NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आफ्नै उम्मेदवारलाई हराएर महामन्त्री जित्ने शर्मालाई देउवाले बनाए घोषणापत्र लेखनको कमाण्डर

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी तोकेका छन् । देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई घोषणापत्र लेखनको जिम्मेवारी दिएका हुन् ।

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी विधान बमोजिम महामन्त्री श्री विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको छ ।’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शर्मालाई १३ औं महाधिवेशनपछि सभापति देउवाले पार्टी प्रवक्ता बनाएका थिए । तर १४ औं महाधिवेशनका लागि महामन्त्रीमा देउवाले उम्मेदवार बनाउन नमानेपछि शर्मा प्रकाशमान सिंहको टिमबाट उठेर महामन्त्रीमा जित्न सफल भएका थिए ।

तर अर्को टिमबाट जिते पनि देउवाले शर्मालाई आगामी निर्वाचनको लागि घोषणापत्र तयारी समितिको संयोजक बनाएका हुन् । अब सदस्यहरू थपेर शर्माले काम थाल्नेछन् ।

शर्माले देउवा टिमकै महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई पराजित गर्दै महामन्त्री जितेका थिए ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको घोषणापत्र लेखनको जिम्मा देउवाले अर्का महामन्त्री गगन थापालाई दिएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष