NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘नाडा इभी एक्स्पो २०२२’ आजदेखि

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आजदेखि ‘नाडा इभी एक्स्पो २०२२’ को आयोजना गरेको छ । उक्त आयोजना आजदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुने नाडाले जनाएको छ ।

नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी ‘सिएटद्वारा प्रायोजित नाडा इभी एक्स्पो २०२२’ आयोजना भएको हो ।

नाडाका अध्यक्ष ध्रुव थापाले विद्युतीय सावरी साधनको महत्व बढ्दै गएको बताउँदै प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ।

सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहदाँ १०० किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको बताएका थिए।

‘सरकारले १०० किलोवाट माथीका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले अर्थमन्त्रीलाई इंगित गर्दै भने,‘नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु।’

नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिना देखी अटो व्यवसायी मारमा परहेको जानकारी गराए । कार,  जिप, भ्यान र १५० सिसि माथीका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसंग माग गरेका थिए ।

सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसकोलागि स्थिर नीति आवश्यक रहेको नाडाले उल्लेख गरेको छ। अध्यक्ष थापाले सरकारले स्थितर नीति लिए व्यवसायी पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको बताए।

अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन्।

‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौं। त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं।’

अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको बताएका छन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिए ।

‘गाडी उत्पादन यहि गर्नुहोस्  विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ । त्यसमा ध्यान दिनुस् ।’ अर्थमन्त्री शर्माले सवारी प्रतिबन्ध लामो समय नरहने अर्थमन्त्री शर्माले बताए । उनले अर्थतन्त्र शुधार तर्फ गईरहेको बताउँदै निर्यात वृद्धि गरि आयात खोल्नु पर्ने उल्लेख गरे ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको बताएका छन् ।

अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरे  । वातावरण संरक्षण गर्नको लागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारण व्यक्त गरे ।

नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आंकलन गरिएको छ ।

नेपाली चाड–पर्वहरुको पूर्वाधारमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ ।

एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने, सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा रहेको छ । त्यस्तै, युएसएड क्लिन एडले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सञ्चालनसमेत गर्ने आयोजकले जनाएको छ ।

वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिइएको सीइएट प्रिजेन्ट नाडा इभी एक्पो २०२२ ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड भाड कम गर्न खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २०० रूपैयाँ व्यवस्था गरेको छ ।

साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ४ दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने अनुमान नाडाले गरेको छ ।

नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिन ई भी चौतारी समेतको आयोजना गर्दैछ । शुक्रबारको गोष्ठीमा प्रविधि र ईको सिस्टमको विषयमा छलफल हुँदै छ ।

जसमा वन तथा वातावरण सचिव प्रेम नारायण कँडेल रहने छन भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धान कर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सिईओ अभिशेक कार्की, सिप्रदिका दिनेश पौडेल र नेपाल विद्युत प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन । युएसएड क्लिन एयरको सहयोगमा भईरहेको ईभी चौतारीमा भुषण तुलाधर मोडरेट रहेका छन । नाडाको पहलमा आजबाट प्रदर्शनी स्थल भृकुटी मण्डपमा रक्त्दान कार्यक्रम समेत सञ्चालन हुदैछ ।