NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राजकुमार चार्ल्सले बिन लादेनबाट अनुदान लिएको खुलासा

काठमाडौं (एजेन्सी) । बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदान लिएको खुलासा भएको छ । द सन्डे टाइम्स पत्रिकाले यसको खुलासा गरेको हो । अनुदानको विषय सार्वजनिकपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् ।

‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो । यसले बेलायत र विश्वभरका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ ।

‘द सन्डे टाइम्स’ का अनुसार, प्रिन्स अफ वेल्सको परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी दुवै सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका पूर्व अल–काइदा नेता लादेनका सौतेनी भाइहरू हुन् ।

रिपोर्टमा भनिएको छ, ‘संस्थाका सल्लाहकारले राजगद्दीका उत्तराधिकारीलाई उक्त अनुदान नलिन आग्रह गरेका थिए।’

चार्ल्सको क्लारेन्स हाउस अफिसले अनुदान लिइएको पुष्टि गरेको छ । ‘उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमारले नभई परोपकारी संस्थाका जिम्मेवार अधिकारीहरूले लिएको र ‘यो अनुदान स्वीकार गर्न विस्तृत तथा आवश्यक सावधानी अपनाइएको थियो’ पत्रिकाले लेखेको छ ।

उक्त अनुदान संस्थाका तत्कालीन पाँच उच्च अधिकारीहरूको ‘पूर्णतया’ सहमतिमा लिइएको भन्दै यसबारे अन्य सुझाव दिने कुनै पनि प्रयास भ्रामक र गलत भएको कोषका अध्यक्ष इयान चेशायरले बताए ।

७३ वर्षीय चार्ल्सले आफ्नो परोपकारी संस्थाको परिचालनबारे एकपछि अर्को दाबीहरूको सामना गर्नुपरेको छ । गत महिना सन्डे टाइम्सको एक रिपोर्टमा उनले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेका उल्लेख गरिएको थियो ।

लण्डन प्रहरीले हाल राजकुमारको अर्को परोपकारी संस्था, प्रिन्स फाउन्डेशनसँग सम्बन्धित मानिसहरूले अनुदानको बदलामा एक साउदी अर्बपतिलाई सम्मान र नागरिकता सुरक्षित गर्न मदत गर्ने प्रस्ताव राखेको एउटा छुट्टै आरोपबारे अनुसन्धान गरिरहेको छ ।

क्लारेन्स हाउसले चाल्र्सलाई त्यस्तो प्रस्तावबारे केही थाहा नभएको बताएको छ ।