NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सिन्धुलीमा लामखुट्टेकाे लार्भा नष्ट गर्ने अभियान सञ्चालन 

सिन्धुली । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम सिन्धुलीमा बढेको छ। छोटो अवधिमै डेंगु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा.सागर देवकोटाले जानकारी दिए।

दिनकै दुई–तीन बिरामीमा डेंगु रोगको संक्रमण देखिएको उनको भनाइ छ। साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ। उनले भने, ‘सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेंगुको संक्रमण भएको पाइयो।’

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन/ तीन जनामा डेंगु भाइरसको संक्रमण भएको पाइएको छ। तीमध्ये १२ बिरामी अस्पतालको शैयामा उपचारत छन्। केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनले बताए।

दश डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा. देवकोटाले जानकारी दिए। यो तथ्यांक साउन १ देखि भदौ २८ सम्मको हो। डेंगुको संक्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उनको अनुमान छ।

डेंगुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्यांक संकलन हुन नसकेको उनले बताए। कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए ।

उनका अनुसार मंगलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन। स्वास्थ्य कार्यालयको समन्वयमा डेंगु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उनले बताए ।

डेंगु भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएको छ ।

चिकित्सकका अनुसार डेंगु रोग डेंगु भाइरसबाट संक्रमितएडिज जातको पाेथी लामखुट्टेको टोकाइबाट मात्र सर्दछ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ। (रासस)