NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सेक्युरिटी गार्ड पक्राउ गर्न मन्त्रीले नै लेखाएका थिए गृहलाई पत्र

काठमाडौं । शुक्रबार बिहान ९:०८ बजे ठमेलस्थित छाया सेन्टरअगाडि झन्डावालसहित दुईवटा गाडी रोकिए । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, उनकी पत्नी, अंगरक्षक र उनीहरूसँगै गएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का केही कर्मचारी गाडीबाट ओर्लिए । ‘एलिभेटर’ चढेर उनीहरू तेस्रो तलास्थित ‘भिएफएस ग्लोबल’को कार्यालय पुगे । र, सरासर भित्र छिर्न अघि बढे ।

भिएफएसको सुरक्षामा खटिएका थिए, गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय शेरजंग गुरुङ । दलबलसहितको टोली नै कार्यालयभित्र छिर्न लागेपछि उनले रोके । कार्यालय प्रवेशका लागि अन्य चार सेवाग्राही लाइनमा थिए । गुरुङले मन्त्रीसहितको टोलीलाई पनि ‘लाइनमा बसिदिन’ आग्रह गरे । मन्त्री श्रेष्ठका अंगरक्षक गुरुङनजिकै गएर भने, ‘उहाँ मन्त्रीज्यू हो, भित्र जानबाट रोक्ने ?’

क्यानडा, जापान, अस्ट्रेलिया, युकेलगायत २५ मुलुकका नेपालस्थित दूतावासले भ्रमणका लागि भिसा आवेदन गर्नेहरूको ‘बायोमेट्रिक परीक्षण’ गर्ने जिम्मा ‘भिएफएस’ कम्पनीलाई दिएको छ, जसको कार्यालय छाया सेन्टरमा छ । मन्त्री श्रेष्ठसहितको टोली अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को सभामा सहभागी हुन क्यानडाको भिसा प्रोसेसअन्तर्गत ‘बायोमेट्रिक’ परीक्षणका लागि भिएफएस पुगेको थियो । हरेक तीन–तीन वर्षमा हुने सभा यसपटक २७ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म क्यानडास्थित आइकाओको मुख्यालयमा हुँदै छ ।

सुरक्षागार्ड गुरुङले मन्त्री श्रेष्ठलाई पनि अरू सेवाग्राहीझैँ व्यवहार गरेर लाइनमा बस्न आग्रह गरेका थिए । त्यसैले मन्त्रीका अंगरक्षकलाई भने, ‘तपाईंहरू कार्यालय खुल्नुअघि नै आउनुभयो । उहाँ (अरू लाइनमा रहेका)हरू पनि लाइनमा बस्नुभएको छ । अहिले तपाईंहरू पनि लाइनमा बस्नुहोस् ।’ गुरुङको जवाफ अंगरक्षकले मन्त्रीलाई जस्ताको तस्तै सुनाए । मन्त्रीले निको मानेनन् । तर, उनीसँग विकल्प थिएन, अप्ठ्यारो मान्दै लाइनमा बसे ।

‘भिएफएस’ले ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकको ‘होल बडी स्क्यानिङ’ गर्छ । जसका लागि प्रवेशद्वारमै व्यवस्था छ । ‘स्क्यानिङ’ गर्ने जिम्मा भने सुरक्षागार्डकै हो । ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकलाई मेसिनअघि खडा गराएर ‘होलबडी स्क्यानिङ’ गरिन्छ । हातहतियारलगायत शंकास्पद वस्तु देखिए सोही ठाउँमा रोक्छन्, जुन सेक्युरिटी गार्डको जिम्मेवारी हो ।

केहीबेरपछि मन्त्री श्रेष्ठ अंगरक्षकसहित ‘बायोमेट्रिक’ परीक्षणका लागि क्यानडाको ‘भिसा एप्लिकेसन सेन्टर’तर्फ अघि बढे । ‘बडी स्क्यानिङ’ नै नगरी टोली कार्यालय छिर्न खोजेपछि सेक्युरिटी गार्ड गुरुङले पुनः रोके । र, सबैलाई ‘स्क्यानिङ’ गर्न आग्रह गरे । यसबाट मन्त्री श्रेष्ठ थप चिढिए । यद्यपि, कुनै प्रतिक्रिया नजनाई ‘स्क्यानिङ मेसिन’अगाडि उभिए । त्यसपछि उनका अंगरक्षकको ‘बडी स्क्यानिङ’ गरियो । उनीसँग हतियार थियो ।

