NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

… अनि आरजुलाई समानुपातिकमा राखियो

काठमाडौं । आफू शक्ति र सत्तामा नै हुँदा शेरबहादुर देउवाले कांग्रेस नेता एवं पत्नी आरजुलाई राजनीतिक उत्तराधिकारी बनाउने चर्चा भइरहेको छ । यही चर्चाबीच २०७४ सालको चुनाव हारेकी आरजुलाई यसपटक प्रत्यक्षमा जिताएरै ल्याउने जमर्को देउवाले गरेका थिए ।

अघिल्लोपटक कैलाली ५ बाट एमालेका नारदमुनी रानासँग पराजित भएकी उनी सत्ता गठबन्धनको बलमा यसपटक सोही क्षेत्रबाट चुनाव उठ्ने तयारीमा थिइन् । कैलाली ५ बाट आरजु सर्वसम्मत सिफारिस पनि भएकी थिइन् । यो मात्रै होइन आरजु बाँके ३ र समानुपातिकतर्फ डडेल्धुराबाट सिफारिसमा परेकी थिइन् । कञ्चनपुर, बर्दिया र बाग्लुङबाट समेत आरजुको नाम चुनाव उठ्न सिफारिस भएको थियो ।

तर यी सबै सिफारिसलाई बेवास्ता गर्दै सोमबार समानुपातिकतर्फको बन्द सूचीमा आरजु पनि सिफारिस भएको विषय बाहिरियो । एमालेविरुद्ध बलियो सत्ता गठबन्धन कायम भइरहेका बेला आरजु पाँच ठाउँबाट सिफारिस भए पनि किन समानुपातिकमा बसिन् भन्ने प्रश्न उठ्न थालेको छ ।

देउवाले ४ मंसिरको चुनावमा केहीगरी मनस्थिति बदलिहाले आरजुलाई प्रधानमन्त्री हुनबाट कसैले पनि रोक्न नसक्ने बताइन्छ । किनकी टिकट बाँड्दादेखि समानुपातिकको सूची बनाउँदा पनि देउवाले संसदीय दलमा आफ्नो बहुमत पुग्ने गरी नै उम्मेदवार चयन गर्ने प्रष्टै छ ।
तर प्रधानमन्त्री बन्न सबैभन्दा पहिले सांसद हुनु्पर्नेछ । त्यसपछि संसदीय दलको नेता । भावी उत्तराधिकारीमा नल्याइ नछोड्ने देउवाको मनस्थिति हो भने सांसद हुनु पहिलो आवश्यकता हो । केही गरी कैलाली ५ एमाले, रेशम चौधरी र स्वतन्त्रको गठजोडले आरजुले हारिहाल्लिन् कि भन्ने जोखिम पनि देखिएको छ ।

प्रत्यक्षमा हार्ने डर, समानुपातिक भर

कैलालीमा पुराना नेता पुष्करनाथ ओझाको प्रभाव निक्कै राम्रो छ । अघिल्लोपटक चुनावमा अन्तर्घात गरिएको भन्दै ओझामाथि अनुशासनको कारवाही भएको थियो । यसपटक आरजुलाई उम्मेदवार बनाए पुष्करपक्षले असहयोग गर्न सक्ने भएरै आरजु ब्याक भएको बुझिएको छ । अघिल्लोपटक चुनाव जित्नैका लागि आरजुले कैलालीमा घरसमेत किनेकी थिइन् । तर एमाले उम्मेदवार रानासँग ४८८०  मतान्तरले पराजित हुन पुगिन् ।

रेशमको पनि डर

कैलाली थारु समुदायको प्रभाव रहेको क्षेत्र हो । कैलाली १ बाट २०७४ मा रेशम चौधरीले बाहिर मैदानमै नउत्री चुनाव जित्न पुगेका थिए । मनोनयन दर्तासमेत अर्कैले गराउँदा पनि उनी चुनाव जित्न सफल भएका थिए । टीकापुर घटनामा दोषी देखिएको भन्दै जेल परेपछि चौधरीले अघिल्लो कार्यकाल चुनाव जिते पनि सांसदको भूमिकामा काम गर्न पाएनन् । जेलबाट छुटाउन फटकपटक प्रयास भए पनि उनी संसदको कार्यकाल सकिंदासम्म पनि छुटेनन् । यसैले पनि आरजुलाई हराएर रेशमले बदला लिने हल्ला फैलिएको धेरै भइसक्यो । रेशमको क्षेत्र कैलाली १ भए पनि आरजु उठेकै क्षेत्रमा रेशमकी श्रीमतीलाई उठाउनेसम्मको चर्चा भए । यो कुराको स्वतन्त्र पुष्टि भएको छैन । तर पनि आरजुले प्रत्यक्षमा निर्वाचन नलडी डडेल्धुराबाटै समानुपातिकका बस्ने मनस्थिति बनाएकी हुन् ।

समानुपातिकमा ढुक्क

प्रत्यक्षमा उठ्दा के हो कसो हो भन्ने हुन्छ । तर पहुँचवाला नेता हुँदा समानुपातिकबाट सांसद बन्ने सम्भावना एक सय प्रतिशत हुन्छ । यसैले आरजुले पनि हारको जोखिमभन्दा समानुपातिकमा बसेर शतप्रतिशत सुरक्षित हुन खोजेको देउवा पक्षकै एक प्रभावशाली नेता बताउँछन् ।
एकपटक चुनाव हारे अर्कोपटकदेखि देउवा शक्तिमा नहुन सक्छन् । आरजुलाई सहजै राजनीतिमा उच्च ओहदामा जान कठिन हुन सक्छ । यसैले देउवाको प्रभाव हुँदै उनलाई स्थापित गराउन पनि समानुपातिकको सहज बाटो समाएको हुन सक्ने बताइन्छ ।

‘सत्ता गठबन्धन र पकड जतिसुकै भए पनि प्रत्यक्षमा जोसुकै पनि हार्न सक्छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा पनि यस्तै भएको छ’ कांग्रेसका ती नेता भन्छन्, ‘यसैले भोलिको राजनीतिक अवसर देख्ने नेताहरूले समानुपातिक रोज्नुलाई आश्चार्य मान्नुपर्दैन । आरजुको हकमा पनि यही भएको हो ।’

साथै आरजु केही समययता स्वास्थ्य समस्या पनि सामना गर्दै आएकी छिन् । प्रत्यक्षको चुनावले दौडधुप झन् बढाउने भएकोले पनि आरजुले यसपटक समानुपातिकमा बस्न सहज मानेको हुन सक्छ ।

समानुपातिकबाट प्रत्यक्षमा पनि जान सकिने

समानुपातिकको सूचीमा नाम समावेश भए पनि उम्मेदवारी मिलाउँदा फेरि प्रत्यक्षमा जान सकिने अवस्था रहेको पनि बताइन्छ । ‘अहिलेको सूची प्रारम्भिक हो । केही दिनसम्म दलले अझै सूची मिलाउन सक्छन् । यसमा समानुपातिकमा राखिएको व्यक्ति प्रत्यक्षमा चुनाव लड्न पनि जान सक्छ’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यसैले अहिले बाहिर आएको नाम नै अन्तिम हुँदैन भन्ने बुझ्नुपर्छ ।’ याे सुविधामा आरजु मनस्थिति बदलेर प्रत्यक्षकै उम्मेदवार पनि बन्न सक्नेछिन् ।