NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अर्को वर्षबाट जोन्सन एण्ड जोन्सनले बेबी पाउडर उत्पादन बन्द गर्ने

काठमाडौं । विश्वप्रसिद्ध हेल्थ केयर कम्पनी जोन्सन एण्ड जोन्सनले अर्काे वर्षबाट बेबी पाउडरको उत्पादन तथा बिक्री बन्द गर्ने भएको छ । यसबाट उत्पादित पाउडरबाट क्यान्सर रोग लाग्ने आरोपको सामाना गरिरहेको दुई वर्षपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।

कम्पनीले यतिबेला महिलाहरुले लगाएका ३८ हजार मुद्दाको सामाना गरिरहेको छ ।

कम्पनीले उत्पादन गर्ने पाउडरमा एस्बेस्टोस भएको र त्यसले महिलाहरुलाई पाठेघरको क्यान्सर भएको आरोप छ । तर, कम्पनीले भने आफ्नो दशकौंको अनुसन्धानले जोन्सन एण्ड जोन्सनका उत्पादनहरु प्रयोग गर्र्न सुरक्षित रहेको देखाएको कुरा दोहोर्याउँदै आएको छ । यसकैै आडमा कम्पनीले पटक पटक

आफूले उत्पादन गर्दै आएकोे पाउडरबाट क्यान्सर नहुने र त्यसमा एस्बेस्टस नभएको दाबी गर्दै आएको छ ।

सन् २०१८ मा समाचार एजेन्सी रोयटर्सले प्रकाशन गरेको अनुसन्धानमा कम्पनीले उत्पादन गर्ने पाउडरमा एस्बेस्टोस भएको जनाइएको थियो । उक्त रिपोर्टका अनुसार त्यहाँ उत्पादित पाउडर हाइड्रेटेड म्याग्नेसियम मिसाएर बनाइन्छ जुन पृथ्वीमा पाइने खनिज हो । र, त्यो खनिज एस्बेस्टोस भएको ठाउँ नजिकै पाइन्छ । एस्बेस्टोसले क्यान्सर निम्त्याउन मद्दत गर्छ ।

रोयटर्सले कम्पनीको आन्तरिक अभिलेख, अनुसन्धान र अन्य प्रमाणहरुले कम्तीमा पनि सन् १९७१ द्येखि २००० को दशकको सुरुवातसम्म कम्पनीबाट तयार भएकोे पाउडरमा केही मात्रामा एस्बेस्टसको मात्रा पाइएको दाबी गरेको छ ।

यद्यपी कम्पनीले अदालत, मिडिया रिपोर्ट र अमेरिकी सांसदसमक्ष यी आरोपलाई अस्वीकार गर्दै आएको छ ।