NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमालेका ४१ सांसद : ११ जनाले पार्टी छोडे, ३० जनाको समानुपातिकबाट सांसद बन्ने ढोका बन्द

काठमाडौं । एमालेले मंसिर ४ मा हुने निर्वाचनमा पछिल्लो पटक समानुपातिकबाट सांसद रहेका नेतालाई नदोहोर्याउने निर्णय लिएपछि बहालवाला ३० सांसदको ढोका बन्द भएको छ ।

आगामी निर्वाचनमा संसद भवन प्रवेश गर्नका लागि उनीहरूले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नुपर्नेछ । भदौ ११ मा सकिएको एमालेको केन्द्रीय कमिटीको बैठकले पालैपालो वितरण प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको थियो । बैठकले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड निर्धारण गरेको छ ।

त्यस्तै, स्थानीय तह वा कुनै पनि तहका वहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा सहभागी गर्न नहुने निर्णय गरेको छ ।

यसैगरी पछिल्लो पटकको कुनै पनि तहको निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई आगामी निर्वाचनमा उम्मेदवार बनाउन नहुने निर्णय गरेको छ । तर, जनाधार भएका र अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूका हकमा पार्टीले विशेष निर्णय गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘योपटक हामीले सबैतिर न्यायचित अवसरको प्रत्याभुति गर्छौं । अघिल्लो पटक समानुपातिबाट सांसद भएका, कुनै पति तहमा पराजित भएकालाई उम्मेदवार बनाउँदैनौं’, उनले भने, ‘अन्य पार्टीबाट प्रवेश गरेका र जनाधार भएका व्यक्तिको हकमा विशेष निर्णय गर्छौं । प्रत्यक्ष उम्मेदवार बन्नेको हकमा यी कुनै पनि निर्णय लागु हुने छैन । तर प्रत्यक्षतर्फ जित्ने उम्मेदवारलाई मात्र प्राथमिकतामा राख्नेछ ।’

एमालेको यो निर्णयसँगै नयाँले अवसर पाउने भएका छन् । पुरानाले कि त प्रत्यक्ष निर्वाचन लड्नुपर्ने छ कि त अवकास रोज्नुपर्ने देखिन्छ । बैठकले भदौ २० भित्र एक महिलासहित ३ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । सम्बन्धित जिल्लाबाट सिफारिस भएर आएको आधारमा २२ गते अन्तिम रुप दिनेछ । निर्वाचनसम्बन्धी निर्णय लिने सम्र्पूण अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ ।

क–कसले उम्मेदवार बन्न पाउने छैनन् ?

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट एमालेका ४१ जना सांसद भएका थिए । तीमध्ये ११ जना सांसदले पार्टी विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए । अहिले एमालेमा ३० जना बहालवाला सांसद छन् ।

आगामी निर्वाचनमा समानुपातिकबाट सांसद बन्न वञ्चित भएका नेताहरूमा विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थपमाया थापा, डा. शिवमाया तुम्वाहाम्फे, जुजिता शाक्य र बिना श्रेष्ठ रहेका छन् ।त्यस्तै तुलसी थापा, नबिना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे र राधाकुमारी ज्ञवाली रहेका छन् ।

यसैगरी विन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, मायादेवी न्यौपाने, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तिर्था गौतम, शान्ताकुमारी चौधरी र गंगा चौधरी सत्गौवा रहेका छन् । त्यस्तै बिमला विश्वकर्मा, बिमला विक, सानु शिवा आशाकुमारी विक, जुलीकुमारी महतो, रेखाकुमारी झा र सिताकुमारी गिरि रहेका छन् ।

क–कसले पार्टी छोडे ?

अघिल्लो पटक एमाले सांसद रहेका मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, विनादेवी बुढाथोकी मगर, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पार्वतीदेवी विशंखे, डा. पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान र समिना हुसेन नेकपा एसमा गएका छन् ।