालेसँग नजिकिएका छन् । यसै विषयलाई लिएर पार्टी छोड्नेसम्मको धम्की दिएका श्रेष्ठले जेठ ३० मा पार्टीलाई नै जानकारी नदिइ ओलीसँग २ घण्टा गोप्य भेटवार्ता गरेका थिए । ओली र श्रेष्ठबीचको भेटवार्तालाई लिएर पार्टीभित्रै उनको निकै आलोचना भएको थियो । प्रचण्ड निकट एक नेताले त अध्यक्षको शेखी झार्न ओलीसँग कुम जोड्न गएको आरोप लगाए ।

‘उहाँ पहिलेदेखि नै अवसरको सदुपयोग गर्न सिपालु नेता हुन्’, एक नेताले भने, ‘राष्ट्रिय राजनीतिमा माओवादी कमजोर हुँदैछ भन्ने उनलाई लागेको हुनसक्छ । उनले आफूलाई राष्ट्रवादी देखाउन राष्ट्रियताको मुद्दा उठाएको हुन् ।’

पछिल्लो समय श्रेष्ठको गतिविधिलाई लिएर अध्यक्ष प्रचण्ड नै सशंक्तित छन् । केही समय अघि प्रचण्ड भारत भ्रमणमा गएको बेला श्रेष्ठ सक्रियतापूर्वक वाम दलबीच गठबन्धनको प्रयासबारे छलफलमा जुटेका थिए । विशेष गरी संसदबाट एमसिसी अनुमोदन भएपछि श्रेष्ठले यसलाई राष्ट्रिय एजेण्डा नै बनाएका छन् । जसलाई प्रचण्डले मन पराएका छैनन् । २०६८ मा श्रेष्ठले बाबुराम र वैद्यसँग मिलेर प्रचण्डलाई अल्पमतमा पारेका थिए, जुन धोवीघाट भेलाको रुपमा चर्चित छ । अहिलेपनि एमसिसीलाई हतियार बनाएर जनमत आफूतिर आकर्षित गर्न सकिन्छ भन्ने भ्रम नारायणकाजीमा रहेको प्रचण्ड पक्षको बुझाइ छ ।

‘उहाँलाई बाहिर गएपछि जनता सबै मतिर केन्द्रित हुन्छ भन्ने लाग्यो होला । नारायणकाजीले त्यसो नगर्नु राम्रो हुन्थ्यो । अझै पनि केन्द्रीय कमिटीमा आफ्नो विचार राख्नोस भनेको हो’, एमसिसी अनुमोदनपछि श्रेष्ठबारे प्रचण्डले टिप्पणी गरेका थिए, ‘एमसिसीको विरोध गर्नेबित्तिकै सबै जनता ह्वारै आउने भए, विचरा हाम्रा प्रेम सुवाल (नारायणकाजीलाई व्यंग्य गर्दै) सबै गद्दार भनेका छन् । मुर्दावाद भन्नुभएको छ । जनता पूरै उतै जानुपर्ने, त्यस्तो हुँदैन ।’

राष्ट्रियताको मुद्दा देखाएर उनले पार्टीमा पटक–पटक राखेका फरक मतलाई कतिपयले राजनीति ‘स्टन्ट’ देखाएर चर्चामा आउने दाउ भनेरसमेत आलोचना गर्छन् । पार्टी भित्रै पनि जनयुद्धको ब्याज खान आएको भनेर श्रेष्ठ आलोचित हुने गरेका छन् । तर पनि उनी सार्वजनिक खपतका लागि महत्वपूर्ण सन्दर्भमा फरक मत राख्न खोजेको जस्तो गर्छन् । तर अडानमा अडिग हुँदैनन् । अर्धभूमिगत अवस्थामा पनि श्रेष्ठ विलासी गाडी चढ्थे । तर पछिल्लो वर्ष उनी सार्वजनिक सवारीको प्रयोग गर्छु भन्दै स्टन्टमा रमाए । तर उनको यो प्रयास सत्प्रयास भन्दा स्टन्टको रुपमा परिचित भइदियो ।

