NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सर्लाहीमा मिटरब्याजीविरुद्ध चार सय २७ उजुरी

सर्लाही । जिल्लामा मिटरब्याजीविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।

सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार सरकारले यही भदौ ५ सम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेका छन् ।

भदौ ५ पछि आएका उजुरीको छुट्टै लागत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । जिल्लामा धेरै उजुरी गत बिहीबार परेको र पीडितले जिल्ला सदरमुकाम मंलगवामा प्रदर्शनसमेत गरेका थिए ।

पीडितले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीलेसमेत सहभागिता जनाएका थिए । लामो समयदेखि शुद्धखोर अभियानमा लागेका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितको प्रदर्शनलाई समर्थन जनाएका हुन् । जिल्लामा मुख्यत मिटरब्याजी आरोपितमा श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको नाम पहिलादेखि नै चर्चामा रहेको भए पनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतका नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका– २ त्रिभुवननगर निवासी सञ्जय अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बताए । अन्य आरोपित फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।