NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बालेनलाई महेश बस्नेतको प्रश्न– अल्फाबिटामा किन डोजर लगाएको ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अगुवाइमा अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाइएको घटनाप्रति राेष प्रकट गरेका छन् ।

बस्नेतले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै नक्सा पासअनुसार घर निर्माण नगरेर कि हामीसँग नजिक भएर भन्ने प्रश्न बालेनसमक्ष तेर्साएका छन् । बस्नेतसँग निकटता झल्कने अल्फाबिटाका सञ्चालकको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिकपछि बस्नेतकाे यस्ताे प्रतिक्रिया आएको हो ।

नक्सा पासबिना बनाएको कारणले भत्काउनु जायज भए पनि आफूसँगको सम्बन्धको कारणले भत्काइएको हो भने त्यसको मूल्य कडा पर्ने चेतावनी उनले दिएका छन् । उनले बालेनको यो अभियानलाई सन्की र लहडीको संज्ञा दिँदै त्यसविरुद्ध उत्रिने धक्की पनि दिन भ्याएका छन् ।

‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ?

१. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?

२. हामीसंग नजिक भएर या फोटो लिएको कारण ?,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानूनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं ।’

बस्नेतको यस्तो टिप्पणीसँगै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । विधि र प्रक्रियाअनुसार बालेनले काम गर्दा त्यसविरुद्ध खडा भएको भन्दै अधिकांशले उनको नियतमाथि प्रश्न उठाएका छन् ।

काठमाडौं महानगरपालिकाले निर्माण भएका अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर अधिकांशले अटेरी गरेका छन् । आफ्नो आग्रहलाई बेवास्ता गरेपछि महानगरपालिकाले आफैं डोजर लगेर अहिले त्यस्ता संरचना भत्काइरहेको छ । यही सिलसिलामा महानगरका मेयर बालेन शाहको टोली बिहीबार अल्फाबिटा पुगेको थियो । त्यसक्रममा यसका सञ्चालकसँग उनको भनाभनसमेत भएको थियो ।