NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

निहारिका भन्छिन्, ‘डिएनए नमिले मलाई सजाय दिइयोस्’

काठमाडौं । न्याय माग्दै संघर्ष गर्दै आएकी ‘कुमारी आमा’ निहारिका राजपुतले आफ्नो बच्चासँग शिवराज श्रेष्ठको डिएनए नमिले आफू सजाय भोग्न तयार रहेको बताएकी छिन् । कानूनमन्त्री गोविन्द बन्दीसँगको बुधबारकाे भेटमा उनले यस्तो बताएकी हुन् ।

भेटमा निहारिकाले आरोपी र आफ्नो बच्चाको डिएनए परीक्षण गराउने माग राखेको मन्त्री बन्दीनिकट स्रोतले जनाएको छ ।

तर, डिएनए म्याचिङ भएर पनि आरोपीले सजाय नपाएमा आफू सर्वोच्च अदालत अगाडि नै अनशन बस्ने उनको भनाइ छ ।

आरोपी श्रेष्ठले विभिन्न सञ्चारमाध्यममा बयान दिँदै आफू पनि डिएनए परीक्षणका लागि तयार रहेको बताएका छन् । डिएनए मिलेको खण्डमा आफू निहारिका र बच्चालाई स्वीकार्न तयार रहेको उनको भनाइ छ ।

तर, निहारिकाले भने आरोपी श्रेष्ठसँग अब कुनै सम्बन्ध नहुने स्पष्ट पारेकी छिन् । श्रेष्ठ बलात्कारी भएको आरोप लगाउँदै निहारिकाले उनलाई कानूनबमोजिम जेल सजाय हुनुपर्ने माग राखेकी छिन् ।

कानूनमन्त्री बन्दी १३ दिनदेखि जारी निहारिकाको अनसन तोडाउने प्रयास गरिरहेका छन् । यसैबीच, उनले दोस्रोपटक निहारिकालाई भेटेका हुन् । निहारिकाले भने पूर्ण प्रतिबद्धता नआए अनसन नतोड्ने अडान लिएकी छिन् ।

निहारिकाको मुद्दा पुनरावेदन अदालत जनकपुरमा विचाराधीन छ । मन्त्री बन्दीले निहारिकालाई आगामी भदौ ८ गतेको पेशीबाट डिएनए परीक्षणको आदेश दिने निश्चित भइसकेको जानकारी दिँदै अनसन तोड्न आग्रह गरेका छन् । यता, आरोपी श्रेष्ठ पनि मंगलबार साँझ पक्राउ परिसकेका छन् ।