NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सर्लाही ४ बाट जितेका अमरेशलाई झट्का दिंदै गगन थापा यसरी बने सर्वसम्मत उम्मेदवार

काठमाडौं । कांग्रेसका युवा नेता गगन थापा ४ मंसिरको चुनावको लागि सर्लाही ४ बाट पनि सिफारिसमा परेका छन् । काठमाडौं ४ बाट चुनाव उठ्ने तयारी गरिरहेका गगनको नाम सर्लाही ४ बाट एकलरुपमा सिफारिस भएर आएको हो । जितेका अमरेशको नाम नै सिफारिस नहुँदा अप्रत्याशित रुपमा काठमाडौंका गगन थापा सिफारिस भएका हुन् ।

‘सर्लाही ४ का दुवै प्रदेशसभा क्षेत्रबाटै गगन थापाको नाम माग भयो । दुवै क्षेत्रले प्रतिनिधिसभामा गगनलाई उठाउने भनेपछि क्षेत्रले पनि उहाँको मात्रै नाम राखेर जिल्लामा पठाएको छ । अब जिल्लाले जस्ताको तस्तै प्रदेश समितिमा पठाउँछ’ सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले नेपालवाचसँग भने, ‘तलबाट एकल जिल्ला आएपछि अरुको नाम हाल्न अब मिल्दैन । किनकी सिफारिस आइसक्यो । अरु क्षेत्रको पनि आएपछि जिल्लाबाट प्रदेशको समितिमा उहाँको नाम पठाउँछौं ।’

सर्लाही ४ बाट अघिल्लोपटक अमरेशकुमार सिंह कांग्रेसबाट जितेका थिए । तर जितेको ठाउँमा अमरेशको नाम सिफारिस नभएको हो । यही क्षेत्रबाट काठमाडौंमा उठ्ने तयारी गरेका गगन थापा रोजाइमा परेका हुन् ।

अमरेशले २०७४ सालमा राजपाका राजेशकुमार मिश्रलाई १५३९ मतान्तरले पराजित गरेका हुन् । अमरेशले २९६७५ र मिश्रले २८१३६ मत ल्याएका थिए ।

अन्य ठाउँमा सिनियर शीर्ष नेताबीच टिकटका लागि मारामार चलिरहँदा कांग्रेस महामन्त्री थापाको भाग पनि एकभन्दा धेरै निर्वाचन क्षेत्रबाट भएको हो ।

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै अमेरेश आलोचित हुँदै आएका थिए । यसैले उनलाई अनुशासनको काराबाही अघि बढाउँदै निलम्बन गरेर जाने निर्णय कांग्रेस सर्लाहीले गरेको छ ।

किन रोजे गगनलाई ?

जिल्ला सभापति सिंहले सर्वसम्मतिबाट गगनलाई रोजिएको जानकारी दिए ।

‘हामीले जिल्लाबाट होइन पार्टी तल्लो तहदेखि नै गगन थापाको माग थियो । गगनको नाममा सर्वसहमतिको भनेको ठूलो कुरा हो’ सिंह भन्छन्, ‘गगन राम्रो नेता युवा नेता हो । नेपाल र नेपालीको लागि काम गर्छ भन्ने विश्वासले यसरी एकलरुपमा सिफारिस भएको भन्ने लाग्छ ।’

कहाँबाट उठ्छन् अब गगन ?

यस अघि गगनलाई उम्मेदवार बनाउन कास्की १ मा पनि निवेदन परेको थियो । कास्की सचिव भानुभक्त ढकालले गगनलाई उम्मेदवार बनाउन भन्दै उनको नाममा पार्टीमा उम्मेदवारको निवेदन दर्ता गराएका थिए । तर गगनले आफूप्रति शुभेच्छा प्रकट गरिएकोमा धन्यवाद दिंदै आफू काठमाडौं ४ बाटै चुनाव उठ्ने बताएका थिए । काठमाडौं ४ बाट थापा सर्वसम्मतरुपमा सिफारिस भएका छन् । सर्लाहीको विषयमा पनि उनले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् ।

गगन २०६४ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसयताका २०७० र २०७४ को चुनावमा भने काठमाडौं ४ बाट जित्दै आएका छन् ।
उनी स्वास्थ्यमन्त्री भइसकेका छन् ।

कांग्रेसले अहिलेसम्म भावी प्रधानमन्त्रीको नाम सार्वजनिक गरेको छैन । तर थापाले आफ्नो दाबेदारी रहने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

काठमाडौं ४ मा लड्दै आएका गगन थापा कास्की १ बाट उम्मेदवार !