NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रत्यक्ष निर्वाचनबाट किन पछि हटे कृष्णबहादुर महरा ?

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आगामी निर्वाचनमा प्रत्यक्षमा भाग नलिने भएका छन् । माओवादीले सोमबार निर्वाचन कार्यालयमा बुझाएको समानुपातिक बन्दसूचीमा महराको नामसमेत रहेकाले प्रत्यक्ष निर्वाचनबाट उनी पछाडि हटेका हुन् ।

२०७४ को निर्वाचनमा महरा दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वामगठबन्धनका साझा उम्मेदवार रहेका महरा ४० हजार ४२ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत प्राप्त गरेका थिए । महराले विपक्षी उम्मेदवारलाई १४ हजार १४५ भारी मतान्तरले हराएका थिए ।

किन प्रत्यक्षमा उठ्न चाहेनन् महरा ?

माओवादीका एक पदाधिकारीका अनुसार महरा प्रत्यक्ष निर्वाचनमा उठ्न नचाहेकाले उनको नाम समानुपातिकमा राखिएको हो ।
‘पदाधिकारी सबैलाई प्रत्यक्षतर्फ उठाउने पार्टीको नीति हो तर उहाँले प्रत्यक्षतर्फ उठ्ने चाहना गर्नुभएन’, एक पदाधिकारीले भने, ‘उहाँको चाहना अनुसार पार्टीले समानुपातिक सूचीमा राखिएको हो ।’

योपटक प्रत्यक्षतर्फ उठ्न नचाहनुमा विभिन्न अड्कलबाजी भएको छ । आगामी निर्वाचनमा विपक्षी एमालेबाट महासचिव पोखरेल आफै चुनावी मैदानमा उत्रिएका छन् । दाङ–२ बाट पोखरेल एमालेका सर्वसम्मत उम्मेदवार हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी प्रभावशाली उम्मेदवार हुन् ।

उनी प्रत्यक्षमा उठ्न नचाहनुमा अर्को कारणमा बहालवाला सभामुख रहेकै अवस्थामा संसद सचिवालयका एक महिला सदस्यमाथि यौन दुराचार गरेको आरोप लागेको थियो । त्यहि आरोपमा २०७६ असोजमा पदबाट राजीनामा दिएका थिए । यद्यपि जिल्ला अदालत काठमाडौंले उनको मुद्दामा सफाइ दियो । अदालतबाट सफाइ पाएपनि आम मानिसमा उनको चरित्रबारे नकारात्मक धारणा कायमै रहेको छ । माओवादीको जनमत खस्किदै गएको, विपक्षीले हेभ्वी वेट उम्मेदवार उठाएकाे र आफ्नो चरित्रमा लागेको दाग मेट्न नसकेको अवस्थामा पराजित हुने डरले प्रत्यक्षबाट उनी पछि हटेको हुन सक्ने अनुमान गरिएको छ ।

माओवादी सशस्त्र विद्रोहमा प्रत्यक्ष भाग लिएका महरा माओवादीका प्रभावशाली नेतामध्येका एक थिए । शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा  राेल्पा–१  बाट महरा निर्वाचित भएका थिए । उनी २०६३ को अन्तरिम प्रतिनिधिसभा सदस्यसमेत रहेका थिए ।

त्यसयता माओवादीबाट राज्यसत्ताको निरन्त फाइदा लिँदै आएका थिए । अघिल्लो निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महराबीच सोही क्षेत्रलाई लिएर हानाथाप भएपछि पोखरेललाई मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशसभा सदस्यमा लगिएको थियो । महरा प्रतिनिधिसभाका सभामुख भएका थिए । बलातत्कार काण्डपछि उनको व्यक्तित्वमा निरन्तर ह्रास आएको छ ।