NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अर्थिक नीति र व्यवस्थापन परीक्षणबारे सहसचिव टोकराज पाण्डेको जवाफ

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक अकर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुती परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक र प्रकाशकबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा नेपाल सरकारका सहसचिव डा टोकराज पाण्डेले आर्थिक नीति र व्यवस्थापनबारे सामाधान पहिल्याउनुभएको छ ।

१) आर्थिक नीति भनेको के हो ? अर्थतन्त्रमा यसको महत्व उल्लेख गर्दै आर्थिक नीति निर्धारणका आधारहरु बारे प्रष्ट पार्नुहोस् । (2+4+4)

    अर्थतन्त्र सञ्चालनको मागदर्शक सिद्धान्त : आर्थिक नीति

अर्थतन्त्रका सन्दर्भमा सरकारले अख्तियार गर्ने नीति नै आर्थिक नीति हो । मुलुकले आत्मसात गरेको अर्थव्यवस्था अनुरुप आर्थिक उद्देश्यहरु हासिल गर्न समग्र आर्थिक क्षेत्र र क्रियाकलापहरु कसरी सञ्चालन गर्ने भन्ने विषयलाई यसले समेट्छ ।
आर्थिक नीतिकै आधारमा मुलुकले वित्तीय नीति र मौद्रिक नीति तयार पार्ने हुँदा यसले मुलुकको अर्थतन्त्रलाई वाञ्छित दिशानिर्देश गर्दछ । सरकारको आर्थिक उद्देश्य र अर्थतन्त्रको अभीष्टलाई हासिल गराउने दिशामा आर्थिक नीति परिलक्षित हुनुपर्छ ।

आर्थिक नीतिको महत्व
– अर्थतन्त्रलाई समुचित दिशानिर्देश गर्न
– तिब्रतर आर्थिक विकासको लक्ष्य निर्धारण गर्न
– उपलब्ध आर्थिक साधनको उच्चतम उपयोग गर्न
– दीगो, समावेशी, तीव्र र फराकिलो आर्थिक वृद्धि र आर्थिक विकास गर्न
– राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र आत्मनिर्भर र उन्नतिशील गराउन
– मौद्रिक तथा वित्तीय सन्तुलन कायम गर्न
– अर्थतन्त्रमा सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता प्रबर्द्धन गराउन
– राष्ट्रिय विकासको आधार तय गर्न
– आर्थिक स्रोतको न्यायोचित वितरण गर्न
– आर्थिक असमनता र शोषणलाई न्यूनीकरण गर्न
– समाजवाद उन्मुख, स्वाधिन र समृद्ध अर्थतन्त्रको विकास गर्न
– समग्रमा राष्ट्रिय विकासका लक्ष्य प्रतिबद्धता र आकाङ्क्षालाई पुरा गर्न

नेपालमा आर्थिक नीति निर्धारणका आधारहरु
क) राष्ट्रिय आधारहरु
-नेपालको संविधान
– मुलुकले अवलम्बन गरेको शासन व्यवस्था
– राष्ट्रिय हितका आधारभूत विषयहरु
– मुलुकको भुराजनीतिक स्थिति
– मुलुकको अर्थतन्त्र र अर्थ व्यवस्था
– राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु
– मुलुकको विकासको अवस्था
– आवधिक योजना र वार्षिक नीति कार्यक्रमले लिएका प्राथमिकताहरू

ख) अन्तर्राष्ट्रिय आधारहरु
– अन्तर्राष्ट्रिय सन्धि सम्झौता र दायित्वहरू
– अन्तर्राष्ट्रिय विकासका प्रतिबद्धताहरू
– वैदेशिक सहायता सम्बन्धी नीति
– आर्थिक कुटनीति
– अन्तर्राष्ट्रिय विकासका साझेदार संस्थाहरू र तिनीहरूसँगको सम्बन्ध

अन्त्यमा,
आर्थिक नीति सम्रग मुलुकको अर्थतन्त्रको विकासको आधारभुत र बहुआयामिक नीति हो । अर्थतन्त्रलाई सही दिशाबोध गरी आर्थिक वृद्धि र विकास हासिल गराउन आर्थिक नीतिको भूमिका महत्वपूर्ण हुन्छ । तसर्थ आर्थिक नीति निर्धारणका आधारहरु तय गर्दा समग्र राष्ट्रको हित, नागरिकको खुशी र मुलुकको समृद्धि पहिल्याउनु जरुरी देखिन्छ ।

२) व्यवस्थापन परीक्षण भनेको के हो ? यसका उद्देश्यहरु उल्लेख गर्दै नेपालमा व्यवस्थापन परीक्षणका सन्दर्भमा देखिएका समस्याहरु र समस्या समाधानका उपायहरु उल्लेख गर्नुहोस् ? (2+2+3+3)

