NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘प्रकाश’माथि विभेद भएको आरोप लगाउँदै प्रदीपले भने : प्रोजेक्टर लगाएर भएपनि चलचित्र देखाउने हो

काठमाडौं । दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘प्रकाश’लाई विभेद गरिएकोे भन्दै निर्माण टिमले आपक्ति जनाएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा बोल्दै चलचित्रका निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले आफूले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे ।

आफ्नो फिल्मको अब ३ शो मात्रै बाँकी भएको बताउँदै उनले भने, ‘१२ बजे, १ बजे, त्योभन्दा बढी शो नै छैन । एउटा क्विएफएक्स भेन्यूमा ३ वटा हल हुन्छन् । त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त । प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ ।’

उनले आफूले बनाएको फिल्मबारे केही नभन्ने भन्दै फिल्मको जज दर्शकले नै गर्ने धारणा राखे । फिल्ममा धेरै जनाको मेहनत रहेको उनको भनाइ छ । अधिकारीले आफूले बनाएको चलचित्र दर्शकले समयमै हेर्न पाउनुपर्ने माग गरे । उनले भने, ‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो । हामी कति हेपिएर बस्ने ? विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र ?’

उनले अब सरकारी तवरबाटै आफ्नो फिल्म प्रदर्शनबारे सोचेर आगामी दिनमा राम्रो चलचित्र कसरी बनाउने हो ? भनेर त्यसबारेमा पनि सिकाइदिन सम्बन्धित निकायसमक्ष आग्रह गरे ।

उक्त चलचित्रका अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पुर्वाग्रही भयो कि भएन त्यो चाँही ठूलो कुरा भएको बताए । उनले भने, ‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आंकलन गरेपनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि ।’

वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाइ छ । उनले ललितपुरको सबैभन्दा ठूलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए । उनले भने, ‘साना हलहरूले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठूला हलहरूले अरु फिल्मलाई ५ बजेपछि दुई÷दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’

खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफूलाई हलमा फिल्म हेर्न चाहेपनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।

नायक खड्काले आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिइए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभूति नदेखाएको उनको गुनासो छ ।

वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने, ‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहीँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले उक्त फिल्म जुम्लामा सुटिङ भएकै कारण काठमाडौंले विभेद गरेको आरोप लगाए । उनले भने, ‘नेपालका हलमा भारतीय फिल्म लगाउने तर नेपाली फिल्महरू चल्न नदिने हलहरू विदेशतिरै चलाउनुुपर्ने हाम्रो माग हो ।’ नेपालका हलले ८० प्रतिशत विदेशी फिल्म चल्न दिने गरेको उनको भनाइ थियो । फिल्मबाटै भारतले नेपालबाट अरबौंैं पैसा लैजाने गरेको दाबी गर्दै उनले नेपालीको धेरै पैसा विदेशिएको टिप्पणी गरे ।

चीनले वर्षमा २० वटामात्र विदेशी फिल्म चल्न दिने भन्दै नेपाली हलले पनि त्यसबारे सोच्नुपर्ने उनले बताए ।

जुम्लामा फिल्मको शत प्रतिशत सुटिङ भएको भन्दै प्रवक्ता शाहीले फिल्म प्रदर्शनपछि जुम्लामा पर्यटकको संख्या पनि ह्वात्तै बढ्ने जिकिर गरे । शाहीले फिल्म क्षेत्रको सम्पतिको स्रोत अब आपफहरूले खोज्नेसमेत चेतावनी दिए ।