NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चुनावका लागि दल दर्ता आह्वान, गठबन्धन दलले एउटै चिह्नबाट लड्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता गर्न आह्वान गरेको हो ।

आइतबारदेखि दल दर्ता गर्न आह्वान गरिएको आयोगले शुक्रबार एक सूचना जारी गर्दै जनाएको छ ।

यसअघि आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगमा हालसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् ।

यस्तै, आयोगले दुई वा त्योभन्दा बढी दलले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा सोभन्दा बढी दल एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरेको छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरूले आफूहरूको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।

यसले पाँचदलीय सत्ता गठबन्धन र साना दललाई फाइदा पुग्ने देखिन्छ ।