NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

३८ जनालाई ठगी गर्ने मेनपावरविरुद्ध झण्डै दुई करोड ८० लाख बिगो मागदाबीसहित मुद्दा दायर

काठमाडौं । आकर्षक तलव–सुविधासहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेरिगोल्ड ओभरसिज प्रालि नामक मेनपावरका सञ्चालकसहित सातजनाविरुद्ध बबरमहलस्थित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता भएको छ ।

मेरिगोल्डका सञ्चालकहरू रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला, यामबहादुर र कर्मचारी अमीर थुलुङलगायत सातजनाविरुद्ध दुई करोड ७९ लाख २२ हजार ८०० बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको मंगलबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागले जनाएको छ ।

उनीहरूले युक्रेनलगायतका देश लैजाने भनी राजेन्द्र डोटेलसहित ३८ जनालाई ठगी गरेका थिए ।

उनीहरूले आकर्षक तलब सुविधाको आश्वासन दिनेभन्दै ठगी गरेका हुन् । वैदेशिक रोजगार ऐन अनुसार उनीहरूले ठगी गरेको पुष्टि भएकोले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसैले क्षतिपूर्ति बापतको ९३ लाख सात हजार ६ सयसमेत गरी दुई करोड ७९ लाख २२ हजार ८ सय रुपैयाँ प्रतिवादीहरूबाट पीडितलाई दिलाउन माग दाबी गर्दै मंगलबार न्याधिकरणमा मुद्दा दायर भएको हो ।

यसरी ठगीमा पर्नेमा राजेन्द्र डोटेलसहितका ३८ जना छन् । उनीहरूलाई कसैलाई पनि वैदेशिक रोजगारीमा नपठाई मेनपावरले ठगी गरेको हो ।

हेरौं विज्ञप्ति :

No description available.