NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भक्तपुरमा महेश बस्नेतलाई दीपशिखाले चुनौती दिने ! यस्तो छ हिसाबकिताब

काठमाडौं । सरकारले मंसिर ४ मा घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच गणितीय जोडघटाउ सुरू भएको छ । चुनावी सरगर्मी बढेसँगै राजनीतिक दलहरू उम्मेदवार छनोट गर्ने, सिट बाँडफाँट, घोषणापत्र तयार गर्नेदेखि चुनावी एजेण्डा बनाउनेमा व्यस्त छन् । योपटक गठबन्धन र एमालेबीच रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो पटक एमाले र माओवादीबीच वाम गठबन्धन बनाएर मैदानमा होमिएका थिए । अहिले माओवादी र कांग्रेससहित पाँचदलीय गठबन्धनले एमालेलाई चुनौती दिने भएका छन् ।

एमालेका लागि अघिल्लो विरासत कायमै राख्नु बाध्यता छ भने गठबन्धनका लागि एमालेको विरासत भत्काउनै पर्ने बाध्यता छ । योपटक स्वतन्त्रबाट उम्मेदवारी दिनेको उत्साहले बैग्लै चुनावी रौनकता छाएको छ । राजनीतिक दलहरूप्रति बढ्दो अविश्वासका कारण आगामी निर्वाचनमा शीर्ष नेताहरू नै जोखिममा पर्न सक्ने धेरैको अनुमान छ । परम्परागत राजनीतिक दलका प्रभावशाली युवा नेताहरूको चुनावी प्रतिस्पर्धा पनि योपटक निकै रोमाञ्चक हुने देखिन्छ ।

महेश बस्नेतलाई दीपशिखाको चुनौती

राजनीतिको केन्द्रविन्दूमा रहेको भक्तपुर २ मा आगामी प्रतिनिधिसभा निर्वाचनमा दुई वामपन्थी दल एमाले र माओवादीका युवा नेताबीच रोचक भिडन्त हुने देखिएको छ । पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत आगामी निर्वाचनमा भक्तपुर २ बाट नै दोहोरिन चाहेका छन् । बस्नेत २०७४ मा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । योपटक पनि बस्नेतले नै टिकट पाउने लागभग निश्चित छ ।

उनलाई योपटक माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले चुनौती दिन लागेका हुन् । उम्मेदवारी दिने विषयमा उनी अहिले आन्तरिक छलफलमा व्यस्त छन् । टिकट पाएको खण्डमा भक्तपुर २ बाट डेब्यू गर्ने तयारीमा उनी छन् । यस क्षेत्रबाट उठ्न केन्द्रीय सदस्य भीष्म प्रजापतिले पनि आकांक्षा देखाएका छन् । स्थानीयहरूको माग दीपशिखालाई ल्याउनुपर्ने उनी निकटस्थको दाबी छ । उनी आफैँले कुन क्षेत्रबाट उठ्ने भनेर घोषणा गरिसकेका छैनन् । तर योपटक आफ्नो दाबी नछोड्ने पक्षमा उनी रहेका छन् ।

बिहीबार दीपशिखाले सामाजिक सञ्जाल फेसबुकमा ‘योपटक डेब्यू हुन्छ । नत्र बुढो भइन्छ’ भन्ने स्टाटस लेखेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने सन्देश दिएका छन् ।

यद्यपि दीपशिखाको रोजाइ गृह जिल्ला सिन्धुपाल्चोक रहेको छ । तर त्यहाँ आकांक्षी धेरै भएकाले उनले टिकट पाउने सम्भावना छैन । सिन्धुपाल्चोक १ उनको निर्वाचन क्षेत्र हो । त्यहाँ सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटा २०६४ देखि निर्वाचित हुँदै आएका छन् ।

कांग्रेस प्रभावित क्षेत्र भएकाले गठबन्धन दलहरूबीच भागबण्डा गर्दा माओवादीको भागमा नपर्ने सम्भावना पनि उत्तिकै छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस विजयी भएको थियो । नेमकिपा दोस्रो र एमाले तेस्रो स्थानमा रहेको थियो ।

ओलीकोसमेत गृह क्षेत्र रहेको भक्तपुर–२ मा एमालेको प्रभाव राम्रै छ । एकातिर पार्टी विभाजनको पीडा र अर्कोतर्फ गठबन्धनको चुनौती एक्लै सामना गर्न लागेको एमालेका लागि विरासत जोगाउन निकै मुस्किल देखिन्छ । तर बस्नेत विगत पाँच वर्षमा भएको विकासबाट आफूले आगामी चुनाव जित्ने दाबी गर्छन् 

विपक्षीमाथि कडा रुपमा अभिव्यक्ति दिने बस्नेत अध्यक्ष ओलीका विश्वासिला नेता हुन् । एमालेको शक्तिशाली संगठन राष्ट्रिय युवा संघबाट राजनीति उचाइ लिएका उनको भक्तपुरमा निकै प्रभुत्व रहेको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट बस्नेतले पूर्वसभामुखसमेत रहेका कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई १७ हजार ७२५ को फराकिलो मतले पराजित गरेका थिए । युवा संघका इन्चार्जसमेत रहेका बस्नेतले ३६ हजार ४१२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी ढुंगानाले १८ हजार ६८७ मत पाएका थिए । नेमकिपाका उम्मेदवार अनुराधा थापाले ५ हजार ४७१ पाए भने अन्यले २ हजार ५३९ मत पाएका थिए ।

