NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मिटरब्याजीले उठीबास लगाएका नागरिकका पीडा सिंहदरबारले पनि सुनेन

नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश बानियाँ र उनको परिवारले उठीबास लगाएपछि पीडितहरू गत २९ जेठमा काठमाडौं आए । माइतीघर मण्डलामा धर्ना बसे । गृह मन्त्रालय र पीडितबीच वार्ता भयो । दुई पक्षबीच ‘पीडितलाई न्याय दिलाउने, दोषीलाई कारबाही गर्ने’ सम्झौता पनि भयो । पीडितहरू न्याय मिल्ने आसमा घर फर्किए । तर, समस्याको गाँठो फुक्न सकेन ।

गृहसँग सहमति भएको महिना दिनपछि पुनः धर्नाका लागि काठमाडौं आएका पीडित प्रतापपुर– २ का रामशरण गुप्ताले भने, ‘साहुकार जगदीशले गाउँ नै उठिबास लगाएपछि हामी महिना दिनअघि माइतीघर मण्डलामा आएर धर्ना दियौँ । १४ दिनपछि गृहसँग सम्झौता भयो । समस्या सधैँका लागि समाधान हुने आसले फुरुंग भयौँ । घर फर्कियौँ । तर, समस्या समाधान भएन । हामीलाई त सरकारले नै झुक्यानमा पारेझैँ लागिरहेको छ ।’ उनीहरूको दोस्रो चरणको धर्ना १० दिनदेखि चलिरहेको छ ।

रामशरणका अनुसार गृहसँगको सम्झौतापछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजी जगदीश र उनका भाइ सुरेश बानियाँलाई पक्राउ गर्‍यो । हिरासतमा राख्यो । जगदीश र उनको परिवारबाट शोषणमा परेका पीडित क्रमशः जिप्रका आउँदै थिए । तर, प्रहरीले जगदीश र सुरेशलाई २१ दिनमा हिरासतमुक्त गरिदियो ।

माइतीघर मण्डलामा धर्नारत गुप्ताले भने, ‘गाउँमा जगदीश परिवारबाट मात्रै पीडित पाँच सयभन्दा धेरै छन् । कागजात लिएर पीडित प्रहरी कार्यालय आउँदै थिए । तर, प्रहरीले सबै पीडितको समस्या हेर्दै नहेरी जगदीश दाजुभाइलाई छाडिदियो । जिल्लाबाट समस्या समाधान हुने नदेखेपछि पुनः काठमाडौं आउन बाध्य भयौँ ।’

१३ असारको वार्तामा गृहका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेल सहभागी थिए । दुई पक्षबीच दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति भएको थियो । तर, पीडित जब प्रतापपुर पुगे, सहमति कार्यान्वयन हुन सकेन । पीडितको आन्दोलनमा सहभागी हुँदै आएका नृगराज नवीनले भने, ‘गृहसँग सहमति भयो । पीडितको आँखामा छारो हाल्न दुईजनालाई पक्राउ पनि गरियो । हतार–हतार केही तमसुक च्यातियो पनि । तर, गहिरो ढंगले अनुसन्धान भएन । अन्य साहुकार पक्राउ गर्नतिर पनि प्रहरीले चासो देखाएन । त्यसैले पीडित पुनः धर्ना दिन काठमाडौं आउनुपरेको हो ।’

तर, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सहमतिअनुसार साहुकारलाई पक्राउ गरिएको र २० वटा तमसुक पनि च्यातिएको बताए । उनले भने, ‘गृहसँगको सम्झौताअनुुसार नै हामीले दुई साहुकारलाई पक्राउ गर्‍यौँ । २१ दिन थुन्यौँ । २५ जना पीडित हामीकहाँ आएका थिए । २० वटा तमसुक च्यात्यौँ । त्यसपछि छाडेका हौँ ।’

यता गृह सहप्रवक्ता वसन्त भट्टराई भने साहुकारपीडितसँग गृहले कुनै लिखित सम्झौता नगरेको, तर समस्याप्रति जानकार रहेको बताए । उनका अनुसार साहुकारसँगको लेनदेनबारे पीडितसँग प्रमाणका लागि आवश्यक कागजात नभएको हुँदा समस्या समाधान गर्न गाह्रो छ । ‘साहुकारपीडितबारे गृह जानकार छ । केही हप्ताअघि गृहमा केही पीडित आएका थिए । वार्ता पनि भएको हो । समस्या समाधान गर्ने भनेका हौँ । तर, लिखित सम्झौता गरिएजस्तो लाग्दैन । यद्यपि, पीडित पीडित नै हुन् । समस्या समाधान गर्न गृह तत्पर छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।