NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पाकिस्तानी बलरका दुई छक्का जसले अफगानिस्तान र भारतलाई स्तब्ध बनायो [भिडियोसहित]

काठमाडौं । टी २० विश्वकप अघि टी २० एसिया कपको भिडन्त जारी छन् । सुपर ४ मा जित्दै फाइनल पुग्ने अपेक्षा गरिएको भारत पाकिस्तान र श्रीलंकासँग लगातार हारेपछि लगभग बाहिरिएको थियो । तर केही आशा भने जीवितै थियो । तर अरु टिममा भरपर्नुपर्ने अवस्था थियो । यसमा एउटा होइन तीनवटा समीकरण मिलेमात्रै भारत फाइनलमा पुग्ने थियो ।

भारतलाई एक मात्रै खेल जितेर फाइनलमा पुग्ने समीकरण जीवित रहन पहिलो समीकरणमा गएराति अफगानिस्तानले पाकिस्तानमाथि जित हात पार्नुपर्ने थियो ।

२० ओभरमा अफगानिस्तानले ६ विकेट गुमाएर १२९ रनमात्रै बनाएपछि भारतको सपना टुट्ने बाटोमा गएको थियो । किनकी गज्जब लयमा देखिएको पाकिस्तानलाई १२० बलमा १३० रनको लक्ष्य पनि केही होइन । अनुशासित बलिङ, स्पीनरको जादु र फास्ट बलिङको आक्रामक धार भएको अफगानी टिमले यो लक्ष्यसम्म पाकिस्तानलाई पुग्ने नदिने सोच बनाएको थियो ।

सर्वोत्कृष्ट ब्याटर बाबर आजमलाई पहिलो बलमै आउट गरेर अफगानिस्ताले राम्रो छनक देखाएको थियो ।

पावरप्लेमा रनरनेटमा समेत पाकिस्तानलाई कस्न सफल भएको थियो । मुजिम रहमानले तीन ओभरमा जम्मा ५ दिंदा पाकिस्तानले ६ को रनरेटलाई समेत भेट्याउन मुस्किल परेको थियो ।

अनुशासित बलिङले अफगानिस्तालाई पाकिस्तानविरुद्ध दुर्लभ जित हात पार्ने अवस्था पनि देखाइरहेको थियो । सुरुवातमा अफगानिस्तानले कसिलो बलिङ गर्यो । तर पछि पाकिस्तानले बीचमा भने राम्रो सुधार गर्यो । साहव खानले ३६ र इफ्तिखार अहमेदले ३० रन बनाएपछि पाकिस्तान खेलमा फर्कने अवस्थामा पुग्यो ।

तर १६.२ ओभरमा टिमको रन ९७ हुँदा शधाव खानको विकेट गुग्यो । यसपछि भने अफगानिस्तान खेलमा फर्किन थाल्यो । १०५ रन हँदा छैटौं र १०९ रन हुँदा १७.६ ओभरक खुशदिल पनि आउट भएपछि पाकिस्तान दबाबमा पर्यो । अन्तिम दुई ओभरमा पाकिस्तानलाई जितका लागि २१ रन चाहिएको थियो ।

१८.२ ओभरमा पाकिस्तानले ८ औं विकेट पनि गुमायो । ८ विकेट गुमाउँदा पाकिस्तानको ११० रन थियो । यो ओभरमा बाँकी ५ बलमा थप ९ रन जोड्दा पाकिस्तानले अर्को एक विकेट पनि गुमायो । यस्तोमा अन्तिम ओभरमा एक विकेट मात्रै बाँकी भयो भने ६ बलमा ११ रन जितका लागि आवश्यक भयो । फजलहक फारुखी बल लिएर आए । तीव्र गतिका बलर उनले ३ ओभरमा ३१ रन दिएर ३ विकेट लिएका थिए ।
यता पाकिस्तानका भने मुख्य ब्याटर आउट भएर अन्तिम विकेटका रुपमा पुछारका खेलाडी थिए । यस्तोमा खेल पाकिस्तानबाट अफगानिस्तानतिर ढल्किसकेको थियो ।

तर अन्तिम ओभरको पहिलो बलमा फारुखीले योर्कर फाल्न खोल्दा फुलटस बलमा पाकिस्तानी  नसिम शाहले छक्का प्रहार गरिदिए । अब पाँच बलमा पाकिस्तानलाई जितका लागि ५ नै रन आवश्यक भयो । यस्तोमा पनि फास्ट बलरले अझै अफगानिस्तानको आशा जीवित राखेका थिए ।

तर लगत्तकैका दोस्रो बलमा पनि फारुखीले योर्कर फाल्न सकेनन् । बरु उनी शाहले छक्का प्रहार गर्दै अविश्वनीय जित निकाले । पाकिस्तानको जितसँगै अफगानिस्तान र भारत दुवै एक खेल अगावै फाइनल पुग्नबाट बञ्चित भए भने पहिल्यै फाइनलमा पुगिसकेको श्रीलंकासँगको भेट पाकिस्तानले पक्का गर्यो । चार बल बाँकी हुँदै १ विकेटको जितले पाकिस्तान फाइनल पुग्यो ।

सुपर चारको अन्तिम खेलमा पाकिस्तान र श्रीलंका खेल्नु अघि नै फाइनलमा पुग्न सफल भए । अब भारत र अफगानिस्तानको खेलकाे पनि अर्थ नहुने भयो ।

अफगानिस्तानले पाकिस्तानलाई हराउने, आज हुने खेलमा भारतले अफगानिस्तानलाई राम्रो रनरेटले हराउने र अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई राम्रो रनरेटमा हराउन सक्दा भारत फाइनलमा पुग्न सक्थ्यो । पाकिस्तानलाई हराउँदा अफगानिस्तानको पनि फाइनल पुग्ने सम्भावना जीवित रहन्थ्यो । तर पाकिस्तानी बलरका तिनै दुई छक्काको मद्दतमा तीनवटै टिमको समीकरण अर्कै बन्न पुग्यो ।