NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मरासिनी पोखराबाटै बिदामा, अर्थसचिवमा पुष्कर, राजस्वमा रेग्मी र दंगलबीच प्रतिस्पर्धा

काठमाडौं । बजेटमा करको दर हेरफेर गराएको प्रकरणमा छानविन समितिले निर्दोष ठहर गरेसँगै जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भइसकेका छन् । शर्मा पुनः मन्त्री नियुक्त हुँदा पोखरा पुगेका अर्थसचिव मधुकुमार मरासिनी अब अर्थमन्त्रालय नफर्किने भएका छन् । यसअघि उनी शर्मा मन्त्रालयमा रहुञ्जेल काम नगर्ने भन्दै अनिश्चितकालिन बिदामा गएका थिए ।

मन्त्रालय स्राेतकाअनुसार शर्माको शपथ ग्रहणको समयमा पोखरामा रहेका मरासिनी त्यहाँबाट सिधै बिदामा बसेका छन् । मन्त्रालय नफर्किनेगरि उनले सिधै प्रधानमन्त्री कार्यालयमा सरुवा हुन चाहेका छन् ।  स्रोतकाअनुसार आउँदो मन्त्रिपरिषद्को बैठकमा मरासिनीलाई प्रधानमन्त्री कार्यालय पठाउने र अर्थ सचिवको रुपमा कृष्णहरि पुष्करलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी छ ।

त्यस्तै राजस्व सचिवमा रामेश्वर दंगल र दामोदर रेग्मीमध्ये एकजनालाई नियुक्त गर्ने तयारी रहेको स्रोतले बतायो । सचिव रेग्मी हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् भने दंगल सुदुर पश्चिम प्रदेशमा प्रमुख सचिव छन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर अर्थमन्त्री शर्मालाई करको दर हेरफेर गराएको आरोप थियो । यो आरोपको चौतर्फी विरोध भएसँगै शर्माले गत २२ असारमा राजीनामा दिएका थिए ।

शर्माको राजीनामासँगै सोही दिन ११ सदस्यीय छानविन समिति गठन भएको थियो । समितिले उनीमाथि लागेको यो आरोेप पुष्टि गर्न नसकेपछि माओवादी केन्द्रले शर्मालाई नै पुनः नियुक्ति दिलाउने निर्णय गरेको हो ।

मन्त्रालयमा शर्माको ‘कमब्याक’ हुनु अगावै पोखरा पुगेका मरासिनी हालसम्म मन्त्रालय पुगेका छैनन् । अर्थमन्त्रीका रुपमा शर्माले सोमबार पुनः पदभार ग्रहण गर्दा उनलाई मन्त्रालयमा राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए ।