NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका यस्तो छ

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिकतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश समय नजिकिएको छ । निर्वाचन आयोगले असोज २ र ३ मा बन्दसूची बुझाउने समय दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले भदौ २३ मा सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असोज २ देखि ३ गतेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समय निर्धारण गरेको छ ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची तयार गर्नका लागि राजनीतिक दलहरू यतिबेला व्यस्त रहेका छन् । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना सदस्यका लागि बन्दसूची पेश गर्न आयोगले यसअघि नै सूचना प्रकाशित गरिसकेको छ ।

यस्तो छ समानुपातिकतर्फ निर्वाचन कार्यतालिका

समानुपातिकतर्फ राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची पेश गर्ने तयारी लागि भदौ १५ देखि असोज १ समयसीमा तोकिएको थियो । असोज २ देखि ३ सम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समय निर्धारण गरिएको छ ।

असोज ४ देखि ९ सम्म उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरूलाई सूचित गर्ने कार्यक्रम छ । असोज १० देखि १६ सम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने समय निर्धारण गरेको छ ।

त्यस्तै असोज १७ गते बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा निवेदन दिने, बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित दललाई जानकारी दिने समय तय गरेको छ ।

असोज २० देखि २२ सम्म उम्मेदवारले नाम फिर्ता लिएपछि रिक्त रहेको स्थानमा सोही समूहका उम्मेदवार मनोनयन गरी उम्मेदवारको नामावली सम्बन्धित दलले आयोगमा पेश गर्ने र सोही दिन आयोगले उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
असोज २३ देखि २९ सम्म बन्दसूचीमा भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने समय निर्धारण गरेको छ । असोज ३० देखि कत्तिक ५ सम्म दाबी विरोधको निवेदन उपर जाँचबुझ गरी निर्णय लिनेछ । कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

प्रत्यक्षको कार्यतालिका

यसैगरी आयोगले पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ ।

त्यस्तै असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ । असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यतालिका तोकिएको छ ।

यी सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन पाउने छैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष