NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अनि बाबुराम ७ वर्षपछि माओवादीको चिन्हबाट चुनाव लड्न तयार भए

काठमाडौं । माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै निर्वाचन चिन्हबाट चुनावमा भाग लिनेबारे जानकारी दिन मंगलबार निर्वाचन आयोग जाने भएका छन् ।

आइतबार प्रचण्ड र बाबुरामबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भएको थियो । दुई दलबीच भएको सहमति अनुमोदन पार्टीको बैठकबाट अनुमोदन भएपछि दुवै दलका प्रतिनिधि दिउँसो १ बजे निर्वाचन आयोग जाने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार भट्टराईसँग भएको सहमति  बिहान बसेकाे माओवादीको पूर्वस्थायी समिति बैठकले अनुमोदन गरेकाे छ । सहमति अनुमोदनसँगै आगामी मंसिर ४ मा हुने निर्वाचनमा दुवै दलकाे एउटै चुनाव चिन्ह र घोषणापत्र जारी हुनेछ ।

निर्वाचनसम्बन्धी ऐन अनुसार दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनावमा भाग लिन सकिने व्यवस्था गरेको छ । निर्वाचनपछि एउटै पार्टी निर्माण गर्नेगरी प्रचण्ड र बाबुरामबीच सहमति भइसकेको छ ।

३ असोज २०७२ मा नयाँ संविधान जारी भएपछि बाबुरामले ९ गते माओवादी परित्याग गरी नयाँ वैकल्पिक शक्ति बनाउने अभियानमा लागेका थिए । वैकल्पिक शक्ति अन्तर्गत २०७४ को निर्वाचनमा नयाँ शक्तिबाट उनले चुनाव लडेका थिए ।

निर्वाचनबाट अपेक्षकृत सफलता प्राप्त गर्न नसकेपछि बाबुरामले जसपासँग पार्टी एकता गरेका थिए । जसपाबाट निष्कासनमा परेपछि ७ वर्षपछि उनी पुरानै घर माओवादी फर्किन लागेका हुन् ।

भट्टराईले आगामी निर्वाचन माओवादीको चुनाव चिन्ह हसिँया हतौडाबाट चुनाव लड्दै छन् । सम्बन्धविच्छेद भएको लामो समयपछि प्रचण्ड र बाबुरामको पुनर्मिलनले माओवादी नेता तथा कार्यकताहरूमा उत्साह छाएको छ।