NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आज राष्ट्रिय दैनिकहरूका प्राथमिकतामा के समाचार छ ?

काठमाडौं । आज देशका प्रायः प्रमुख राष्ट्रिय दैनिकले कांग्रेस नेता प्रदीप गिरीको निधनलाई दोस्रो प्राथमिकताको समाचार बनाएका छन् ।

यद्यपि, कान्तिपुर दैनिकले भने गिरीको निधनलाई प्रमुख (ब्यानर) समाचार बनाएको छ ।

‘दीप बालेर गए प्रदीप’ शीर्षकमा कान्तिपुरले समाचार बनाएको छ । यसमा विभिन्न नेताले गिरीको व्यक्तित्वमाथि दिएका प्रतिक्रियासमेत समावेश गरिएको छ ।

नागरिक दैनिकले भने गिरीको निधनको समाचारलाई दोस्रो प्राथमिकतामा राखेको छ ।

नागरिकले आसन्न निर्वाचनको विषयलाई ब्यानर समाचार बनाएको छ । ‘गठबन्धन बलमा सुदूरपश्चिममा विरासत फर्काउने कांग्रेसको दाउ’ शीर्षकमा निर्वाचनबारे विश्लेषणत्मक समाचार छापेको छ ।

यस्तै, नयाँ पत्रिका दैनिकले पनि गिरीको निधनलाई दोस्रो प्राथमिकताको समाचार बनाएको छ । उसले ‘अस्ताए समाजवादी चिन्तक’ शीर्षकमा समाचार बनाएको छ ।

नयाँ पत्रिकाले कानुन व्यवसायीले आचारसंहिता उल्लंघन गरेको विषयलाई ब्यानरमा राखेको छ । ‘ठगीमा संलग्न हुनेदेखि मुद्दा जिताउन पैसा उठाउनेसम्मका वकिल’ शीर्षकमा समाचार छ ।

अन्नपूर्ण पोस्टले भने भुइँमान्छेका विषयलाई ब्यानर समाचार बनाएको छ । ऋणको बहानामा काममा बन्धक बनाइएका मधेश प्रदेशका किसानका व्यथालाई अन्नपूर्ण पोस्टले प्राथमिकता दिएको छ । काँधमा कोदालो बोकेर निराश मुद्रामा उभिएका किसानको तस्बिर ब्यानरमा छ ।

अन्नपूर्ण पोस्टले नेता गिरीको निधनको समाचारलाई एंकरमा राखेको छ ।