NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो : पौडेल

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जननिर्वाचित सभाबाट पारित विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणालीलाई नै खतरामा पार्ने काम गरेको आरोप लगाएका छन् ।

संघीय संसदबाट प्रमाणीकरणका लागि दोस्रोपटक प्राप्त विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्थाविपरीत राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत भएपछि कांग्रेस नेता पौडेलको यस्तो टिप्पणी आएको हो ।

‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको प्रमाणीकरण गर्न संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

संवैधानिक निकायबाट बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम भएको र यसले व्यवस्थामाथि प्रहार गरेको पौडेलको विश्लेषण छ ।

‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु,’ पौडेलले भने ।

संघीय संसदबाट प्रमाणीकरणका लागि प्राप्त विधेयक पहिलोपटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई भए पनि दोस्रोपटक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधान छ । संविधानको यही प्रावधानअनुसार, पहिलोपटक नागरिकतासम्बन्धी विधेयक संशेधन गर्न सुझावसहित फिर्ता पठाएकी राष्ट्रपतिले दोस्रोपटक पनि उसैगरी प्रमाणीकरण नगरिदिएपछि संवैधानिक अन्योलता सिर्जना भएको छ । यसमा दल र कानून व्यवसायी दुई कित्तामा विभाजित भएका छन् ।