नेकपाको प्रवक्ता रहँदा श्रेष्ठलाई ओली पक्षले प्रचण्ड–माधवको प्रवक्ता भएको आरोप लगाउने गर्थे । तर ओलीपक्षबाटै आरोपित गर्ने गरिएका उनै श्रेष्ठ वाम एकताभन्दै ओली निवास धाइरहेका छन् । जसले उनी कति विरोधाभासमा छन् भन्ने प्रष्ट्याउँछ ।

नेकपा विघटनपछि एमाले अध्यक्ष केपी ओलीले श्रेष्ठमाथि गरेको टिप्पणी निकै रोचक र व्याङ्यात्मक देखिन्छ । हुन त गतहप्ता राजधानीमा भएको एक कार्यक्रममा सँगै वक्ता रहेका ओली र श्रेष्ठबीच जुहारी नै चलेको थियो । श्रेष्ठले वामपन्थी शक्तिबीच एकता नभए कम्युनिष्ट आन्दोलन नै समाम्त हुने चेतावनी दिएका थिए । तत्काल एकता सम्भव नभए वामपन्थी शक्तिबीच चुनावी तालमेल गर्न ओलीसँग प्रस्ताव राखे । तर ओलीले श्रेष्ठको प्रस्ताव अस्वीकार गर्दै पहिला गठबन्धन त्यागेर आउन श्रेष्ठलाई चुनौती दिए ।

श्रेष्ठबारे एकवर्ष अघि ओलीले गरेको टिप्पणी निकै चर्चामा आएको थियो । ओलीले जनयुद्ध लडेको प्रचण्ड खुल्ला भइसक्दासमेत नारायणकाजी भन्ने मान्छे पर्दामुनिबाट हात मिलाउन नछोडेको भन्दै श्रेष्ठमाथि तिखो प्रहार गरेका थिए ।

‘जनयुद्धको नेतृत्व गरेका हौं भन्ने प्रचण्ड खुला भइसक्दा पनि नाराकाजी भन्ने मान्छे अन्तर्वार्ता दिँदा कति डराएका होलान् । प्रचण्ड खुला भइसके, त्यसको कमाण्डर रामबहादुर थापा खुला भइसके । पर्दा पछाडिबाट यसो घुसारेर हात मिलाउने मान्छे उतै छ’, ओलीले काठमाडौंको एक कार्यक्रममा श्रेष्ठको आलोचना गर्दै भनेका थिए, ‘टेलिभिजन अन्तर्वार्ता दिँदा पर्दा टाँगेर अन्तर्वार्ता दिने गर्थे । गोलीका पर्रा छुटिरहेका बेला जनाता सडकमा थिए । भूमिगत हिँडेर यत्रो परिवर्तन ल्याए । ज्यान जोखिममा राखेर परिवर्तन ल्याए । परिवर्तन ल्याइसकेपछि लोकतन्त्र आइसकेपछि पनि एउटा मान्छे पर्दाभित्रबाट हात मिलाउँछ । पर्दाभित्रबाट अन्तर्वार्ता दिन्छ । उसको नेतृत्वमा अन्दोलन कठैबर ।’

श्रेष्ठसँग असमहति राख्नेहरू श्रेष्ठलाई सर्प देख्दा दुलाबाहिर हात, सर्प नदेख्दा दुलाभित्र हात प्रवृत्तिको नेताको रुपमा टिप्पणी गर्छन् । माओवादी युद्धमा होमिनुअघि प्रचण्ड–बाबुरामसँग असहमति राखेर श्रेष्ठ पार्टीबाट अलग भएका थिए । तर माओवादी शान्ति प्रक्रियामा आएसँगै एकताको हात अगाडि बढाए । त्यसयता माओवादीमा रहेर विभिन्न लाभको पद धारण गरिसकेका छन् । उनी देउवा नेतृत्वको सरकारमा सहभागी हुन नपाएपछि प्रचण्डसँग असन्तुष्ट छन् । श्रेष्ठलाई मनाउन स्थानीय तह निर्वाचन अघि उनकै निवास हात्तीवन पुगेका थिए । पार्टीभित्र श्रेष्ठलाई व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको छ । श्रेष्ठले एमसिसीलाई हतियार बनाएर आफ्ना समूहलाई व्यवस्थापन गर्न बार्गोनिङ गरिरहेको आरोप लाग्ने गरेको छ ।