गुरुङले हतियारसहितको व्यक्ति भित्र छिर्न नपाउने भएकाले बाहिरै बस्न अनुरोध गरे । अब भने मन्त्री श्रेष्ठ र उनका अंगरक्षकको आक्रोश विस्फोट भयो । उनीहरू गुरुङमाथि खनिए । मन्त्रीसँगै गएका अरूले पनि घेरे । असहज भएपछि मन्त्री श्रेष्ठलाई उनकी पत्नीले रोकिन् । केहीबेरको नोकझोकपछि मन्त्री श्रेष्ठ ‘बायोमेट्रिक’ परीक्षण गरेर त्यहाँबाट फर्किए ।
तर, मन्त्री श्रेष्ठको शक्ति–उन्माद त तब सुरु भयो, जब उनी मन्त्रालय पुगे । स्रोतका अनुसार उनले सेक्युरिटी गार्ड गुरुङविरुद्ध कारबाही गर्न मन्त्रालयबाटै गृहलाई पत्र लेख्न लगाए, अंगरक्षकलाई जाहेरी दिन प्रहरी वृत्त दरबारमार्ग पठाए । गृहले गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई तत्कालै निर्देशन दिइसकेको स्रोतको भनाइ छ । अभद्र व्यवहारअन्तर्गत उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भयो । र, लगत्तै पक्राउ गरियो ।

शुक्रबार करिब ११ बजे पक्राउ परेका गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेको छ । उनलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ । परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप भएर थप अनुसन्धान अघि बढेको बताए । ‘गुरुङविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । सोहीअनुसार उनलाई पक्राउ गरिएको हो । थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद थप गरेको छ,’ उनले भने ।

‘भिएफएस ग्लोबल’ विदेशी कम्पनी हो । विदेश भ्रमणमा जानुअघि आवेदकले सोही कम्पनीमा आफ्ना कागजात पेस गर्नुपर्छ । भिसा स्वीकृत भएपछि पनि आवेदक सोही कम्पनीमा पुगेर कागजात बुझ्नुपर्ने हुन्छ । त्यसैले कम्पनीले कार्यालयको सुरक्षा–प्रबन्ध कडा बनाएको छ । सुरक्षाको जिम्मा नेपाली कम्पनी गरुड सेक्युरिटिजलाई दिइएको छ । शुक्रबार सोही जिम्मेवारी पूरा गरेका थिए गुरुङले । तर, उनका लागि जिम्मेवारी निर्वाह महँगो साबित भएको छ । शुक्रबारदेखि हिरासतमा रहेका उनी अझै पाँच दिन हिरासतमै बस्नुपर्नेछ । नेपाली सेनाका अवकाशप्राप्त सिपाही गुरुङ केही वर्षदेखि गरुडमा जोडिएका थिए । उनी परिवारसहित स्वयम्भूमा डेरामा बस्दै आएका छन् ।

गरुड सेक्युरिटीका प्रशासकीय अधिकृत अभिषेक कार्कीले गुरुङले इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्दा प्रहरी हिरासतमा पुर्‍याइएको बताए । ‘बायोमेट्रिक परीक्षण गर्ने क्रममा मन्त्रीजीसहितको टोली पुनः जबर्जस्ती कार्यालय छिर्न खोज्यो । गुरुङजीले रोक्न खोज्नुभयो । त्यसपछि मन्त्रीज्यू नै उहाँमाथि जाइलाग्नुभयो । अंगरक्षक पनि त्यसमा थपिनुभयो । यो क्रियाकलाप सिसिटिभी फुटेजमा समेत देखिन्छ,’ उनले भने, ‘हो, उहाँ मन्त्रीज्यू नै हो । तर, कार्यालय आउनुअघि हामीलाई जानकारी गराउँदा के बिग्रन्थ्यो ? सुरक्षागार्डले सायद उहाँलाई चिनेन । आफ्नो जिम्मेवारी खुरुखुरु गर्नतर्फ लागे । यो कुरा मन्त्रीज्यूलाई मन परेन । त्यही कारण अहिले सुरक्षागार्ड प्रहरी हिरासतमा हुनुहुन्छ । मन्त्रीज्यूले भनेअनुसार गरेको भए सुरक्षागार्डको जागिर कम्पनीले खाइदिन्थ्यो ।’

मन्त्री श्रेष्ठले भने सेक्युरिटी गार्ड गुरुङले आफूहरूमाथि दुव्र्यवहार गरेको बताए । ‘सेक्युरिटी गार्डको व्यवहार रुखो थियो । उसमा कुनै पोलाइटनेस नै थिएन । उसले मन्त्री भन्नेबित्तिकै झन् दुव्र्यवहार गर्न खोजेको हो,’ उनको दाबी छ, ‘उनले मेरो अंगरक्षकलाई पनि दुव्र्यवहार गरे । अंगरक्षकले नै आफ्नो सेक्युरिटी प्रोसेसअनुसार माथिल्लो निकायलाई जानकारी गराएका हुन् । त्यसपछि प्रहरी आएर फक्रेर लगेको हो । मैले प्रहरी बोलाउन भनेको पनि होइन, पक्राउ गर्न पनि भनेको होइन । यसमा मेरो कुनै भूमिका नै छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।