NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काभ्रेमा गोकुल बाँस्कोटालाई चुनाव जित्न कति कठिन छ ?

काठमाडाैं । गोकुल बाँस्कोटा एमालेमा मात्र होइन बाहिर पनि उत्तिकै चर्चित नाम हुन् । उनी एमाले अध्यक्ष केपी ओलकिा विश्वासपात्र नेता पनि हुन् । यही विश्वासले केन्द्रीय राजनीतिमा पाइला टेकेलगत्तै बाँस्कोटालाई ओलीले उनलाई राज्यमन्त्री बनाए । केही सयममै संचारमन्त्री र सरकारको प्रवक्तामा बढुवा गरेपछि बाँस्कोटाको चर्चा झन् चुलियो । छोटो समयमा पहुँचयुक्त राजनीतिमा फड्को मारेका उनी खरो र तीखो टिप्पणी गर्ने स्वभावका कारण छिट्टै चर्चामो शिखरमा चढे ।

नेता बाँस्कोटा २०७० सालको संविधानसभामा काभ्रेबाट पराजित भएका थिए । तर उनले हार खाएनन् २०७४ को चुनावमा माओवादीसँग तालमेल गरेर चुनाव लड्दा सानदार जित दर्ता गरे । काभ्रे २ बाट लडेका बाँस्कोटाले १८७५३ मतले कांग्रेसका मधु आचार्यलाई पराजित गरे । बाँस्कोटाले ५५५२६ र आचार्यले ३६७५३ मत ल्याएका थिए ।

२०७४ समानुपातिकका कुन दललाई कति मत ?

२०७४ मा एमालेले प्रत्यक्षमा जित्दा समानुपातिकमा ४३०५० मत ल्याएको थियो । कांग्रेसले ३२३९० मत प्राप्त गरेको थियो । माओवादीले ११२५४ मत ल्याएको थियो । तर पहिले एमालेसँग रहेको माओवादी कांग्रेससँग गठबन्धनमा छ । मिलेर चुनाव लड्नका लागि टिकटमा छलफल भइरहेको छ । अहिले गठबन्धन भएर अनुसार मतको मूल्यांकन गर्दा काभ्रे २ मा एमाले ५९४ मतले पछाडि देखिन्छ ।

स्थानीय तहमा एमालेलाई फेरि धक्का

काभ्रे २ यसपटकको स्थानीय तहमा एमालेले धक्का खाएको छ । यस अघि जितेका पनौती, बनेपा, मण्डन देउपुरजस्ता महत्वपूर्ण इलाका एमालेले गुमाउन पुग्यो । यी पालिकाका केही वडाबाहेक प्रायः गोकुलकै क्षेत्रमा पर्छन् । आफ्नै गृहनगर देउपुरमा एमालेलाई गोकुलले जिताउन सकेनन् । नेकपा एसका नेता टोकबहादुर वाइबा निर्वाचित हुन पुगे । अघिल्लोपटक पनि एमालेबाटै उनी निर्वाचित भएका थिए ।
काभ्रे २ वडाध्यक्षतर्फ एमालेले ४५ हजार ५१४ मत ल्याएको छ । कांग्रेसले ४५४५६, नेकपा एसले ८६७६, माओवादीले ६३७० र राप्रपाले २३५४ मत ल्याएको छ । अहिलेको परिस्थिति अनुसार काभ्रे २ मा एमालेले एक्लै सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नपर्ने देखिएको छ । जहाँ गठबन्धनको मत ६० हजार ५०२ छ । तर एमाले १४९८८ मतले पछाडि परेको छ । राप्रपासँग एमाले मिले पनि गठबन्धनलाई पराजित गर्न सक्ने मत नआउने यो तथ्यांकले देखाउँछ ।

अब के होला ?

२०७४ सालमा माओवादीले साथ दिंदा गोकुलले शानदार जित दर्ता गरेका थिए । तर सोही चुनावको समानुपातिक मतबाट माओवादीलाई अहिलेको कांग्रेसको गठबन्धनमा राख्दा गोकुल त्यतिखेरैको मतको लेखाजोखामा थोरै मतले पछाडि पर्ने देखाउँछ । यसपटक वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदा यो क्षेत्रका सबै एमाले वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा एमाले झण्डै १५ हजार मतले पछि पर्न सक्ने देखिएको हो ।

गठबन्धनमा आवद्ध सबै दलले केही वडामा तालमेल पनि गरेका थिए । तर एमाले सबै ठाउँमा भिडेको थियो । यो एमालेको लगभग मिल्ने मत हो । बढेको मतदाताले थोरै अंक माथि पुर्याउन सक्छन् । यही मतको लेखाजोखा गर्दा गोकुल आफैं उम्मेदवार बन्दा जित्न कठिन हुने देखिन्छ ।

राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा गोकुल छिट्टै चढे । तर माथि धेरैसमय टिक्न सकेनन्, लामो समय नअडिंदा एक्कासी ढल्न पुगे । मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको बार्गेनिङ गरेको अडियो बाहिरियो । जसले उनलाई राजीनामासम्म पुर्यायो । त्यो बार्गेनिङको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन । तर ओली निकट भएर छोटो समयमा अत्याधिक शक्ति र सामथ्र्य प्राप्त गरेका गोकुललाई ठूलो राजनीतिक क्षति हुन पुग्यो । विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध बोल्ने ठाउँ दिएको छ । यही आरोपकाबीच बाँस्कोटा ४ मंसिरमा हुने चुनावमा सांसदमा उठ्दैछन् ।

यो क्षेत्रमा २०४८ र २०५१ मा एमालेले कब्जा जमाएको थियो । यी चुनावमा केशव बडाल विजयी भएका थिए । २०५६ मा कांग्रेसका शिव हुमागाईं विजयी भए । २०६४ को पहिलो संविधानसभामा एमालेका कृष्णप्रसाद सापकोटा यो क्षेत्रबाट जिते । कांग्रेसका कञ्चनचन्द्र बादेले २०७० सालमा गोकुललाई पराजित गरे । तर २०७४ मा गोकुलले कमब्याक गरेर मधु आचार्यलाई पराजित गरे ।

अब गोकुलसँग भिड्ने को ?

एमालेबाट गोकुल नै उम्मेदवार बन्ने पक्कापक्कीजस्तै भएको छ । तर कांग्रेसबाट को उम्मेदवार बन्छन् त्यसले पनि धेरै फरक पार्छ । काभ्रे २ मा यसपटक कांग्रेसबाट शिव हुमागाईं, मधु आचार्य र कञ्चनचन्द्र बादेले इच्छा देखाएका छन् । यी तीनमध्ये देउवासँग पनि विशेष सम्बन्ध भएको नाताले हुमागाईंले टिकट लाने सम्भावना बढी भएको बताइन्छ । यस अघि केशव बडाललाई हराएर चर्चामा आएका हुमागाईं भूगोलमा पनि उत्तिकै सक्रिय र परिचित छन् । पछिल्लो समयमा उनको केन्द्रीय राजनीतिमा पनि सभापति शेरबहादुर देउवासहित कृष्णप्रसाद सिटौलासँग गहिरो सम्बन्ध छ ।

यता प्रभावशाली मन्त्रालय चलाएर मात्रै होइन अध्यक्ष ओलीसँग विशेष सम्बन्ध बनाएका बाँस्कोटा पनि कमजोर उम्मेदवार भने होइनन् । आफू मन्त्री बन्दा अर्बौका योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेको दाबी उनको छ । यही आधारमा नै आफूलाई काभ्रेलीले जिताएर देखाउने जिकिर बाँस्कोटाको रहँदै आएको थियो । मन्त्री भएपछि गोकुलले सडक, खानेपानीसहितका पूर्वाधारमा अर्बौ बजेट आफ्नो निर्वाचन क्षेत्रमा खन्याएको पटकपटक दाबी गर्दै आएका छन् । तर पनि खरो, निर्मम र कटाक्ष गर्ने शैलीका कारण गोकुल आलोचित पनि हुने गरेका छन् ।

एमाले विभाजन हुनुको असर पनि उनलाई पर्ने देखिएको छ । माधव नेपालको नेकपा एकीकृत समाजवादीको धेरै बलियो प्रभाव यो क्षेत्रमा छैन । तर वसुन्धरा हुमागाईंसहितका एसका नेतालाई रुचाउने पनि धेरै छन् । जसले गोकुलको मत काट्नमा सहयोग पर्याउने बताइन्छ । नेता हुमागाईं प्रदेशमा मन्त्री छन् । यसैले यो पटकको निर्वाचन रोचक हुने अनुमान छ । यो क्षेत्रको जितहारमा प्रभाव पार्ने बनेपा नगरपालिकाको मेयरमा भने यसपटक कांग्रेसले बाजी मारेको छ । यसैले पनि एमालेलाई कांग्रेसले यो क्षेत्रमा गाह्रो पार्ने आकलन भएका छन् ।

यसपटक यो क्षेत्रबाट चलचित्रकर्मी मनोज पण्डितले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । मुख्यगरी उनको निशानामा गोकुल नै छन् । तर जित्ने गरी मत नल्याए मनोज उठ्दाको फाइदा अन्ततः गोकुलले नै पनि उठाउन सक्ने देखिन्छ । किनकी गोकुलविरुद्धको असन्तुष्ट मत कांग्रेसमा नआइ पण्डिततिर जाने सम्भावना पनि उत्तिकै छ । यसको उदाहरणको रुपमा स्थानीय तहको निर्वाचनमा भरतपुरलाई लिन सकिन्छ । कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलका कारण एमालेका देवी ज्ञवालीलाई असन्तुष्टको मत जाने बाटो बन्द भएको थियो ।