NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कांग्रेसले उम्मेदवार सिफारिस गर्न तोक्यो मापदण्ड, को–को उम्मेदवार हुन पाउँछन् ?

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन निर्देशन दिएको छ । महामन्त्री गगन थापाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने समय दिएका हुन् । उनले आगामी भदौ सम्म प्रतिनिधिसभा क्षेत्रलाई उम्मेदवार टुंग्याउन र २० भदौभित्र केन्द्रमा नाम पठाउन परिपत्र गरेका छन् ।

महामन्त्री थापाले पार्टी केन्द्रको निर्णय अनुसार यस्तो निर्देशन दिएका हुन् । यो निर्देशन अनुसार अबको १० दिनभित्र कांग्रेसका समितिले उम्मेदवारको टुंगो लगाइसक्नुपर्नेछ ।

१६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभाबाट सहमतिमा उम्मेदवार चयन नभए एउटा क्षेत्रबाट बढीमा तीन जना र समानुपातिकतर्फ २ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउनुपर्नेछ । समानुपातिकतर्फ दुई मध्ये एक जना महिलालाई सिफारिस गर्नुपर्नेछ ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका उम्मेदवार सिफारिस गर्नु अघि सो क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठक बस्नुपर्नेछ । एकमात्र क्षेत्र रहेका जिल्लामा जिल्ला भित्रका केन्द्रीय महाधिवेश प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठक बस्नुपर्नेछ ।

सहमतिमा निर्णय हुन नसके बहुमतबाट निर्णय गरेर पठाउन कांग्रेसले निर्देशन दिएको हो । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रले १८ भदौसम्म प्रदेश कार्यसमितिमा पठाइसक्नुपर्नेछ ।

प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा पठाउनुपर्ने छ । प्रदेशसभाका उम्मेदवारको लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रभित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठकले टुंगो लगाउनुपर्नेछ ।

अघिल्लोपटक प्रतिनिधिसभामा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक सत्ता गठबन्धनसँग तालमेल गरी निर्वाचन लड्दैछ । कुन क्षेत्रबाट कुन दलले उम्मेदवारी दिने भन्ने टुंगो नलाग्दै कांग्रेसले उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।

तर सत्तारुढ दलबीच चुनावी तालमेल हुने व्यहोरा परिपत्रमा उल्लेख छ । १६५ प्रतिनिधिसभा र प्रदेशसभामा ३३० क्षेत्रमा कांग्रेस बाहेकका दलसँगको तालमेलको टुंगो लाग्दा ती ठाउँमा कांग्रेस उम्मेदवार नहुने पनि परिपत्रमा उल्लेख छ ।

यसरी सिफारिस गर्दा अघिल्लोपटक प्रदेशसभा र प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएकालाई सिफारिस नगर्न पनि निर्देशन दिएको छ ।