नेकपा र माओवादीभित्र अन्तरविरोध चर्किनुमा श्रेष्ठकै भूमिका अहम् रहेको माओवादी र एमालेका नेताहरूले आरोप लगाएका छन् । पार्टीभित्र श्रेष्ठ मिलाउनुभन्दा पनि आपसमा विभाजनको रेखा कोर्ने नेताको रुपमा आरोपित छन् । तर बाहिर राष्ट्रियताको एजेण्डा उठाएर आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याउन खोज्छन् । नेकपाको प्रवक्ता रहँदा श्रेष्ठलाई ओली पक्षले प्रचण्ड–माधवको प्रवक्ता भएको आरोप लगाउने गर्थे । तर ओलीपक्षबाटै आरोपित गर्ने गरिएका उनै श्रेष्ठ वाम एकताभन्दै ओली निवास धाइरहेका छन् । जसले उनी कति विरोधाभासमा छन् भन्ने प्रष्ट्याउँछ ।

काे हुन् श्रेष्ठ ?

गोरखाको सिरानचोक गाउँपालिका–८, जौबारीमा वि.सं २०१६ सालमा जन्मेका श्रेष्ठले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । काठमाडौंको सिद्धार्थ बनस्थलीमा केही समय गणितका शिक्षकसमेत रहेका थिए ।

श्रेष्ठले २०३३ सालमा कांग्रेसको विद्यार्थीबाट राजनीति सुरु गरेका थिए । ०३३ सालमा वीपी राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएपछि उनी कम्युनिष्ट पार्टीतर्फ आकर्षित भएका थिए । २०४३ सालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम) को केन्द्रीय सदस्य बने । २०४८ सालमा प्रचण्डहरूसँगको एकतापछि बनेको नेकपा (एकताकेन्द्र) मा श्रेष्ठ पोलिटब्यूरो सदस्य रहेका थिए ।

जनयुद्धमा जाने विषयमा मतभेद उत्पन्न भएपछि २०५१ सालमा एकताकेन्द्र फुट्यो । प्रचण्ड–बाबुरामले नेकपा (माओवादी) गठन गरे भने श्रेष्ठचाहिँ प्रचण्ड समूहमा नलागी एकताकेन्द्रमै रहे । माओवादी सशस्त्र युद्ध अवधिभर अर्ध भूमिगत रहेका श्रेष्ठ २०६५ सालमा सार्वजनिक भएका थिए । भूमिगत हुँदा उनी प्रकाश उपनामले चिनिन्थे । यसबीचमा श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्र र मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबीच पार्टी एकता भएको थियो । त्यो एकता लामो समय टिक्न सकेन । पुनः विभाजन भयो ।

२०७४ मा यस्तो छ, श्रेष्ठको चुनावी परिणाम

सशस्त्र विद्रोह त्यागेर माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ साल पुसमा माओवादी र नेकपा (एकता केन्द्र)बीच पार्टी एकता भयो । उनी एकीकृत माओवादीका उपाध्यक्ष भए । पार्टी एकतापछि प्रचण्डकै हाउभाउको नक्कल गर्दै उनी कार्यक्रमहरूमा प्रस्तुत हुन्थे ।

ड्रेसकोड, कुम हल्लाउने र भाषण गर्ने शैली प्रचण्डकै नक्कल गर्नमा श्रेष्ठ माहिर थिए । ०६४ र ०७० को निर्वाचन नलडी श्रेष्ठले मनोनित र समानुपातिक सांसद खाए । माओवादीबाट उपप्रधानमन्त्रीसम्म भएका उनी अघिल्लो निर्वाचनमा गोरखा–२ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए । भट्टराईले ३१ हजार ८०७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ २४ हजार ९३३ मत ल्याइ पराजित भएका थिए । मतान्तर ६ हजार ८७४ रहेको थियो । सत्ता गठबन्धन बनेपछिको सहज अवस्थामा उनी गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।