NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज 

चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले असोज ४ मा ५० औं वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । वि.स २०३० असोज ४ मा यो निकुञ्ज स्थापना भएको हो ।

निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ मा औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।

महोत्सवमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । संरक्षणमा गरिएको प्रयासस्वरुप यस निकुञ्जमा हाल पाटेबाघको संख्या एक सय २८ र गैंडाको संख्या ६ सय ९४ पुगेको छ ।

पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै विसं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो । व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागमा फैलिएको छ ।

निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ । ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ । हालसम्म एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगनाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताए । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अफ्ठ्याराहरु भएको भन्दै तिनीहरुलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ ।

निकुञ्ज स्थापनाको ५० औं वर्षको अवसरमा वर्षभरिनै संरक्षणसँग सम्वन्धित विभिन्न गतिविधिहरु गरिँदै छ ।