NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डेढ लाख ऋण, ८० लाख ब्याज

पश्चिम नवलपरासी — सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए तर माइतीघरमा दिनदिनै उभिएर बोल्दा पनि नजिकैको सिंहदरबारले सुनेको छैन, त्यसैले बसाइ लम्बिएको छ । उता चौथो दिनदेखि घरमा चुलो बाल्न श्रीमती मान्सालाई महाभारत भएको छ ।

नवलपरासीको रतनगन्जका ७७ जना अहिले माइतीघरमा छन् । मिटरब्याजी सुदखोरबाट पीडितहरू गाउँलेले कहिले न्याय पाउने हुन्, कहिले फर्किने हुन् ? स–साना बालबच्चा, वृद्धवृद्धालाई मेसो छैन । गरिखाने युवाको अभावमा रतनगन्जमा अहिले सन्नाटा छ ।

कान्तिपुर टिम बिहीबार हृदयशको घरमा पुग्दा कच्ची घरको भत्किएका भित्तो पुरानो सारीले छोपिएको थियो । ढोका होइन, बाँसका कप्टेराको बारजस्तो देखिन्थ्यो । श्रीमती मान्साको भान्सामा एक किलो जति चामल थियो ।

उनको घरको अवस्था पहिले यस्तो थिएन । खेत थियो, उब्जनीले वर्षभरि खान पुग्थ्यो । तर अहिले उनीहरू भूमिहीन भएका छन् । ओत लाग्ने छाप्रो पनि कति बेला छोड्नुपर्ने हो, पत्तो छैन । दिन कसरी बिग्रिए ? मान्साले कथा सुनाइन् ।

पति हृदयशले वैदेशिक रोजगारीका लागि कतार जान गाउँकै साहु सुनीलकुमार गुप्तासित आठ वर्षअघि एक लाख रुपैयाँ ऋण लिएका थिए । त्यसका निम्ति ११ कट्ठा जग्गा दृष्टिबन्धकमा राखे । कतारमा भनेजस्तो रोजगारी नपाएपछि उनी ८ महिनामै फर्किए । त्यतिबेलासम्म मिटरब्याजमा लिएको ऋणले आकाश छोइसकेको थियो । एक लाख लिएको हो भन्ने उनीहरूलाई थाहा छ, तर ब्याज कति भयो भन्ने थाहा छैन । मान्साका अनुसार उनीहरूले दृष्टिबन्धकमा राखेको जग्गा बेचेर तीन वर्षअघि २० लाख ३८ हजार रुपैयाँ बुझाए । तर पनि दुःख सकिएनन् । ‘त्यत्रो पैसा बुझाउँदा पनि ऋणमुक्त भएका छैनौं,’ मान्साले भनिन्, ‘अझै चार लाख मागिरहेका छन् ।’

‘ऋण’ उठाउन भन्दै काममा जोताउने, दुर्व्यवहार गर्ने र छाप्रो पनि छोड्न भनेर धम्की दिने क्रम बढेपछि हृदयश न्याय खोज्न संघीय राजधानी काठमाडौं हिँडका हुन् । साहुबाट सताइएका उनीजस्ता धेरै छन् । सुस्तामात्र होइन, प्रतापपुर, बर्दघाट, रामग्राम र सरावलका पीडितहरू माइतीघरमा छन् ।

मिटरब्याजीविरुद्ध संगठित भएका गाउँलेहरू जेठमा पहिलोपटक काठमाडौं पुगेका थिए । १५ दिनसम्म माइतीघरमा धर्ना बसेपछि समस्या समाधान गरिदिने भन्दै गृह मन्त्रालयले कागजी सम्झौता गरेपछि उनीहरू गाउँ फर्किए । तर असार ९ गते ४५ वर्षीय साहुकार सुनील र ५० वर्षीय जगदीश गुप्तालाई प्रहरीले पक्राउ गर्‍यो । २० दिन थुनामा बसेपछि प्रशासनले उनीहरूलाई आवश्यक परेको समयमा हाजिर हुने गरी छाडिदियो । पीडितहरू फेरि निराश भए ।

मान्साको परिवारसँग यति बेला जग्गा दृष्टिबन्धक राखिएका र ऋण लिएका कागजातको पोको, रकम चुक्ता भएको लेखिएका कागजका ६ चिर्कटा छन् जसले न्यायको मधुरो आशा दिएको छ । तर पहिले सम्झौता गर्ने गृह मन्त्रालयले सुनेको छैन, बरु हृदयश बिरामी परेको खबर आएको छ । ‘उता सुनुवाइ भएको छैन, चार/पाँच दिनदेखि ज्वरो आइरहेको छ । न्याय नपाएसम्म फर्किन्न भन्नुहुन्थ्यो,’ श्रीमती मान्साले भनिन्, ‘आफैं थलिनु भो । आजै साँझको गाडीमा फर्कन्छु भन्नुभएको छ ।’

यही टोलकी ६५ वर्षीया सुरसती मुसहरको ठूलो परिवारमा पनि गहिरो पीडा देखिन्छ । घरमा अहिले पति, चार छोरा–बुहारी र सात नातिनातिना छन् । सुरसतीका पति रामशुभक मिटरब्याजको चंगुलबाट छुटकारा पाइने आसमा काठमाडौं पुगेका छन् । ‘पहिले त साढे दुई बिघा जग्गा थियो,’ सुरसतीले भनिन्, ‘ऋण लिएदेखि सकिँदै गयो । अहिले बचेको घरबास पनि धितोमा छ । कतिखेर उठेर भाग्नुपर्ने हो, पत्तो छैन ।’

उनका अनुसार दुई छोराले वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि बाबु रामशुभकले जग्गा दृष्टिबन्धक राखेर साहु सुनीलकुमारसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । ‘दुवै छोराले कमाएर पठाउँथे, यता बुबाले सबै रकम निकालेर साहुलाई बुझाउनु हुन्थ्यो । तर कमाएर जति पठाए पनि साहुबाट छुटकारा नपाएपछि कान्छा छोरामा मानसिक समस्या देखियो । जसोतसो बाँचेर आएको छ,’ उनले भनिन् । जम्मा डेढ लाख ऋण लिए पनि दुई छोराले कमाएको सबै पैसा र २२ कट्ठा जग्गा बिक्री गरेर आएको रकम साहुलाई बुझाउँदा पनि ऋण चुक्ता नभएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।