NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अमेरिकी ड्रोन हमलामा अलकायदा प्रमुखको मृत्यु

काठमाडौं (एजेन्सी) । अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन हमलामा परी अलकायदाका नेता आयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जवाहिरीको ड्रोन आक्रमणमा परी मृत्यु भएको पुष्टि गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको थियो । यही अपरेसन दौरान अल जवाहिरीको मृत्यु भएको हो ।

अधिकारीहरूका अनुसार ड्रोन हमलाको सिकार हुनुपूर्व जवाहिरी सुरक्षित घरको बालकनीमा थिए । त्यहाँ ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो।

जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहेको तर कसैलाई चोटपटक नलागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

बिन लादेन र जवाहिरीले नै अमेरिकामा मे ९ र ११ मा आक्रमणको योजना बनाएका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो ।

बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन्।’

राष्ट्रपति बाइडनले ७१ वर्षीय अलकायदा नेताविरुद्ध निर्णायक हमलालाई स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए ।

तालिबानले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय नियम र सिद्धान्तको स्पष्ट उल्लङ्घन भनेको छ।