    Controlling Factor of Management

– व्यवस्थापनका त्रुटीहरु पहिल्याउनु, सच्याउनु र आवश्यक सुधार गर्नु नै व्यवस्थापन परीक्षण हो । व्यवस्थापन परीक्षणलाई व्यवस्थापकीय कार्यहरुलाई प्रभावकारी तुल्याउने व्यवस्थापकीय औजारको रुपमा लिइन्छ ।
– व्यवस्थापकीय कार्यहरु गर्दा प्रचलित कानून बमोजिम भए नभएको अनुगमन गरी सोको अनुपालन गर्न गराउन व्यवस्थापन परीक्षणको महत्व रहन्छ ।
– व्यवस्थापन परीक्षणको अवधारणा सन् १९६२ मा अमेरिकन इन्स्टिच्युट अफ म्यानेजमेन्टका Jackson Martindell ले गरेका हुन् ।
– नेपालमा निजामती सेवा ऐन २०४९ र नियमावली २०५० बमोजिम व्यवस्थापन परीक्षणका कार्यलाई अघि बढाइएको छ । जसअनुसार नेपालको व्यवस्थापन परीक्षण गर्ने निकायको रुपमा सामान्य प्रशासन मन्त्रालय रहेको छ ।

व्यवस्थापन परीक्षणका उद्देश्यहरु
– व्यवस्थापनमा हुन सक्ने त्रुटि र अनियमिततालाई अन्त्य गरी जवाफदेहिता कायम गर्ने,
– सरकारको विभिन्न निकायहरुको व्यवस्थापन सम्बन्धी कार्यमा एकरुपता कायम गर्ने,
– सङ्गठनको सबल एवं दुर्बल पक्षहरुको पहिचान गरी सबल पक्षहरुको प्रवद्धन र दुर्बल पक्षहरु हटाउन सुझाव एवं सिफारिस गर्ने,
– सङ्गठनको समग्र व्यवस्थापकीय पक्षको जाँच गर्ने,
– सरकारी निकायमा भए गरेका कामकारबाही प्रचलित बमोजिम भए नभएको एकीन गर्ने,
– विधिको शासन कायम गरी सुशासन अभिवृद्धि गर्ने ।

नेपालमा व्यवस्थापन परीक्षणमा देखिएका समस्याहरु
– स्वतन्त्र निकायबाट नभइ सामान्य प्रशासन मन्त्रालयबाट हुने गरेकोले यथार्थ नहुने सम्भावना रहेको,
– व्यवस्थापन परीक्षणलाई नियमित र अनिवार्य गराउन नसकिएको,
– प्रशासकीय कार्यविधि पालना भए नभएको मात्र हेर्ने गरेको,
– व्यवस्थापन परीक्षणका लागि दक्ष मानव स्रोतको अभाव रहेको,
– व्यवस्थापन परीक्षणलाई प्राथमिकताको रुपमा राख्ने नगरिएको,
– आकस्मिक व्यवस्थापन परीक्षण गराउन नसकिएको,
– व्यवस्थापन परीक्षण गर्दा सम्बन्धित सङ्गठनबाट असहयोग हुने गरेको,
– व्यवस्थापन परीक्षणका लागि आवश्यक स्रोत र साधनको अभाव रहेको,
– व्यवस्थापन परीक्षणबाट दिइएका प्रतिवेदन कार्यान्वयनको पाटो कमजोर देखिएको,
– सुधारका सुझाव र निर्देशन पालनाको अनुगमन हुन नसकेको,
– समग्रमा व्यवस्थापन परीक्षणलाई व्यवहारिक बनाउन नसकिएको ।

व्यवस्थापन परीक्षण समस्या समाधानका उपायहरु
– स्वतन्त्र निकायबाट व्यवस्थापन परीक्षण गर्ने परिपाटीको विकास गर्ने,
– व्यवस्थापन परीक्षणलाई नियमित र अनिवार्य गराउन CPA ( Central Personnel Agency) लाई स्रक्रिय बनाउने,
– व्यवस्थापन परीक्षण समग्र विषयहरुको परीक्षण गर्ने पद्धितिको विकास गर्ने,
– व्यवस्थापन परीक्षणका लागि दक्ष मानव स्रोतको विकास गर्न तालिम र क्षमता विकासका कार्यक्रम संचालन गर्ने,
– व्यवस्थापन परीक्षणलाई प्राथमिकतामा राख्ने,
– आकस्मिक व्यवस्थापन परीक्षण गराउन विशेष ध्यान दिने,
– व्यवस्थापन परीक्षणमा सम्बन्धित सङ्गठनबाट सहयोग गर्ने संस्कृतिको विकास गर्ने,
– व्यवस्थापन परीक्षणका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध गर्ने,
– व्यवस्थापन परीक्षणबाट दिइएका प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाउने,
– सुधारका सुझाव र निर्देशन पालनाको अनुगमन गर्ने संयन्त्रको विकास गर्ने,
– समग्रमा व्यवस्थापन परीक्षणलाई व्यवहारिक बनाउने ।

अन्त्यमा,
व्यवस्थापन परीक्षण सार्वजनिक व्यवस्थापनलाई नतिजामुखी बनाउने नवीन अवधारणा हो । व्यवस्थापन परीक्षणबाट संगठनमा हुन सक्ने अव्यवस्था र त्रुटिहरुको निराकरण गरी सार्वजनिक जवाफदेहिता कायम गर्न सकिन्छ । तसर्थ व्यवस्थापन परीक्षणलाई व्यवहारिक बनाउनु सरोकारवाला सबैको जिम्मेवारी हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)