NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सडक अलपत्र पार्दै ‘घरबेटी’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्दै मंगलबार ट्वीटरमा बालाजु–रानीपौवा खण्डमा पर्ने हिलाम्य सडकको भिडियो राखे । भिडियोसँगै दाहाललाई सोधे, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?’ बालेन्द्रको प्रश्नले विकास परियोजना अलपत्र पार्ने ठेकेदारलाई मलजल गर्ने राजनीतिक नेतृत्वलाई फेरि एक पटक सार्वजनिक कठघरामा उभ्याएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाल उनै ठेकेदार शारदाप्रसाद अधिकारीको आलिसान घरमा बस्छन् जसले राजधानी वरिपरि मात्रै ठेक्का लिएका १० सडक आयोजना अलपत्र छन् । तर उनीमाथि कारबाही भएको छैन, बरु सातौं पटकसम्म म्याद र बजेटसमेत थपेर पुरस्कृत गरिएको छ । तैपनि काम नभएपछि आठौं पटक पनि म्याद थप्ने तयारी छ ।

बालाजु–रानीपौवा सडक मात्र होइन, कमल विनायक–नगरकोट, ढोलाहिटी–सुनाकोठी–चापागाउँ,त्रिपुरेश्वर–कलंकी–नागढुंगा,सुन्दरबस्ती–आदर्शनगर–चुनीखेल–जगडोल सडकलाई अधिकारीले दुरवस्थामा लगेका छन् । उनले नै ठेक्का लिएको साततले–भण्डारी गार्मेन्ट–बालुवाखानी, आकाशेधारा–कृष्ण मन्दिर, सामाखुसी–रानीबारी, सिद्धार्थमार्ग– बुद्धनगर, रत्नराज्य स्कुल–पाण्डेश्वर मन्दिर सडकको पनि बिजोग छ । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले नै पश्चिम रुकुमको सानीभेरी पुल अलपत्र पारेको छ ।

७ पटक म्याद थप्दा ७९ प्रतिशत काम

बालाजु–रानीपौवा सडक स्तरोन्नतिका लागि आठ वर्षअघि एआईपीएल–शैलुङ जेभीले ठेक्का लिएको थियो । २०७१ जेठ २२ मा गरिएको सम्झौताअनुसार २०७३ असार ३ सम्म आयोजना सकिनुपर्ने थियो । भारतको ठेकेदार कम्पनी आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सनको संयुक्त ठेक्का भए पनि कामको जिम्मा शैलुङले लिएको थियो ।

जम्मा १७.१० किमि सडक स्तरोन्नति गर्न सरकारले भारतीय एक्जिम बैंकबाट ऋण लिएर ठेक्का दिएको थियो, तर ८ वर्षमा ५४ प्रतिशत मात्रै काम भएको छ । कुल ठेक्का रकम ३४ करोड ९४ लाख रहेकामा १८ करोड ९५ लाख ४७ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । तर सडक खण्ड हिलाम्य छ, जताततै खाल्डाखुल्डी छन् । ठेकेदारलाई कारबाही गर्नुको सट्टा सात पटक म्याद थपिएको थियो । बालाजुबाट रानीपौवा जाने सडकमा तीनपिप्लेसम्म गएपछि ओखरपौवा जाने बाटो छुट्टिन्छ । राजधानीको फोहोर बोकेका टिपर यही सडक हुँदै बञ्चरेडाँडा पुग्छन् । तर, तिनलाई गन्तव्यसम्म पुग्न हम्मे पर्छ । फोहोर लिएर ओखरपौवा जाने गाडीले यो खण्डको ८ किलोमिटर सडक प्रयोग गर्छन् । खाल्डाखुल्डीमा गाडी उफ्रिँदा धेरै फोहोर बाटोमै खस्ने समस्या छ ।

सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का सम्झौता तोडेर ठेकेदारलाई कारबाही गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सिफारिसविरुद्ध अन्तरिम आदेश माग गर्दै ठेकेदार जिल्ला अदालत ललितपुर पुगेका थिए, तर न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले मंगलबार मात्रै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको छ ।

अदालतको आदेशसँगै ठेक्का तोडिएको निर्देशनालयका निर्देशक रोहित बिसुरालले बताए । भने, ‘मुद्दाका कारण डेढ महिना अलमल भयो, ठेकेदारले दुई वर्षमा गर्नुपर्ने काम आठ वर्षमा पनि नसकेपछि कानुनसम्मत रूपमा ठेक्का तोडेका हौं ।’ पटक–पटक सचेत गराउँदा पनि काम नगरेपछि अन्तिम विकल्पका रूपमा यो निर्णय गरिएको उनले बताए । ठेक्का भएको आठ वर्ष भइसक्दा पछिल्लो समयमा त ठेकेदारले काम नै ठप्प पारेका थिए । ‘बालाजु–रानीपौवा खण्डमा निर्माण व्यवसायीले कामै गरेका छैनन्, साइटमा न कुनै जनशक्ति छ, न कुनै निर्माण सामग्री । निर्माण गतिविधि ठप्प छ भने बनिसकेको भनिएका संरचना पनि स्वीकार गर्न सक्ने अवस्थामा छैन,’ निर्देशनालयको भनाइ छ । अहिले उक्त खण्डमा योजना कार्यालयले सामान्य मर्मत गरी यातायात सञ्चालनमा सहजीकरण गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।