त्यसअघि संविधानसभा निर्वाचन २०७० मा बस्नेत यही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । कांग्रेसका उम्मेदवार रामेश्वरप्रसाद ढुंगेल २१ हजार १२१ ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका उम्मेदवार सुनिल प्रजापतीले १७ हजार ४११ मत पाए । बस्नेत १६ हजार २९ मत ल्याइ तेस्रो स्थानमा समेटिएका थिए । माओवादीका देवीप्रसाद ढकालले ५ हजार ७९१ मत पाएका थिए ।

त्यस्तै माओवादीको भातृसंगठन वाइसिएलका इन्चार्जसमेत रहेका दीपशिखा राजकीय पदमा अहिलेसम्म पुगेका छैनन् । अन्तरमुखी स्वभावका उनी विपक्षीमाथि भने खरोरुपमा उत्रिन्छन् । उनी प्रचण्डका विश्वासिला र भरपर्दो नेता हुन् । जनयुद्धबाट खारिएर आएका उनी माओवादीभित्र उदार नेताको रुपमा चिनिन्छन् । गठबन्धन दलहरूबीच सिट बाँडफाँट गर्दा यो क्षेत्र माओवादीको भागमा परे प्रचण्डले उनले टिकट पाउने सम्भावना देखिन्छ । यदि उनले यसै क्षेत्रबाट टिकटमा दुई वामपन्थी युवा नेताबीचको चुनावी भिडन्त थप रोचक हुनेछ ।

ओलीकोसमेत गृह क्षेत्र रहेको भक्तपुर–२ मा एमालेको प्रभाव राम्रै छ । एकातिर पार्टी विभाजनको पीडा र अर्कोतर्फ गठबन्धनको चुनौती एक्लै सामना गर्न लागेको एमालेका लागि विरासत जोगाउन निकै मुस्किल देखिन्छ । तर बस्नेत विगत पाँच वर्षमा भएको विकासबाट आफूले आगामी चुनाव जित्ने दाबी गर्छन् । तर योपटक बस्नेतलाई निर्वाचन जित्न निकै कठिन रहेको तथ्य गतवर्ष समानुपातिकतर्फ दलहरूले पाएको मत र गत स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतपरिणामले देखाएको छ ।

यस्तो छ २०७४ मा चुनावी हिसाबकिताब

२०७४ मा समानुपातिकतर्फ एमाले २६ हजार ३९१ पाएर पहिलो दल भएको थियो । कांग्रेस १५ हजार ९९५ मतसहित दोस्रो स्थानमा थियो । माओवादी ४ हजार ११५, नेमकिपा ५ हजार ४११, अन्यले ३ हजार ५२७ मत पाएका थिए । यहाँ गठबन्धनको जम्मा मत २० हजार ११० रहेको छ । एमाले ६ हजार २८१ ले अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचन परिणामको हिसाबकिताब

स्थानीय तह निर्वाचन २०७९ अनुसार कांग्रेस २५ हजार ७६४ मतसहित पहिलो दल रहेको छ । एमाले २४ हजार २८६ मतसहित दोस्रो स्थानमा रहेको छ । नेमकिपा ४ हजार ९२५, राप्रपाले ४ हजार १७२ मत पाएका छन् । नेकपा एस १ हजार २०२ र माओवादीले १ हजार ४५ मत पाएका छन् । गठबन्धनको जम्मा मत २८ हजार ११ रहेको छ । गठबन्धन ३ हजार ७२५ ले अगाडि देखिएको छ ।

यो क्षेत्रमा मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका पर्छन् । सूर्यविनायक ओली र बस्नेतको गृहनगर हो । मध्यपुर थिमी दीपशिखाको गृहनगर हो ।

स्थानीय तह निर्वाचनमा थिमी नगरपालिकामा मेयर कांग्रेस विजयी र उपमेयरमा माओवादी विजयी भएको थियो । वडातर्फ १, २, ३, ५, ६ र ९ कांग्रेस विजयी भएको थियो । ४ र ७ एमाले र ८ नेमकिपाले जितेको थियो ।

त्यस्तै सूर्यविनायक नगरपालिकामा, मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको थियो । वडातर्फ २, ३, ४, ६ र ९ कांग्रेस विजयी भएको थियो । १, ५, ७, ८ र १० एमाले विजयी भएको थियो ।

आगामी निर्वाचन जित्न एमालेका लागि निकै कठिन रहेको तथ्य स्थानीय तह चुनावी परिणामले देखाएको छ । गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धी रहेको यहाँ चुनाव जित्नका लागि राप्रपा र नेमकिपा निर्णायक शक्ति देखिएको छ । आगामी निर्वाचनमा नेमकिपाले एकल उम्मेदवार उठाए राप्रपाले जसलाई सहयोग गर्यो उसैको पक्षमा पल्ला भारी हुने देखिन्छ । राप्रपाले पनि एकल उम्मेदवारी दिएमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।