NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

४ अर्ब ८१ करोडको अलैँची निर्यात, स्वदेशमा खपत ५ प्रतिशतमात्रै

काठमाडौं । नेपालले एक वर्षमा अर्थात गत आर्थिक वर्ष ७८/७९ मा ४ अर्बभन्दा बढी अलैची निर्यात भएको छ । भन्सार विभागका तथ्यांकअनुसार एक वर्षमा कुल ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५३ लाख ६७ हजार ४४३ केजी अलैँची निर्यात भएको हो ।

नेपालले पाकिस्तान र चीनमा अलैँची निर्यात गर्दै आइरहेको छ । विभागका अनुसार सबैभन्दा बढी अलैची निर्यात भारतमा भएको छ । सोही अवधिमा भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँको ५२ लाख ९७ हजार ४४३ केजी अलैँची निर्यात भएको छ । त्यसपछि पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँको ७० हजार केजी अलैँची निर्यात भएको विभागको तथ्यांक छ ।

स्वदेशी खपत ५ प्रतिशत मात्रै

नेपालमै उत्पादन हुने बहुउपयोगी अलैँची स्वदेशमै भने यसको खपत कम हुँदै गएको सरोकारवालाहरुले बताउँदै आएका छन् । नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताउँछन् ।

सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गर्छन् ।

महासंघको तथ्यांकअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ ।

पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून बन्दै गइरहेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष